'प्रदेश ५ को राजधानी नेपालगन्जलाई बनाउन पहल गर्छु'

|

बाँके : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकतालाई कसैले पनि रोक्न नसक्ने बताएका छन्।

प्रदेश ५ को प्रादेशिक महोत्सवको नेपालगन्जमा आयोजना गरिएको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले एमालेसँगको एकता प्रक्रिया निष्कर्ष नजिक पुगेको बताए।

प्रचण्डले वामपन्थीहरुमात्र देशको आर्थिक विकास गर्न सक्ने उदाहरण विगतका कम्यूनिष्ट सरकारले देखाएको बताए। उनले अब गठन हुने वाम गठबन्धनको सरकारले देशमा आर्थिक क्रान्ति ल्याउने दाबी गरे।

प्रचण्डले वाम गठबन्धनसँग झण्डै दुई तिहाई बहुमत रहेको बताउँदै अब बन्ने स्थायी सरकारले विकासको ढोका खोल्ने जिकिर गरे। ‘देशको समृद्धिको जिम्मा अब वाम गठबन्धनको सरकारले लिने छ,’ उनले भने।

प्रचण्डले वामपन्थीको सरकारले विदेश पलायन हुने युवा शक्तिलाई नेपालमै रोजगार दिने वातावरण मिलाउने बताउँदै खाडी मुलुकमा गएर काम गर्ने बाध्यताको अन्त्य आगामी सरकारले गर्ने विश्वास दिलाए। ‘अबको सरकारले ५० डिग्री गर्मीमा गएर काम गर्ने बाध्यता र विदेशबाट दैनिक शव आउने क्रमको अन्त्य गर्ने विश्वास दिलाउन चाहन्छु,’ प्रचण्डले भने।

सरकारले प्रदेशसभाका लागि अस्थायी मुकाम तोकेपछि उत्पन्न असहमतिलाई प्रदेश सभाले निराकरण गर्ने धारणा राखे। नेपालगन्जलाई प्रदेश ५ को स्थायी राजधानीका लागि पहल गर्ने प्रतिवद्धता जनाउँदै उनले बाँकेबासीको भावनाको कदर गर्ने बताए।

‘नेपालगन्जलाई प्रदेश राजधानी बनाउन म यहाँबाट जानासाथ कुरा उठाउँछु, नेपालगन्जको ऐतिहासिकता र महत्वलाई कमजोर हुन दिने छैन,’ उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.