|

काठमाडौं : नेपाल प्रहरी यतिबेला आफ्ना पूर्वप्रहरी नायव महानिरीक्षक (डिआइजी) एवं ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमालेका सांसद नवराज सिलवालाई धुइँपताल खोजिरहेको छ। 

१९ पुसमा पहिलोपटक सरकारी कागजात किर्ते गरेको अभियोगमा बुझ्नुपर्ने भन्दै पत्र काटेको प्रहरीले अहिले भने इन्टरपोलमार्फत विश्वभरी खोजिरहेको छ। तैपनि, सिलवाल कहाँ छन्? प्रहरीलाई भेउसम्म छैन। सिलवाल भने बेलाबेला सामाजिक सञ्जालमा आफूविरुद्ध राज्य लागिपरेको र आफू निर्दोष रहेकोले डटेर सामना गर्ने लेख्दै आएका छन्। 

ललितपुरको गोदावरी नगरपालिका- ४ स्थायी घर भएका सिलवालविरुद्ध डिफ्युजन नोटिस (इन्टरपोलमार्फत पक्राउ गर्ने सूचना)  जारी गरिएको तीन दिन बितिसकेको छ। तैपनि, प्रहरीलाई सिलवाल कहाँ छन् भन्ने सुइँकोसम्म छैन। 

सिलवालले दशगजा काटिसकेको थाहा पाएपछि प्रहरीले सोमबार सिलवालविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो। महानगरीय प्रहरी परिसर काठमाडौंले मुलुकी ऐन किर्ते कागजातको महलअन्तर्गतको सरकारी कागजात किर्ते मुद्दाको अनुसन्धानको सिलसिलामा सिलवालसँग बयान लिनुपर्ने भन्दै १९ पुसमा पत्र काटेको थियो। त्यसयता, नेपाल प्रहरी सिलवालको खोजीमा डटेर लागेको छ। 

महानगरीय प्रहरी परिसरको पत्र पाएको एक हप्तापछि ललितपुर प्रहरीले गृहजिल्ला र निर्वाचित भएको क्षेत्रमा सिलवाल नभेटिएको जवाफ दिएको थियो। ललितपुरमा नभेटिएका सिलवाललाई खोज्न नेपाल प्रहरीको प्रधान कार्यालयमा रहेको अपराध अनुसन्धान विभागले देशभरीका प्रहरी कार्यालयहरूलाई सिलवाललाई जहाँ भेट्यो त्यहीँ पक्राउ गरेर महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाउनू भन्ने निर्देशन दिएको थियो। 

उक्त निर्देशनलगत्तै सिलवालले आफू ललितपुरको भट्टेडाँडामा प्रहरी अधिकारीसँगै रहेको दाबी गरेका थिए। सिलवालको उक्त भनाइलाई आधार मानेर आइतबार महानगरीय प्रहरी परिसर काठमाडौं र ललितपुर प्रहरीको जम्बो टोली भट्टेडाँडा पुग्यो।

गाडीका गाडी साइरन बजाउँदै सिलवालको खोजीमा भट्टेडाँडा पुगेको प्रहरी रित्तो हात फर्कियो। त्यसपछि नेपाल प्रहरीले सिलवाल नेपालमा नरहेको निष्कर्षसहित प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल 'इन्टरपोल'मा सूचना सार्वजनिक गर्ने निष्कर्षमा पुग्यो। फलस्वरूप सिलवाललाई खोजीपाऊँ भन्दै १९२ देश सदस्य रहेको 'इन्टरपोल'मा सिलवालविरुद्ध डिफ्युजन नोटिस (इन्टरपोलमार्फत पक्राउ गर्ने सूचना) जारी गर्‍यो। 

सिलवाललाई तीन दिनयता खोजिरहेको १९२ देशको प्रहरीले भेट्यो कि भेटेन? नेपाल प्रहरी यसबारे बोल्न चाहेन। न त पक्राउ परेको सूचना नै सार्वजनिक गरेको छ। सिलवाल कहाँ छन् भन्ने अत्तोपत्तो छैन। यसबारेमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक मनोज न्यौपानेले उक्त विषय अनुसन्धानको भएकोले सञ्चारमाध्यममा बोल्न नमिल्ने बताए। 

कहाँ छन् सिलवाल?

आफ्ना पूर्वडीआइजी सिलवाल कहाँ छन् भन्ने त नेपाल प्रहरीलाई समेत थाहा छैन। त्यसैले त ऊ कहिले भट्टेडाँडा कुद्छ भने कहिले इन्टरपोल गुहारिरहेको छ। 

सिलवालविरुद्ध पक्राउ पुर्जी जारी गरेकै दिन सिलवाल पहिले नै तय भएको एक कार्यक्रममा सहभागी हुन मलेसियाको क्वालालम्पुर गएको खबर आएको थियो। 

सिलवाल एसियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इष्ट एसियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेसियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन त्यता गएको बताइएको थियो। जुन कुरा सिलवालले पनि दाबी गरेका थिए। र, उनलाई प्रतिनिधिसभामा उम्मेदवार बनाएर विजयी बनाएको एमालेको ललितपुर जिल्ला कमिटीले पनि सोही बताएको थियो। तर, उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर गएको रेकर्ड पाइएको थिएन।

त्यसयता, सिलवाल अमेरिका रहेको खबर पनि आएको थियो। तर, वास्तवममा सिलवाल कहाँ छन् भन्ने अझै पत्तो लागेको छैन। पछिल्लो समय सिलवाल कहाँ छन् भन्नेबारे नेकपा एमाले पनि बोलेको छैन।

सामाजिक सञ्जालबाट लगातार प्रतिक्रिया दिँदै सिलवाल

सिलवालले मंगलबार ट्विट गर्दै आफू निर्दोष भएको तर छानविन सत्यतथ्य रुपमा हुन नसक्ने भएकोले टाढा भागिरहेको सन्देश दिने धारणा सार्वजनिक गरेका छन्। उनले लेखेका छन्:

प्रहरीसँग लुकामारी खेलिरहेका सिलवाल कहाँ छन् भन्ने पत्तो नभए पनि यसरी नै बेलाबेला समाजिक सञ्जालमा उनका प्रतिक्रिया आउने गरेका छन्। 

उनले सामाजिक सञ्जालमार्फत प्रहरीको कदमलाई शक्तिको गलत प्रयोग, आफूमाथि साँधिएको राजनीतिक प्रतिशोध, समय सकिन लागेको सरकारको हतारो र नौटंकीजस्ता कडा प्रतिक्रिया दिँदै आएका छन्। 

हेर्नुहोस् अहिलेसम्म सिलवालले के के लेखे सामाजिक सञ्जाल ट्विटरमा:

सिलवालले आफूविरुद्ध नेपाल प्रहरीले हालै जारी गरेको डिफ्युजन नोटिस र त्यसविरुद्ध नेकपा एमालेले जनाएको असन्तुष्टि एवं सरकारलाई दिएको चेतावनीपछि  पनि आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले कानुनको शासनको खिल्ली उडाएर शक्तिको दुरूपयोग गर्नेहरूलाई जनताले दण्डित गरिसकेका भए पनि अझै निरंकुशता प्रदर्शन भइरहेको लेखेका थिए। 

के थियो मुद्दा?

११ फागुन ०७३ मा तत्कालीन डिआइजी जयबहादुर चन्दलाई आइजिपीमा बढुवा गर्ने निर्णय गर्‍यो। वरीयताको आधारमा आफू आइजिपी बन्नुपर्ने दाबी गर्दै आएका सिलवालले सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरे। सिलवालको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले प्रहरीको कार्यसम्पादन मूल्यांकन हेरेर वरीयताका आधारमा आइजिपी नियुक्त गर्न आदेश दियो।

अदालतको आदेशपछि सरकारले कार्यसम्पादन मूल्यांकनका आधारमा भन्दै प्रकाश अर्याललाई आइजिपी नियुक्त गर्‍यो। त्यसपछि आफू नै पहिलो वरीयतामा रहेको भन्दै सिलवालले पुन: सर्वोच्चमा रिट हाले। रिटसँगै प्रमाणका रूपमा उनले प्रहरीको कार्यसम्पादन मूल्यांकनको प्रतिलिपिसमेत पेस गरेका थिए। यसैक्रममा कार्यसम्पादन मूल्यांकन तोडमोड गरी अदालतमा पेस गरेको आरोप सिलवालमाथि छ।

पढ्नुहोस् यी सामग्री पनि: 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.