|
तस्विरहरू : भविराज गुरुङ र मिङ्मार लामा

गोरखा : हिउँ परेपछि हिमालपारिका बासिन्दामा खुसीयाली छाएको छ। सिँचाइअभावले खेतीपाती लगाउने समय घर्किनै लाग्दा हिउँ परेपछि उत्तरी गोरखाका बासिन्दा खुसी भएका हुन्। बुधबार बिहानैदेखि गोरखाका विभिन्न ठाउँमा हिमपात भइरहेको छ। 

‘ढिलो भए पनि हिउँ पर्‍यो’ सामागाउँका छिरिङ हिराचनले भने ‘अब भने खेती लगाउन पाइने भयो भनेर गाउँलेहरूमा पनि खुसीयाली छाएको छ।' यो वर्ष सामागाउँमा पहिलो पटक हिउँ परेको हो। तिब्बतसँग सिमा जोडिएको गोरखाको अन्तिम गाउँ साम्दोमा भने केही दिनअघि पनि सामान्य हिमपात भएको थियो। 

हिराचनका अनुसार सामागाउँबाट देखिने सबै क्षेत्रमा हिउँ परिरहेको छ। हिउँ परेपछि उत्तरी गोरखाका खेतबारी भिज्छ र खेती लगाउन सहज हुन्छ। हिमपात भएको केही दिनपछि नै स्थानीयले खेती लगाउन शुरु गर्छन्। ‘हिजोसम्म खेतबारीमा चिसो भन्ने नै थिएन धुलो मात्रै थियो’ उनले भने, 'हिउँ पग्लिएसँगै यहाँका स्थानीयले जौ, करु, आलु, लगायतका खेती लगाउँछन्। 

स्थानीय अहिले घरभित्रै आगो तापेर बसेका छन्। चौँरी, घोडा, खच्चडहरुलाई पनि न्यानो ठाउँमा राखिएको छ। हिमपातपछि चिसोले कष्ट बेहोर्नु परेपनि खेतीबाली लगाउन सहज हुने भएकाले स्थानीय खुसी भएको हिराचन बताउँछन्। गत वर्षहरुमा पुषको दोस्रो साता देखि नै हिमपात हुने गरेपनि यस वर्ष बल्ल परेको हो। हिउँ र चिसोबाट जोगिन केही स्थानीय बेँसी तथा तलका बस्तीमा झरिसकेका थिए। 

भूकम्पप्रभावितहरू  भने चिसो बढेसँगै थप पीडामा परेका छन्। ‘भूकम्पले भत्काएको घर अझै बनाइसकिएको छैन’ केरौँजाका मानसिङ गुरुङले टेलिफोनमा भने ‘माथि डाँडामा हिउँ परेर चिसो बढेपछि टहरामा बसेकाहहरूलाई मार परेको छ।’

त्यस्तै गोरखाकै अन्य ठाउँहरु छेकम्पार, बिही प्रोकका माथिल्लो भेगमा पनि हिमपात भइरहेको स्थानीयले बताएका छन्। यता तल्लो मनास्लुको बारपाकमाथिका लेक, स्वाँराको विभिन्न लेकहरुमा पनि हिउँ परिरहेको छ। अजिरकोट गाउँपालिकाको नागे पोखरी, दूधपोखरी लगायतका क्षेत्र तथा खर्कहरुमा पनि हिउँ परिरहेको स्थानीयले टेलिफोनमा जानकारी दिए।

गुप्सी पाखामा पनि हिउँ 
गैरआवासीय नेपालीहरुको संस्था एनआरएनएले बनाउँदै गरेको गोरखाको लाप्राक स्थित गुप्सीपाखाको नमुना बस्ती बनाउने काम पनि हिमपातकै कारणले प्रभावित भएको छ। गुप्सीमा बिहान चार बजेदेखि हिउँ परेको नमुना बस्ती परियोजनाका इन्जिनियर दिपेश सिंहले टेलिफोनमा जानकारी दिए। ‘गुप्सीमा हामीले जहाँ घरहरु बनाइरहेका ठाउँमा पनि हिउँ परिरहेको छ’ उनले भने ‘काम गर्न निस्कने अवस्थै छैन।' यसै पनि गुप्से चिसो ठाउँ हो। हिउँ परेपछि काम गर्नेहरु सबै टेण्टभित्रै बसिरहेका छन्। यहाँ पाँच इन्चभन्दा धेरै बाक्लो हिउँ जमेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.