|

जुम्ला : जनप्रतिनिधिको जम्बो टोली भारत भ्रमण निस्कियो, संघीयतको अवलोकन गर्ने संघीयता अवलोकन तथा अध्ययन गर्नका लागि गुठिचौर गाउँपालिकाको २७ सदस्यीय जम्बो टोली भारत भ्रमणमा निस्किएको छ। सरकारी पैसाको दुरुपयोग गर्दै तत्कालिन आवश्यकता विपरित गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीको नेतृत्वमा सरकारी कर्मचारीसहितको जनप्रतिनिधिको जम्बो टोली भारत भ्रमणमा निस्किएको हो।

गाउँपालिकाको साढे ११ लाख रुपैयाँ लिएर जम्बो टोली संघीयता अवलोकन तथा अध्ययन गर्न भारतको सिक्किम र दार्जिलिङ हिँडेको हो। भ्रमणका लागि नेपालको लुम्बिनी, इलाम, काठमाडौँ हुँदै भारतको सिक्किम र दार्जिलिङसम्मको यात्रा रहेको गाँउपालिका स्रोतले बताएको छ।

सरकारी कर्मचारीसहित जनप्रतिनिधिको जम्बो टोली १० दिने भ्रमणमा हिँडेपछि गाँउपालिकाको दैनिक महत्वपूर्ण सेवा प्रवाहको कार्य रोकिएको स्थानीयले बताए। १० दिने संघीयता अवलोकन अध्ययन भ्रमण कार्ययोजना गाउँ कार्यपालिकाबाट पास भएको भ्रमण टोलीका सदस्य तथा ४ नं। वडाध्यक्ष जंगप्रसाद जैसीले बताए। भ्रमण टोली सिक्किम र दार्जिलिङमा मात्र करीब एकहप्ता घुम्ने छ।

आफ्नो गाउँठाउँको आधारभुत विकासका लागि जम्बो टोलीको भ्रमण आवश्यक नरहेकाले भ्रमणले गाउँपालिकाको विकासे रकम दुरुपयोग भएको स्थानीय रामप्रसाद पाण्डेले बताए। संघीयता भ्रमण अध्ययनका नाममा गाउँपलिकाका जिम्मेवार पदमा रहेका सबै प्रमुखहरू स्थानीय तहको रकम लिएर घुम्न गएका हुन्।

यता, भ्रमण टोलीका नेतृत्वकर्ता तथा गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले सिक्किम र दार्जिलिङको विकास निर्माणका कार्यहरु हेरेर त्यहाँ भएका राम्रो कामलाई आफ्नो क्षेत्रको विकासमा कार्यान्वयन गर्ने तर्क गरे। भ्रमण टोलीमा अध्यक्ष भण्डारी, उपाअध्यक्ष जानदेवि ऐडी, कार्यकारी प्रमुख केशवराज शर्मा, गाँउपालिकाका ५ वटा वडाका वडाध्यक्ष, वडा सचिव र प्रत्येक वडाबाट २ जना निर्वाचित वडासदस्यलगायतको टोली रहेको छ।

केहीदिन अघि मात्र कनकासुन्दरी गाँउपालिकाको जम्बो टोली पनि ८ लाख रकम खर्च गर्दै भारत भ्रमण गरेर फर्किएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.