|

पानीको फोका जस्तै फुट्यो हाम्रो माया
नचाहँदा नचाहँदै छुट्यो हाम्रो माया 

अलिकति तिम्रो गल्ती भो 
अलिकति मेरो गल्ती भो
अलिकति नजर लाग्यो पापी दुनियाँको।

माथिको गीत नसुन्ने सायदै होलान्। नेपाली सांगीतिक क्षेत्रमा धेरै सुनिएको मध्येको एउटा गीत यो पनि हो। प्रेममा धाेका खाएका हुन् या आम नेपाली, सबैको मुखमै झुण्डिएको गीत बन्न सफल भएको छ यो गीत। यो गीत डा. राजुबाबु श्रेष्ठले लेखेका हुन्। यसमा संगीत हरि लम्सालले भरेका छन् भने मनोज राज र रजिना रिमालले आवाज दिएका छन्।

साहित्यकारले आफूले देखेका, सुेनका र भोगेका कुरालाई शब्दमा उतार्छन् भन्ने गरिन्छ। यो गीत उनले आफूले देखेको क्षणलाई सम्झेर लेखेका हुन्। मनोज राज र अञ्जु पन्तको सम्बन्धविच्छेदको खबर आएपश्चात उनले यो गीत तयार पारे। ‘म अञ्जु र मनोजसँग पहिलादेखि नै नजिक हुँ। संगीतिक दुनियाँमा उनीहरूको निकै मिलेको जोडी थियो’, श्रेष्ठले भने, ‘नेपाली संगीतमा स्थपित हुन यी दुईले एकअर्कालाई निकै सहयोग गरेका थिए। यो सम्बन्धलाई यसरी नै अघि बढाउन म पनि हौसला दिन्थेँ।’ 

तर एक बिहान उनी घरमा पत्रिका पढ्दै थिए। पत्रिकामा मनोज र अञ्जुको सम्बन्धविच्छेदको समाचार आएको रहेछ। ‘पत्रिका पढ्नेबित्तिकै उनीहरूको सम्बन्धविच्छेदको समाचार देखेँ। मलाई निकै खल्लो लाग्यो’, उनले भने। त्यो समाचार पढेपछि श्रेष्ठले यो गीत तयार पारेका हुन्। ‘मैले उनीहरूको सम्बन्धविच्छेद हुनुमा दुवै जनासँगै बाहिरका मान्छेको पनि गल्ती छ भन्ने सोचेँ', उनले भने, 'अनि त्यही पत्रिकामा यो गीतको चार लाइन कोरेँ। पछि यही गीत निकै चल्यो।’

उनीहरूको सम्बन्ध देखेर धेरैले डाहा गर्ने गरेको उनी बताउँछन्। भन्छन्, 'उनीहरू मिलेको देखेर धेरैले कुरा काटे। सँगै हिँड्दा पनि कुरा काटे। त्यसकारण दुनियाँको पनि गल्ती छ भनेर गीतमा लेखेको हुँ।' गीतमा केटीको आवाजमा रजिना रिमाललाई गाउन दिए। केटामा उनले जसको सम्बन्धका बारेमा गीत लेखे, उसैलाई अर्थात मनोज राजलाई गाउन दिए। 

‘मैले अञ्जुलाई दिने सोच त बनाएको थिएँ। तर उनी स्टार भइसकेकी थिइन्। त्यसकारण नयाँ प्रतिभा पनि ल्याउनुपर्छ जस्तो लाग्यो र रजिनालाई दिएँ’, उनले भने, ‘मनोज त्यति स्थापित हुनसकेका थिएनन्। त्यसैले पुरुष आवाजचाहिँ उनले गाए।’ गीत अधिकांश प्रेमबाट नै निस्कने उनी बताउँछन्। उनी भन्छन्, ‘पीडाका स्रोतचाहिँ प्रेम हुन्छन्। तपाईं देशलाई प्रेम गर्नुहुन्छ भने विकास नहुँदा पीडा हुन्छ। कोही युवतीलाई प्रेम गर्नुहुन्छ भने बिछोड हुँदा पीडा हुन्छ।’ गीत अधिकांश प्रेमबाट नै निस्कने उनी बताउँछन्। उनी भन्छन्, ‘पीडाको स्रोतचाहिँ प्रेम हुन्छन्। तपाईं देशलाई प्रेम गर्नुहुन्छ भने विकास नहुँदा पीडा हुन्छ। कोही युवतीलाई प्रेम गर्नुहुन्छ भने विछोड हुँदा पीडा हुन्छ।’

‘हुनत प्रहरी कडा स्वभावका हुन्छन्, माया, प्रेम हुँदैन भन्छन् तर त्यस्तो होइन, प्रहरीमा पनि माया, प्रेम हुन्छ’, उनले भने, ‘बरु यो पेसामा लागेर धेरै फाइदा भएको छ। सबैको माझमा जान पाएको छु। त्यहाँबाट उहाँहरूको दु:ख बुझ्न पाएको छु। त्यहीँबाट सिर्जना पनि गर्न सकेको छु।’

उनी गीतकार मात्र होइनन्, प्रहरी उपरीक्षक (एसपी) पनि हुन्। नेपाल प्रहरीको दंगा नियन्त्रण कार्यालय काठमाडौंको प्रमुखका रूपमा उनी अहिले कार्यरत छन्।

सानैदेखि साहित्य क्षेत्रमा रुचि राख्ने श्रेष्ठ २०४५ सालबाट नेपाल प्रहरीको जागिरमा आएका हुन्। भन्छन्, ‘म प्रहरीभन्दा पहिला साहित्यकार हो। सानैदेखि साहित्य लेखनमा थिएँ तर गरी खानका लागि जागिर खाएको हुँ।’ उनी प्रहरीमा जागिर खान २०४५ सालमा गोरखाबाट काठमाडौँ आए। उनले एकै पटकमा जागिरका लागि नाम पनि निकाले। भन्छन्, ‘साहित्य नै लेखेर खान सक्ने अवस्था थिएन र अहिले पनि छैन। त्यसैले जागिरमा लागेँ।’ 

नेपाल प्रहरीमा सेवा गरेपछि उनलाई साहित्य सिर्जना गर्न धेरै सहज भएको छ। भन्छन्, ‘हुनत प्रहरी कडा स्वभावका हुन्छन्, माया, प्रेम हुँदैन भन्छन् तर त्यस्तो होइन, प्रहरीमा पनि माया, प्रेम हुन्छ’, उनले भने, ‘बरु यो पेसामा लागेर धेरै फाइदा भएको छ। सबैको माझमा जान पाएको छु। त्यहाँबाट उहाँहरूको दु:ख बुझ्न पाएको छु। त्यहीँबाट सिर्जना पनि गर्न सकेको छु।’ प्रहरीलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आउनुपर्ने उनी बताउँछन्। भन्छन्, ‘प्रहरी कडा पेसा नै होइन। प्रहरीलाई समाजले हेर्ने दृष्टिकोण मात्र फरक हो।’

उनले लेखेका ‘मन मिल्ने मान्छे कतै भेट्यौ कि तिमीले’, 'तिम्रो मुस्कानभन्दा’, ‘चोट खाँदाखाँदा’लगायत दर्जनौँ गीत चर्चित भइसकेका छन्। आफ्नो पेसासँगै उनले निरन्तर साहित्य सिर्जना गर्दै आएका छन्। ‘साहित्य सिर्जना गर्न कुनै निश्चित समय चाहिँदैन। कहिले बाटोमा हिँड्दाहिँड्दै पनि फुर्छ’, उनले भने, ‘कहिले ड्युटीमै भएको बेला पनि साहित्य फुर्छ।’ 

श्रीमतीसँगको झगडामा गीत

प्रहरीको जागिर, घर पुग्दा कम्तिमा रातको १० बज्छ। प्राय: श्रीमती पनि रिसाइरहेकी भेटिने उनी बताउँछन्। भन्छन्, ‘एक साँझ घर पुग्न धेरै ढिला भयो। श्रीमतीले खाना बनाएर बसेकी रहिछन्। मचाहिँ बाहिर साथीहरूसँग रमाइलो गरिरहेको थिएँ।’ सँगै खानलाई राखेको खाना सेलाएर चिसो भएपछि श्रीमतीको गालीबाट एउटा गीत फुरेको उनी बताउँछन्। ‘घर ढिला पुगेपछि तनावको स्थिति हुन्छ। तनाव त व्यवस्थापन गर्नुपर्‍यो। गल्ती त मेरो हो’, उनले भने, ‘श्रीमतीलाई त फकाउनुपर्‍यो। मैले भने श्रीमान आउँदा त मुसुक्क मुस्कुराउनुपर्‍यो। तिम्रो मुस्कानभन्दा अर्को खुसी कहाँ छ भन त! श्रीमतीले मलाई जवाफ दिइन्, हामीलाई पनि लोग्नेको साथभन्दा ठूलो के छ?’ यसरी श्रीमतीसँगको झगडामा उनको गीत तयार भएको उनी बताउँछन्। 

तिम्रो मुस्कानभन्दा ठीक अर्को खुसी कहाँ छ र!
तिम्रो साथभन्दा न्यानो अर्को सुख कहाँ छ र!

उनले यो गीत 'झगडामै श्रीमतीलाई गीत फुर्‍यो' भन्दै सुनाएर एउटा कागजमा टिपे। त्यसपछि यो गीतलाई पूर्ण रूप दिए। भन्छन्, ‘सुरेश अधिकारीलाई लगेर सुनाए। उसले निकै दु:ख गरेर मैले भनेजस्तो बनाए र त्यसमा संगीत भरे।’ यो गीत बनाउँदै धेरै दुःख भएको उनलाई अहिले पनि झलझली याद आउँछ। ‘यो गीत लिएर सुरेशकहाँ गएँ। उनले प्रयास गर्दागर्दा पनि भएन। मैले संगीत नबनेसम्म यहीँ बस्ने भन्दै बनाउन उनलाई दबाब दिइरहेँ’, भन्छन्, ‘सुरेशले मलाई पुलिस कुरा भयो हजुर, पुलिसले बन्दुक देखाउँदैमा राम्रो मेलोडी आउँछ र! मुड नभई राम्रो हुन्छ र! भने। त्यसपछि मैले उनलाई खाना पनि खान नदिई गीत बनाउन लगाएँ। उनले धेरै प्रयास गरेर सोचेजस्तै बनाए।’

गीतमा मायाको भाव ल्याउनलाई संगीतिक क्षेत्रमा स्थापित जोडी उदय र मनिला सोताङलाई गाउन दिए। भन्छन्, ‘यो गीतलाई मायाको फिलिङ्समा गाउन सक्ने उहाँहरूबाहेक अरू  छन् जस्तो लागेन, त्यसैले उहाँहरूको जोडीलाई गाउन दिएँ।’

राती उठेर सिर्जना गर्छु

हुनत उनको सिर्जना गर्ने कुनै समय छैन तर उनलाई मनमा केही खेल्यो भने सिर्जना गर्न लागिहाल्छन्। उनलाई सिर्जना गर्नका लागि निद्राले पनि रोक्दैन। ‘कहिलेकाहीँ मध्यरातमा सिर्जना फुर्छ। राती सुतिरहेको मान्छे घरको छतमा गएर तारा हेर्न पनि पुगेको छु’, भन्छन्, ‘श्रीमती भने राती श्रीमान नदेखेपछि धेरैतिर खोज्छिन्। अन्तिममा छतमा गएर हेर्दा आकाशमा तारा हेरिरहेको भेट्छिन्। त्यसबेला एक पटक मेरो आँखामा हेर्छिन्। निदाएको हो कि भन्ने उनको स‌ंका फेल खान्छ र बहुला भनेर उनी त्यहाँबाट फर्कन्छिन्।’ लेखकलाई कहिले छुन्छ थाहै नहुने उनी बताउँछन्। 

यतिबेला उनलाई धेरै खुसी लाग्छ

उनलाई आफन्तले तिम्रो गीत राम्रो छ भन्दा खासै खुसी लाग्दैन रे! भन्छन्, ‘मलाई आफन्त, साथीहरूले तिम्रो गीत राम्रो भन्दा खासै खुसी लाग्दैन। कसैले ल बधाई छ भन्दा पनि म मत्तिन्नँ। अवार्ड पाउँदा पनि मातिन्नँ। खुसी त लाग्छ।’ तर उनलाई धेरै खुसीचाहिँ जुन बेला आफ्नो गीत बाटोमा हिँड्दा बजिरहेको हुन्छ, त्यसबेला लाग्छ रे! ‘बाटोमा, गाडीमा चढ्दा जब मेरो गीत बज्छ, त्यसबेला धेरै खुसी लाग्छ’, उनले भने, ‘न्युरोडमा जाँदा गन्धर्व भाइहरूले मेरो गीत गाइरहेका भेट्छु, त्यसबेला अत्यन्त खुसी लाग्छ।’

उनले यसरी आफ्नो गीत सारङ्गीसँगै बाटोमा गाउँदै गरेको धेरै पटक भेटेका छन्। ‘मैले यसरी मेरो गीत गाएको ८\१० पटक भेटेको छु। यसमा चाहिँ म धेरै मात्तिन्छु। खुुसीले गद्गद् हुन्छु । त्यहाँभन्दा ठूलो खुसी कहीँ पाउँदिनँ,’ भन्छन्, ‘यस्तो भेटेँ भने आफूसँग छैन भने पनि श्रीमतीको खल्तीबाट पैसा झिकेर पनि दिने गरेको छु। त्यो कलाको सम्मान हो।’

सडकमा हिँडिरहँदा बटुवाले आफ्नो गीता गाउँदा पनि धेरै खुसी लाग्ने श्रेष्ठ बताउँछन्। भन्छन्, ‘सडकमा बटुवाले, मजदुरहरूले मेरो गीत गाइरहेको भेटेँ भने धेरै खुसी लाग्छ।’ 

मनदेखि लेखिएका गीत आउनै छाडे

सहित्य तथा गीत लेख्नका लागि मनैदेखि लाग्नुपर्ने श्रेष्ठ बताउँछन्। साहित्यकार बन्छु भनेर कोही पनि साहित्यकार नहुने उनी बताउँछन्। भन्छन्, ‘धेरैचाहिँ म साहित्यकार बन्छु भनेको देखेर लागेको देखिन्छ। तर यसरी लेख्दा कस्तो हुन्छ भन्नेचाहिँ थाहा छैन। साहित्यकारचाहिँ बन्छु भनेर भइँदैन। यसको कुनै सूत्र पनि छैन।’

मनैदेखि लेखेमा मात्र राम्रो हुने उनी बताउँछन्। भन्छन्, ‘मैले पनि लेख्दै गर्दा च्यातेर फालेका घटनाहरू धेरै छन्। कहिलेकाहीँ गज्जबको लेख्छु भनेर बस्यो, फुर्दै फुर्दैन। त्यसबेला कति च्यातेर फालेँ।’ पहिला गीत संगीत मनबाट आउने भए पनि आजभोलि मस्तिष्कबाट गीत आउन थालेको उनी बताउँछन्। भन्छन्, ‘पहिला दिल छोएपछि गीत लेखिन्थ्यो, अहिले गीत कसैले अनुरोध गर्दा लेखिन्छ।'

गीत पनि प्राविधिक हुन थालेको बताउँदै उनी उनले लेखेका केही स्टेज तताउने गीत पनि आफूलाई प्रिय नलागेको सुनाउँछन्। भन्छन्, ‘आफूले लेखेका गीत सबैलाई प्रिय लाग्छ नै तर अहिलेका गीत मस्तिष्कबाट लेखिन्छ। मैले पनि केही स्टेज तताउने गीत लेखेको छु तर ती मलाई प्रिय लाग्दैनन्।’

गीतकारहरू पनि आधुनिकीकरण हुन जरुरी रहेको उनी बताउँछन्। भन्छन्, ‘समयअनुसार परिवर्तन त हुनुपर्छ तर नेपाली गीत संगीत आधुनिकीकरण होइन, पश्चिमीकरण भइरहेको छ। त्यो बेलामा पनि पप गीत ओमविक्रम विष्ट दाइले पनि गाउनुहुन्थ्यो नि! नेपाली पप्प गीत हुन्न र? तर अहिले सबै पश्चिमीकरण हुँदै छ।’ गीतको रोजाइमा उमेरले पनि फरक पार्ने उनी बताउँछन्। 

सामाचार सुनेर कथा बन्यो

एक दिन टेलिभिजनमा उनी समाचार सुनिरहेका थिए। उनले इराकमा आत्मघाती विस्फोटमा १३ अमेरिकी सैनिकको मृत्यु भन्ने समाचार सुने। सामाचार सुनेपछि उनलाई धेरै जिज्ञासा आयो। उनले त्यस घटनाका बारेमा अध्ययन गरे।

एक महिलाले आत्मघाती विस्फोट गराएको भन्ने पत्ता लगाए। किन ती महिलाले आत्मघाती विस्फोट गराइन् भन्ने उनमा धेरै जिज्ञासा आयो। उनले ती महिला अमेरिकी सेनाको क्याम्पमा गएर विस्फोट गरेको पत्ता लगाए। त्यसपछि उनी त्यही महिला भएर सोच्न थाले। उनले भने, ‘समाचार सुनेपछि राती ३ बजेसम्म त्यहीबारेमा लेख्न थालेँ। म कोठामा पसेपछि कसैले पनि डिस्टर्व गर्दैन।’

उनले कथामा युवतीले किन विस्फोट गराएको भन्नेबारेमा लेखेका छन्। भन्छन्, ‘ती केटीले सद्दाम हुसेनलाई मन नपराउँदिरहिछन्। त्यसकारण एक अमेरिकी सैनिकलाई माया जालमा पारेर क्याम्पमा जाने आउने गर्दिरहिछन्। एक दिन उनले त्यस क्याम्पमा नै आत्मघाती विस्फोट गराइछन्।' त्यसरी बन्यो गृहयुद्धको घाउभित्रको एक कथा। यो कथा बाहिर आएपछि राजावादी भएको आरोपसमेत लागेको उनी बताउँछन्।

गीत लेखेर बाँच्ने अवस्था छैन

गीत मात्र लेखेर बाँच्न सक्ने अवस्था अझै नरहेको श्रेष्ठ बताउँछन्। अहिले पनि गीतकारहरू अन्य कुनै न कुनै व्यावसायमा संलग्न भएको उनको भनाइ छ। भन्छन्, ‘गीत लेखेरै बाँच्ने अवस्था छैन। चलेकै गीतकार पनि कुनै न कुनै व्यवसाय गरिरहेको छ। तर परिवार नपाली गीत लेखेर आफू मात्र पालिनु भने त्योचाहिँ सम्भव छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.