|

चितवन : चितवन चराको मुख्य वासस्थान हो। चरा पर्यटनका लागि आकर्षक गन्तव्य मानिन्छ चितवनलाई। तर यही चितवनमा चराको प्रजातिमा उतारचढाव छ।

यो वर्षको चरा अनुगमनमा एकाएक ६ प्रजातिका  चरा हराए। सबै हाँस प्रजातिका छन्। सिमसारमा बस्ने सिन्दुरे हाँस, फुर्के, हरिहाँस, सुनचुरी, सोईरोपुच्छे र स्वेताखिभौं हाँस फेला परेन।

यी चराले लेउ खान्छन्। विषादीले लेउमा असर गरेको हुनसक्छ। चरा विज्ञ टिका गिरी भन्नुहुन्छ, ‘खोला नदी प्रदूषित भएकाले अन्तै गएको हुनसक्छ।’

 उत्तरबाट दक्षिण जाने यी चराहरु चितवन नाघेर दक्षिण गएको अनुमान उनको छ।  हालैको अनुगमनमा चितवन निकुञ्जपूर्वको सिमसारमा आश्रित कुल ४८ प्रजातिका चरा भेटिए।

संख्याका हिसावले हेर्दा सिमसार क्षेत्रमा पाईने चराहरु ११ हजार ७९१ वटा फेला परे। वर्ड एजुकेशन सोसाइटी चितवनका अध्यक्ष सरस्वती सेढाइँ घनाबस्ती जल प्रदूषण, विषादीको प्रयोग, जलवायु परिवर्तनलगायत कारणले चरालाई असर गरिरहेको दाबी गर्छन्।

चरा बचाउनुपर्छ भन्ने चेतना कम छ, चेतनामूलक कार्यक्रम ल्याउनुपर्ने देखिन्छ,’ सेढाईले भने, पारिस्थितिक प्रणालीलाई कायम राख्न त चराको पनि महत्वपूर्ण भूमिका हुन्छ नी।’ अहिलेको अनुगमनमा सिलसिले र चखेवा मात्रै बढेको पाईन्छ।

२०७३ सालमा अनुगमनमा चितवनमा ५४ प्रजातिका चरा भेटिएका थिए। त्योवेला सिमसार क्षेत्रभरी गरेर कुल १० हजार ३२ चरा अभिलेख गरिएको थियो। २०७२ सालमा पानीमा आश्रित चरा ५० प्रजातिका थिए। उक्त सययमा कुल ११ हजार २६० वटा चरा फेलापरेका छन्। २०७१ सालको तथ्यांकमा ४७ प्रजातिका चरा फेला परेकोका थिए। संख्या घटबढभन्दा पनि प्रजाति नै हराउनु ठूलो संकट हो।

यो समयमा जाडो छल्ने चराहरु नेपाल आउने गर्छन्। बाहिरबाट झण्डै १५० प्रजातिका चराहरु जाडो छल्न आउने गरेका छन्। जसमा हाँस प्रजाति मात्रै २२ भन्दा बढीका हुन्छन्। त्यसैले यही समयमा चराको अनुगमन हुन्छ।

बसाई सरेर आउने १५० मध्ये जलक्षेत्रमा बस्ने ५० भन्दा बढी प्रजाति छन्। सगरमाथा नाघेर चराहरु नेपाल आएका छन्। पछिल्लो चारवर्षको तथ्यांक हेर्दा चरामा उतारचढाव देखिन्छ। ४ वर्षदेखि बढ्दो क्रममा रहेको चरा यसपालि ह्वात्तै घटेर पुरानै अवस्थामा पुग्यो।

अहिलेको अवस्थाले त्यती नराम्रो नभइसके पनि संकेत भने नराम्रो गरेको बताउनुहुन्छ सोसाईटीका पुर्व अध्यक्ष तथा चरा विज्ञ बासु विंडारी। मुख्यगरी नदीमा ढल हाल्ने, प्रदुषण लगायत कारणले समस्या परेको उहाँको ठम्याइ छ।

प्रकृतिसँगै चराको बासस्थान विनास तथा जलवायु परिवर्तनका कारण चराको अवस्थामा वार्षिक उतारचढाव आइरहेको छ। पंक्षीविद् संघ नेपालका अध्यक्ष डा हेमसागर बरालपनि चरामा उतारचढाव भैरहेको बताउनुहुन्छ।

घट्दो क्रमलाई कसरी रोक्ने भन्नेमा सरकारी ध्यान पुग्न नसकेको उहाँकोतर्क छ। उहाँका अनुसार वासस्थान विनास, आहारा प्रजातिमा विभिन्न समस्या लगायत कारणहरुले चरा संरक्षणमा चुनौति थपिँदो छ। चितवनमा पाइने चरामध्ये करिब ६० प्रतिशत जल क्षेत्र र निकुञ्ज आसपासमा भेटिन्छन्।  नेपालमा ८८७ प्रजातिका चरा पाइनेमध्ये अधिकांश चितवनमा पाइन्छ।

पछिल्लो तथ्यांकअनुसार चितवनमा ६३३ प्रजातिका चरा छन्। चराको संरक्षण र अनुसन्धानमा भने नेपालमा खासै काम हुन नसकेको भन्दै चरा विज्ञहरु गुनासो गर्छन्। यसपालि निर्वाचित साँसदहरुलाई पनि चरा अनुगमनको प्रतिवेदन बुझाउने योजना चरा विज्ञको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.