|

  • भोजराज कार्की-

सोलुखुम्बु : अलैँचीको मूल्य बढेपछि सोलुखुम्बुका अलैँची कृषक खुसी भएका छन्। निरन्तर ओरालो लागेको अलैँचीको मूल्यमा यस वर्ष केही वृद्धि भएपछि यहाँका किसानले केही राहतको महसुस गरेका छन्।

‘चर्को मूल्यसहित जनशक्ति प्रयोग गरेर अलैँची टिपनटापन र गोडमेल गर्नुपर्ने भए पनि मूल्यमा गिरावट आउँदा लगानी उठाउन मुस्किल थियो’, लिखुपिके– ३ का वीरध्वज बस्नेतले भने, ‘अघिल्लो वर्षको तुलनामा त यस वर्षको मूल्य कमै हो तर पनि यस वर्ष सुरुमा भन्दा पछिल्लो समय केही मूल्य बढ्दा राहत महसुस भएको छ।’

२०७२ मा प्रति किलो दुई हजार ५०० रुपैयाँमा बिक्री भएको अलैँची २०७३ मा प्रति किलो एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यस वर्षको सुरुमा प्रति किलो ५०० मा कारोबार हुँदा किसान निकै निराश बनेका थिए। 

केही महिना अगाडि मात्र प्रति किलो एक हजार रुपैयाँमा कारोबार भएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेतले जानकारी दिए। उनका अनुसार अहिले लिखुपिके गाउँपालिकामा उत्पादन भएको गत वर्षको बाँकी अलैँचीसमेत निर्यात भइसकेको छ।

खेतीयोग्य जमिनमा अलैँची लगाएका लिखुपिके– ३ का उदय बस्नेतले मूल्यमा ओरालो लाग्दा पुरानै खेतीतर्फ फर्कने मनस्थिति बनाइसकेको बताए। उनले भने, ‘यस वर्षको सुरुमा भन्दा पछिल्लो समय मूल्यमा केही वृद्धि भएसँगै गत वर्ष भण्डारणमा राखेको अलैँचीसमेत बिक्री गरिसक्यौँ। लगानी उठेको छ।’

अलैँची खेतीको पकेट क्षेत्रको रूपमा रहेको लिखु पिकेमा अहिले अलैँचीको मूल्यमा उतारचढाव आएको छ। अलैँचीको मूल्यमा भारी गिरावट आएपछि बिक्री वितरण ठप्प भएको अलैँची पछिल्लो समय भाउमा केही मात्रामा वृद्धि भएपछि किसानले बिक्री गरेका छन्। 

यस वर्ष सबैभन्दा बढी झापाको बिर्ताका व्यापारीले यस क्षेत्रको अलैँची संकलन गरेर लगेका छन्। केही काठमाडौंका व्यापारीले समेत लगेका छन्। यस वर्ष लिखुपिके गाउँपालिकामा करिब ४० हजार किलो अलैँची उत्पादन भएको गाउँपालिका अध्यक्ष बस्नेतले जानकारी दिए। 

केही वर्ष अगाडि अलैँचीको मूल्यमा अत्यधिक वृद्धि भएपछि यस क्षेत्रका किसान धान खेती छाडेर अलैँचीतर्फ आकर्षित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.