|

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्यका लागि २४ जना उम्मेदवार उठाएको छ। प्रत्येक प्रदेशबाट आठ जनाका दरले ५६ जनालाई उम्मेदवार बनाउन पाइने भए पनि कांग्रेसले २४ जनालाई मात्र उम्मेदवार बनाएको हो।

आगामी माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेसले २ नम्बर प्रदेशमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरमसँग तालमेल गरी दुई जनालाई मात्र उम्मेदवार बनाएको छ। ती दुवै दलका प्रदेश १, ५ र ७ का मतदाताले भने कांग्रेसका उम्मेदवारको पक्षमा मतदान गर्ने सहमति भएको छ। 

कांग्रेसले उठाएका २४ मध्ये आठ जना केन्द्रीयस्तरका नेता छन् भने १५ जना जिल्ला तहका नेता हुन्। कांग्रेसले केन्द्रीय सदस्यहरू सुरेन्द्रराज पाण्डे, बद्रीप्रसाद पाण्डे र सरिता प्रसाईंलाई उम्मेदवार बनाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव र पूर्व सभासदद्वय मुक्ताकुमारी यादव र बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी तथा नेपाल महिला संघकी महामन्त्री धना खतिवडालाई उम्मेदवार बनाएको छ। पूर्व सभासद् अनिता देवकोटा र मैकुलाल वाल्मीकिलाई पनि कांग्रेसले उम्मेदवार बनाएको छ। 

कांग्रेसमा देखिएको गुटगत विवादका कारण उम्मेदवारी चयनमा ढिलाइ भएको थियो। २४ मध्ये १४ जना पार्टी सभापति शेरबहादुर देउवा निकट छन्। बाँकी १० जना भने नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, प्रभावशाली नेता खुमबहादुर खड्का र विजयकुमार गच्छदार निकटका छन्। 

कुन उम्मेदवार कस्ता?

सरिता प्रसाईं 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रसाईं वहालवाला कृषि राज्यमन्त्री हुन्। विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेकी प्रसाईं नेपाल तरुण दलको पूर्व कोषाध्यक्ष र नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय सदस्य हुन्। राजनीतिमा क्रियाशील प्रसाईं नेता रामचन्द्र पौडेलको कोटाबाट प्रदेश- १ बाट उम्मेदवार भएकी हुन्। झापा स्थायी घर भएकी प्रसाईं अविवाहित हुन्।

सुरेन्द्रराज पाण्डे

नेपाली कांग्रेसका केन्द्रीय सदस्य पाण्डेले नेपाल विद्यार्थी संघको केन्द्रीय उपाध्यक्ष र तरुण दलको केन्द्रीय सदस्यको अनुभव बटुलिसकेका छन्। २०६४ सालदेखि नै कांग्रेस केन्द्रीय सदस्य रहेका पाण्डे २०६७ र २०७२ सालमा भएको पार्टी केन्द्रीय कार्य समिति सदस्यमा निर्वाचित भएका हुन्। केन्द्रीय सदस्य भएर पनि सभासद् हुन नपाउने थोरै केन्द्रीय सदस्य सदस्यमा उनी पर्छन्।

गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई निकट रहेर राजनीतिमा प्रवेश गरेका पाण्डे २०५९ सालदेखि शेरबहादुर देउवा निकट भएर राजनीति गर्दै आएका छन्। गोरखा स्थायी घर भएका पाण्डे संस्थापन पक्षकै सिफारिसमा ४ नम्बर प्रदेशबाट खुलातर्फ उम्मेदवार बनेका छन्।

बद्री पाण्डे 

दुर्गम जिल्ला बाजुरा स्थायी घर भएका पाण्डे पार्टी केन्द्रीय सदस्य हुन्। वाल्मीकि क्याम्पसको स्ववियु सभापतिबाट नेविसंघ केन्द्रीय सदस्य हुँदै उपाध्यक्षसम्म भएका पाण्डे नेता रामचन्द्र पौडेलको सिफारिसमा प्रदेश- ७ बाट राष्ट्रियसभामा उम्मेदवार भएका छन्। कांग्रेसको १२औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित पाण्डे २०७२ को १३औँ महाधिवेशनबाट पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। उनी संविधानसभामा समानुपातिक सांसदमा कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्दथे।

राधेश्याम अधिकारी

बरिष्ठ अधिवक्ता अधिकारी २०५८ सालदेखि निर्वाचन नै नलडी लगातार  विधायक हुन पाउने भाग्यमानी हुन्। २०५८ सालमा राष्ट्रियसभा सदस्यमा कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्ने अधिकारी २०६३ सालमा पुनर्स्थापित व्यवस्थापिका संसदको सदस्य भएका थिए। २०६५ र २०७२ सालमा मन्त्रिपरिषद्को सिफारिसमा सभासद् हुने अवसर पाएका उनी नेपालको अन्तरिम संविधान, २०६३ का मस्यौदाकारमध्येका एक हुन्।

प्रभावशाली नेता खुमबहादुर खड्का र पूर्व महामन्त्री प्रकाशमान सिंहको सिफारिसमा राष्ट्रियसभा सदस्यमा उम्मेदवार भएका अधिकारीले भ्रष्टाचारको अभियोगमा सजाय भोगिसकेकाहरूलाई पनि संसद सदस्यमा उम्मेदवार हुन पाउने अधिकार दिनुपर्छ भनेर अभिव्यक्ति दिएका कारण विवादमा तानिएका थिए।

जितेन्द्रनारायण देव

वामपन्थी विचारधाराबाट प्रभावित भएर राजनीतिमा प्रवेश गरेका देव दुई नम्बर प्रदेशमा कांग्रेसका तर्फकाट राष्ट्रियसभा सदस्यको उम्मेदवार हुन लागेका छन्। बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री देव २०३६ सालमा नेकपा (मानन्धर) को भ्रातृसंस्था नेपाल विद्यार्थी फेडरेसबाट राजनीतिमा प्रवेश गरेका हुन्। नेकपा (मानन्धर), नेकपा संयुक्त हुँदै नेकपा एमालेबाट माले हुँदै पुन: एमालेमा फर्किएका देव २०६४ सालमा मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए।

२०६६ सालमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकमा क्रियाशील देव विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा एकीकरण भएसँगै कांग्रेसमा आएका हुन्। उनी गच्छदारको सिफारिसमा राष्ट्रियसभा सदस्यका लागि २ नम्बर प्रदेशबाट उम्मेदवार भएका छन्।

धना खतिवडा 

नेपाल महिला संघको २०७३ सालमा सम्पन्न महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित खतिवडा कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको सिफारिसमा ३ नम्बर प्रदेशबाट उम्मेदवार भएकी हुन् । नेपाल महिला संघ र पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको प्रशिक्षकको अनुभव लिएकी खतिवडाले झापाबाट राजनीति सुरु गरेकी हुन्।

मुक्ताकुमारी यादव 

संविधानसभा निर्वाचन २०७० मा समानुपातिक कोटाबाट सभासद् भएकी मुक्ता दुई नम्बर प्रदेशबाट उम्मेदवार भएकी छन्। नेता सिटौलाको सिफारिसमा उम्मेदवार भएकी यादव धनुषाकी स्थायी वासिन्दा हुन्।

अनिता देवकोटा

नेपाल महिला संघकी पूर्व केन्द्रीय सदस्य देवकोटा संविधानसभा निर्वाचन २०७० मा समानुपातिक सांसदको रूपमा निर्वाचित भएकी थिइन्। दाङ स्थायी घरकी देवकोटा नेता रामचन्द्र पौडेलको सिफारिसमा उम्मेदवार भएकी हुन्।

मैकुलाल वाल्मीकि

कांग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोइरालको सिफारिसमा २०७० सालको संविधानसभामा मनोनित सांसद भएका वाल्मीकि अहिले भने सभापति शेरबहादुर देउवाको सिफारिसमा प्रदेश- ५ बाट दलित कोटाबाट उम्मेदवार भएका हुन्। बाँके स्थायी घर भएका वाल्मीकि दलित समुदायको अधिकारको क्षेत्रमा क्रियाशील छन्।

रमेशजंग रायामाझी

भोजपुरमा जन्मिएर मोरङमा राजनीति गरिरहेका रायामाझी २०७० सालको संविधानसभा निर्वाचनमा मोरङको ८ नम्बर क्षेत्रबाट चुनावी प्रतिष्पर्धा गरेका थिए। निर्वाचिनमा पराजित रायामाझी कांग्रेस प्रजातान्त्रिकबाट कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्।

क्रियाशील सदस्यता नै नलिई महाधिवेशन प्रतिनिधि भएपछि उनलाई २०६४ सालमा छानबिन गरी महाधिवेशन प्रतिनिधिबाट हटाइएको थियो। प्रभावशाली नेता खुमबहादुर खड्काको सिफारिसमा १ नम्बर प्रदेशबाट उम्मेदवारी दिएका रायामाझी फिल्म निर्माता र निर्माण व्यवसायी पनि हुन्।

गोपालप्रसाद शर्मा

कांग्रेसले प्रदेश- ६ बाट राष्ट्रियसभा सदस्य निर्वाचनमा सशस्त्र द्वन्द्वको समयमा माओवादीको आक्रमणबाट दुवै आँखाको दृष्टि गुमाएका शर्मालाई उम्मेदवार बनाएको छ। २०५५ साल साउन ११ गते आफ्नै निवास रुकुमको खोलागाउँमा माओवादीको तेजाब आक्रमणबाट दृष्टि गुमाएका थिए। 

तत्कालीन खोला गाउँविकास समितिका अध्यक्ष शर्मा हाल नेपालगञ्जमा अस्थायी बसोवास गर्दै आएका छन्। पार्टीका जिल्ला सभापति प्रेमप्रकाश वलीको सिफारिसमा पार्टीका शीर्ष नेताको सर्वसम्मतिबाट उनलाई उम्मेदवार बनाइएको हो।

दुर्गाप्रसाद उपाध्याय 

रूपन्देही जिल्लाको ४ नम्बर क्षेत्रीय सभापति उपाध्याय कांग्रेस नेता बालकृष्ण खाँडको सिफारिसमा प्रदेश- ५ बाट राष्ट्रियसभा सदस्यमा उम्मेदवार भएका छन्। 

मदनकृष्ण श्रेष्ठ

कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्र मदनकृष्ण श्रेष्ठ मध्यपुर ठिमी नगरपालिकाका पूर्व प्रमुख हुन्। उनले अपांग कोटाबाट ३ नम्बर प्रदेशमा उम्मेदवारी दिएका छन्।

हरिशरण नेपाली 

काठमाडौंको सिनामंगलका स्थायी वासिन्दा नेपाली दलित संघको जिल्लास्तरिय कार्यकर्ता हुन्।

वृन्दा रानामगर 

नेपाल महिला संघ तनहुँका जिल्लास्तरीय कार्यकर्ता रानामगर नेता रामचन्द्र पौडेलको सिफारिसमा प्रदेश-४ मा कांग्रेसको तर्फबाट महिला कोटामा राष्ट्रियसभामा उम्मेदवार भएकी छन्। 

प्रकाश पन्त

नेपाल अपांग संघ तनहुँ जिल्लाको उपाध्यक्षसमेत भएका पन्त पौडेलको सिफारिसमा चार नम्बर प्रदेशबाट राष्ट्रियसभामा उम्मेदवार भएका हुन्।

जीतबहादुर नेपाली

दलित संघको राजनीतिमा सक्रिय नेपाली कांग्रेस महासमिति सदस्य नेपाली ४ नम्बर प्रदेशबाट उम्मेदवार भएका छन्। 

लुटबहादुर खत्री

कांग्रेसले प्रदेश- ५ बाट राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार बनाएका खत्री सभापति देउवाको सिफारिसमा परेका हुन्। उनी अपांग संघ र तरुण दलको राजनीतिमा सक्रिय छन्।

विष्णुबहादुर शाही 

कालीकोट कांग्रेसका पुराना कार्यकर्ता शाही तीन पटकसम्म महासमिति सदस्य भइसकेका छन्। उनी नेता सिटौलाको सिफारिसमा प्रदेश- ६ बाट उम्मेदवार भएका छन्।

सूर्यदेवी मल्ल

कांग्रेस महासमिति सदस्य मल्ल नेपाल महिला संघकी जिल्ला अध्यक्ष थिइन्। सभापति शेरबहादुर देउवाको सिफारिमा प्रदेश- ६ बाट उम्मेदवार भएकी मल्लको स्थायी घर मुगु हो।

मित्रलाल पार्की

पार्टीको सल्यान जिल्लास्तरीय भूमिकामा रहेका पार्की पार्टीका साधारण कार्यकर्ता हुन्।

तारादेवी भट्ट

नेपाल महिला संघ कञ्चनपुरकी पूर्व अध्यक्ष भट्ट कांग्रेसकी पुरानी कार्यकर्ता हुन्। नेता रमेश लेखकको सिफारिसमा प्रदेश- ७ बाट उनी राष्ट्रियसभामा उम्मेदवार भएकी छन्।

शेरीराम पार्की

सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा दलित संघको नेतृत्व गरेर बसेका पार्की पुराना नेता हुन्।

छत्रराज जोशी 

नेपाल अपांग संघ कैलालीका जिल्लास्तरीय नेता जोशी प्रदेश- ७ बाट राष्ट्रियसभामा उम्मेदवार बनेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.