|
तस्विर– अन्नपूर्ण पोस्ट

जाजरकोट : नलगाड नगरपालिका–३ का वडाध्यक्ष प्रचण्ड वलीले छेप्का– डाँडागाउँ–कैना जोड्ने मोटरबाटो भाडामा डोजर लिएर आफैंले खन्न लगाए। १० लाख रुपैयाँ खर्चेर निर्माण भएको मोटरबाटोमा गाडी गुड्न थालेपछि मात्र  पार्टीनिकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य चन्द्रबहादुर पुनलाई उपभोक्ता समितिको अध्यक्ष बनाएका छन्।

छेडागाड नगरपालिकाका–११ का वडाध्यक्षले चुनाव जितेपछि डोजर किनेका छन्। उनले पनि नगरपालिकाको छेडा–थलह सडक मर्मत गर्ने ठेक्का लिए। अहिले यो सडकमा बस सेवा सञ्चालनमा छ। नगरपालिकाले उक्त सडक निर्माण तथा मर्मतका लागि ६० लाख रुपैयाँ विनियोजन गरेको थियो। त्यहाँ पनि न टेन्डर आह्वान गरियो न उपभोक्ता समिति नै बनाइयो। अहिले बिल भर्पाई पारित गराउन प्रक्रिया पुर्‍याउने काम भइरहेको स्थानीय कालीबहादुर खत्रीले दाबी गरे।

नगरप्रमुख लालबहादुर महताराको निर्देशनमा खनिएको त्यो बाटोमा कति खर्च भयो स्थानीयलाई जानकारी नदिइएको खत्रीको भनाइ छ।भेरी नगरपालिका–७ का वडाध्यक्ष चन्द्रबहादुर शाहीले स्याउली–पुन्मा सडक निर्माणका लागि नगरपालिकाले विनियोजना गरेको १५ लाख रुपैयाँमध्येकै बजेटमा डोजर ल्याई आफैंले बाटो खने। बाटो खन्दा विवाद भएपछि युवा संघका जिल्ला अध्यक्ष दीपेन्द्र शाहीले वडाध्यक्षलाई कुटपिटसमेत गरे। 

यी केही प्रतिनिधि घटना हुन्। जिल्ला सदरमुकामसम्मको सडक कालोपत्रे भए पनि जाजरकोटका ग्रामीण भेगमा अझै मोटरबाटो पुगेको छैन। चुनावका बेला गाउँगाउँमा मोटरबाटो पुर्‍याउने भन्दै उम्मेदवारले मत मागेका थिए।

तीन नगरपालिका र चार गाउँपालिका रहेको जिल्लाका अधिकांश नगरपालिकाका प्रमुख, गाउँपालिका अध्यक्ष र वडाध्यक्षले डोजर किन्ने तयारी गरिरहेका छन्। हालसम्म १२ जना जनप्रतिनिधिले डोजर किनिसकेको बताइएको छ। कतिपयले आफन्तमार्फत डोजर खरिद गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.