|

विराटनगर : मोरङ प्रहरीले विराटनगरबाट ३६ लाख रूपैयाँ नगदसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले यसअघि सेठिया ग्रुपलाई ८६ लाख रुपैयाँ नगदसहित पक्राउ गरेको थियो। 

अवैध कारोबार नियन्त्रणका लागि विशेष प्रहरी परिचालन गरेर अभियान चलाएको प्रहरीले बिहीबार विराटनगर– ११ स्थित कनैया गुप्ताको घरबाट चार जनालाई पक्राउ गरेको हो। कनैयाको घरमा सन्तोषकुमार रौनियारले आफ्नै कोठामा कार्यालय जस्तो बनाई अवैध रूपमा हुण्डीको कारोवार गरिरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो। 

पक्राउ पर्नेहरूमा विराटनगर– ७ का १९ वर्षका सुदर्शन साह, विराटनगर– ११ का २४ वर्षका निरन्जनकुमार साह, सोराभाग–८ घर भई हाल विराटनगर– ६ बस्ने ४१ वर्षका सन्तोषकुमार रौनियार र विराटनगर– १७ का २८ वर्षका साकिब आलम रहेका छन्। 

उनीहरूको साथबाट प्रहरीले ३६ लाख १८ हजार २५० रुपैयाँ नगद, भारतीय एयरटेल कम्पनीको सिम कार्ड एक थान र विभिन्न कागजातसमेत बरामद गरेको छ। पक्राउ परेका उनीहरूलाई सम्पत्ति शुद्धीकरणअन्तर्गत मुद्दा चल्ने मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बीसीले बताए। 

मोरङ प्रहरीले गत असोज महिनायता हुण्डी कारोबारमा संलग्न १३ जनालाई पक्राउ गरिसकेको छ। गत असोजमा प्रहरीले भाइबरबाट ठगी गर्ने विराटनगरका भोला ठाकुर, विशालकुमार रोय, वसन्तकुमार पासवान, अजय मण्डल र भारत अररिया हरिजन कलौनीका राजेशकुमार रामलाई पक्राउ गरेको थियो। उनीहरूको साथबाट प्रहरीले ५६ हजार रुपैयाँ नगदसहित अन्य कागजपत्र पनि बरामद गरेको थियो।

यस्तै, प्रहरीले गत मंसिर १ गते हुण्डी कारोवार गर्ने विराटनगरको ठूलो गिरोह सार्वजनिक गरेको थियो। उक्त टोलीमा विराटनगरका व्यापारी अनुपचन्द्र सेठिया संलग्न थिए। सेठिया हाल कारागार चलान भएका छन्। उक्त समूहबाट प्रहरीले ८६ लाख रुपैयाँ नगद बरामद गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.