|

रुकुम : रुकुम पूर्वको भुमे गाउँपालिकाकी अमुता बुढाकी आमा गत पुस ३० गते रुखबाट लडेर घाइते भइन्। अमुताले घाइते आमालाई उपचारका लागि स्थानीय मेडिकल लगिन्। तर, मेडिकल सञ्चालकले यहाँ उपचार सम्भव नहुने भन्दै सदरमुकाम मुसिकोट लान सुझाव दिए। सुझावअनुसार नै आमालाई मुसिकोट लान एम्बुलेन्सको जोहो गर्न थाहा पाएको सबै स्थानमा फोन सम्पर्क गर्दा समेत एम्बुलेन्स पाउन सकिनन्। त्यसैले जीप रिजर्ब गरिन्।

यस्तो समस्या भोग्ने अमुता मात्र होइनन्। त्रिवेणी गाउँपालिका रीता राणाको समस्या पनि कम छैन। रीताले गर्भवती बुहारीको चेकजाँच गर्न एम्बुलेन्सको अभावकै कारण हिँडेरै अस्पतालसम्म पुर्‍याइन्। ‘गर्भवतीलाई सार्वजनिक गाडीमा ल्याउन गाह्रो हुन्छ,’ रीताले भनिन्, ‘जिल्लामा एम्बुलेन्स छैन, त्यसैले घरबाट बिहानै हिँडेर जाँच गर्न अस्पताल आयौं।’ एम्बुलसेन्स नभएकाले सामान्य बिरामीलाई हिँडाएर र हिँड्न नसक्नेलाई डोको वा जीप रिजर्ब गर्नुको विकल्प नरहेको रीताले बताइन्। 

जिल्लामा भएको एम्बुलेनस बिग्रिएको लामो समयसम्म पनि मर्मत नहुँदा उपचारका लागि बिरामीलाई अस्पतालसम्म पुर्‍याउन र ल्याउन समस्या भएको छ। रुकुम पश्चिममा जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाइटीको गरी दुईवटा एम्बुलेन्स भए पनि दुवै एम्बुलेन्स बिग्रिएर थन्किएको छ। जिल्ला अस्पताल सल्ले रुकुमका प्रमुख डा. सबिन पोख्रेलले जिल्लामा देखिएको यो समस्या चाँडै समाधान हुने बताउँछन्। ‘जिल्लाका मुसिकोट नगरपालिका, बाफिकोट गाउँपालिका र चौरजाहारी नगरपालिकालेले एम्बुलेन्स ल्याउने प्रक्रिया थालिसकेको छ,’ उनले भने, ‘अब चाँडै समस्या समाधान हुन्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.