|

विश्व खेलकुदका महान मानवको सुचिमा सुचिकृत कीर्तिमानी अमेरिकन पौडिवाज माइकल फ्लेप्सले सनसनिपुर्ण खुलासा गरेका छन्। फेल्प्सले २०१२ को ओलम्पिकपछि आत्महत्यानजिक पुगेको बताएका छन्।

२३ पटक ओलम्पिक गोल्डमेडल जितेका फ्लेप्सले शिकागोमा एक कार्यक्रममा आफू ठूलो डिप्रेसनको शिकार भएको बताएका छन्। उनले यो ठूलो समस्याबाट कसरी मुक्त भएर बाहिर आए भन्ने पनि उल्लेख गरेका छन्।

३२ वर्षीय फ्लेप्सले भनेका छन् ‘म हरेक ओलम्पिकपछि डिप्रेसनमा पर्थे। २०१२ को लन्डन ओलम्पिकमा चार गोल्ड र दुई सिल्भर जितेपछि म निकै ठूलो डिप्रेसनमा पुगेको थिएँ। चार दिनसम्म कोठामानै केही नखाइ र ननिदाएरै गुजारे। अब अगाडिका कुनै पनि प्रतियोगिता नखेल्ने निर्णयमा पुगेको थिएँ। र, बाँच्ने इच्छा पनि अन्त्य भएको थियो।’

फ्लेप्सले दुई वर्षअघि आफू डिप्रेसनमा रहेको बताएका थिए। फेरि उनले यो विषयमा चर्चा गर्दै १७ वर्षदेखि डिप्रेसन र तनाव उनको जीवनको हिस्सा भएको बताएका छन्। फ्लेप्सले आफ्नो पहिलो गोल्ड २००४ को एथेन्स ओलम्पिकमा जितेका थिए। जतिजति उनि अघि बढे उनीमाथि डिप्रेसन थप बढ्दै गयो। जसका कारण अल्कोहल र नशालु औषधिको सेवन आफ्नो नियति बनेको फ्लेप्सले बताए।

२००८ मा बेइजिङ ओलम्पिकमा सनसनिपूर्ण नतिजा निकाल्दै ८ गोल्ड मेडल जितेका फ्लेप्सले चुरोट सेवन गरेको तस्वीर बाहिर आएको थियो। उनी दुई पटक नसालु पदार्थ सेवन गर्दै गाडी चलाएको अवस्थामा पक्राउ परेका थिए।

फ्लेप्सले भने ‘मान्छेका लागि सफलता र वास्तविकता फरक सत्य हो। तर मैले मेरा समर्थक र संसार हेरेर मेरो वास्तविकता बदल्ने कोसिस गरेर आज जिवित छु।’ फ्लेप्सले २०१६ को रियो ओलम्पिकपछि अन्तर्राष्ट्रिय पौडी जीवनबाट सन्यास लिएका छन्। उनले २८ ओलम्पिक मेडल आफ्नो नाममा पार्दै विश्व पौडीमा नाम लेखाएका छन्।

यसअघि अष्ट्रेलियाका इयान थोर्पेले पनि आत्महत्याको प्रयास गरेको जनाएका थिए। उनले २२ वटा विश्व कीर्तिमान बनाएका थिए। उनले २०१२ मा आत्मकथा लेख्दै आत्महत्याका लागि छनोट गरेको स्थलसम्म आफू पुगेको बताएका थिए।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.