|

काठमाडौं :  भूकम्पबाट अतिप्रभावित १४ जिल्लामा दोस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राहीको संख्या दुई लाख नाघेको छ। शहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईको तथ्यांकअनुसार प्रमाणीकरण हुने लाभग्राहीको संख्या दुई लाख चार हजार ९९३ पुगेको छ।

पुनर्निर्माण प्राधिरकणले २०७३ पुस मसान्तभित्र पहिलो किस्ता लिएका लाभग्राहीले दोस्रो किस्ताका लागि आवेदन गर्ने समयसीमा यही पुस मसान्तसम्म तोकिएको थियो। प्राधिकरणले कडाइ गरेको कारण दोस्रो किस्ता लिने प्रभावितको संख्या बढेको छ।

दोस्रो किस्ताका लागि प्रमाणीकरण भएकामध्ये सबैभन्दा कम भक्तपुरका एक हजार ९२१ लाभग्राही छन्। त्यस्तै सबैभन्दा धेरै सिन्धुपाल्चोकका ३७ हजार ३८८ लाभग्राही छन्।

भूकम्पबाट कम प्रभावित १७ जिल्लाका दोस्रो किस्ताका लागि लाभग्राहीको लगत संकलन भइरहेको प्राधिकरणले जनाएको छ। हालसम्म अतिप्रभावित १४ जिल्लामा पुनर्निर्माण सम्पन्न भएका र निर्माणाधीन घरको कुल संख्या तीन लाख ६० हजार ४७८ पुगेको छ। निर्माण सम्पन्न भएका घरको संख्या ९० हजार २६२ छ भने निर्माणाधीन घरको संख्या दुई लाख ७० हजार २१६ छ।

प्राधिरकणको तथ्यांकअनुसार धादिङमा सबैभन्दा धेरै १८ हजार ९४० घर पुनर्निर्माण भएका छन् भने सबैभन्दा कम भक्तपुरमा ३६२ छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.