|

बैतडी :  पुर्चौंडी नगरपालिका–९ मा रहेको तल्लादेही स्वास्थ्यचौकीमा पानीको अभावमा प्रसूति सेवा बन्द भएको छ। एक वर्षदेखि स्वास्थ्यचौकीमा आउने पानी बन्द भएपछि प्रसूति सेवा बन्द भएको स्वास्थ्यचौकीका अनमी जानकी बोहराले बताइन्। 

'एउटी आमाले बच्चा जन्माइसकेपछि सरसफाइका लागि कम्तीमा ५० लिटर पानीको आवश्यकता पर्दछ', उनले भनिन्, 'स्वास्थ्यचौकीमा आउने पानीको व्यवस्थापन गर्न नसक्दा पानीको अभाव भएकाले बाध्य भएर प्रसूति सेवा बन्द गर्‍याैँ।’ 

स्वास्थ्यचौकीमा प्रसूति सेवा बन्द भएपछि गर्भवती महिला घरमै बच्चा जन्माउन बाध्य भएका छन्। अहिलेसम्म ३० जनाले घरमै बच्चा जन्माएका छन् भने ५० जनाले अन्यत्रका स्वास्थ्य संस्थामा गएर बच्चा जन्माएका छन्। स्वास्थ्यचौकीमा प्रसूति सेवा नहुँदा निकै गाह्रो भएको स्थानीयवासी तारा भण्डारीले बताइन्। उनले भनिन, 'गाउँ भएर स्वास्थ्यचौकीमा आउने पानी व्यवस्थापन गर्न नसक्दा स्वास्थ्य चौकीमा पानीको अभाव भएको हो।'

प्रसूति सेवा बन्द भएपछि पूर्ण संस्थागत सुत्केरी अभियानमा समेत असर परेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका पब्लिक हेल्थ नर्स ममता जोशीले बताइन्। जोशीले भनिन्, 'तल्लादेहीमा पानी अभावमा प्रसूति सेवा बन्द हुँदा पूर्ण संस्थागत सुत्केरी अभियान प्रभावित भएको छ।'

जिल्लाका उत्कृष्ट पाँच स्वास्थ्य संस्थामध्येको तल्लादेही स्वास्थ्यचौकीमा गत वर्षदेखि प्रसूति सेवा बन्द भएपछि पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा पनि प्रभावित हुने देखिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.