|

दाङ : दाङमा वर्सेनि सानै उमेरमा गर्भपतन गर्नेहरूको संख्या बढ्दै गएको छ। स्वास्थ्यका दृष्टिले गम्भीर मानिएका २० वर्षभन्दा कम उमेरका किशोरीहरूले वर्सेनि गर्भपतन गराउनेको संख्या बढ्दै गइरहेको तथ्यांक छ। तर यसको न्यूनीकरणतर्फ कसैको पनि ध्यान गएको देखिँदैन। 

अपरिपक्व उमेरमा गर्भपतन गराउँदा प्रजनन् स्वास्थ्यमा ठूलाठूला समस्या देखापर्ने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङका प्रमुख घनश्याम पोख्रेलले बताए। यो संख्यालाई कम गर्न सकिएन भने यसले विकराल रूप लिने उनको भनाइ छ। जिल्ला जनस्वास्थ्य कार्यालय दाङको तथ्यांकअनुसार गएको आर्थिक वर्ष २०७३/०७४ मा गर्भपतन गराएका जम्मा महिलाहरूको संख्यामध्ये करिब ६० प्रतिशत २० वर्षमुनिका रहेका छन्। 

जिल्ला जनस्वास्थ्य कार्यालय दाङका तथ्यांक अधिकृत मदन पोख्रेलका अनुसार गर्भपतन गराएका सात हजार २२९ जनामध्ये दुई हजार ४०१ जना २० वर्षभन्दा कम उमेरकाले गर्भपतन गराएका छन्। यो संख्या अघिल्लो आर्थिक वर्ष २०७२/०७३ भन्दा बढी हो। 

आर्थिक वर्ष २०७२/०७३ मा   गर्भपतन गराएका सात हजार ८९ जनामध्ये एक हजार ६२९ जना २० वर्षभन्दा कम उमेरका किशोरीहरूले गर्भपतन गराएका छन्।

गर्भपतनको यो तथ्यांलाई हेर्दा कहालीलाग्दो देखिन्छ। नेपालमा १५ वर्षअघि गर्भपतनले कानुनी मान्यता पाएको हो। त्यसबेलादेखि नै गर्भपतन गर्नेको संख्या बढ्दै गएको छ। बढ्दै गइरहेको समाजको आधुनिकता, घरपरिवारको बेवास्ता, कुरकुरे उमेरमा हुने यौन उन्मादका कारण जोशमा होस गुमाएर नचाहँदा नचाहँदै किशोरीहरूले गर्भ बोक्न पुगिरहेका हुन्छन्। यसैले गर्दा गर्भपतन गर्नेको संख्या उकालो चढेको जिल्ला जनस्वास्थ्य कर्यालय दाङका प्रमुख पोख्रेलले बताए। 

आर्थिक वर्ष २०७२/०७३ मा औषधि खाएर २२७, मेसिनले दुई हजार २९४, आयुसिडी प्लान्टबाट गर्भपतन गराउने दुई हजार ४३९ रहेका छन्।  त्यस्तै, आर्थिक वर्ष २०७३/०७४ मा औषधि खाएर एक हजार ४६, मेसिनले दुई हजार ९५७, आयुसिडी प्लान्टबाट ८६२ जनाले गर्भपतन गराएका छन्।  

२०५८ सालसम्म नेपालमा गर्भपतनलाई अपराधका रूपमा मानिन्थ्यो। यसमा संलग्नलाई कडा कारवाही गर्ने कानुनी व्यवस्था थियो। तर बलात्कार जस्तो घटनाले समाजमा धेरै समस्या ल्याएपछि गर्भपतनलाई मान्यता दिइयो। महिला अधिकारकर्मीहरूले समेत यसलाई कानुनी मान्यता दिनुपर्ने आवाज उठाए। 

अहिले जिल्ला जनस्वास्थ्य कार्यालय दाङले दिएको तथ्यांक वैधानिक रूपमा गर्भपतन गराएकाहरूको मात्रै हो। अवैध गर्भपतन गराउने महिलाहरूको संख्या यकिन छैन। चिकित्सकहरूका अनुसार नेपालमा गर्भपतन औषधि खुवाएर वा अपरेसनमार्फत गर्ने गरिएको छ। त्यसमध्ये नौ सातासम्मको औषधिले काम गर्ने भए पनि त्यसपछि अपरेसनमार्फत गर्भपतन गर्नुपर्ने हुन्छ। 

नेपालको कानुनले अहिले १२ सातासम्मको गर्भपतन गराउन छुट दिएको छ। यदि कुनै कारण भए चिकित्सकको सल्लाहअनुसार १८ सातासम्मको गर्भलाई पनि पतन गराउन पाइने कानुनी मान्यता छ। हाडनाता करणी तथा आमाको स्वास्थ्यमा गम्भीर असर पर्ने भएमा अन्य जुनसुकै अवस्थामा पनि गर्भपतन गराउन सकिने कानुनी मान्यता छ। 
यसबाहेक जोखिमपूर्ण अवस्थामा नौ सातासम्म पनि गर्भ रहेको थाहा नभएमा वा कुनै कारणवश नौ सातापछि पनि बच्चा जन्माउन नचाहेमा अपरेसन गरेर गर्भपतन गराउन सकिन्छ। तर तथ्यांकलाई हेर्ने हो भने गर्भपतनका घटना तुलनात्मक रूपमा बढी छन्, जुन तथ्यांक कानुनी मान्यताप्राप्त सरकारी स्वास्थ्य संस्थाको हो। पछिल्ला दिन अविवाहित, विवाहित र २० वर्षमुनिका किशोरीको संख्या अस्वाभाविक बढ्नु राम्रोे नभएको जनस्वास्थ्य कार्यालय दाङका प्रमुख पोख्रेलले बताए। 
गर्भ बसेको थाहा भएलगत्तै एक दुई महिनामै गर्भपतन गराएमा कम जोखिम भए पनि आठ सातापछि गरिने गर्भपतनले महिलालाई गम्भीर असर गर्ने पोख्रेलको भनाइ छ। 

नौ सातापछि औजार प्रयोग गरेर गर्भपतन गराउनुपर्ने भएकाले महिलाको पाठेघरमा घाउ हुने, भ्रुणमा टुक्रा बाँकी बसे त्यसले इन्फेक्सन निम्त्याउने आदि समस्या हुनसक्ने चिकत्सिकहरूको भनाइ छ।  

गर्भपतनपछि नियमित रजश्वला नहुने र गर्भपतनलगत्तै तीन महिने सुई लगाउने वा अन्य औषधि खानुपर्ने हुन्छ, जबकि पहिलो सन्तान अगावै संगिनी सुई लगाउनाले महिलाको डिम्ब निष्काशनलाई पूर्णतः रोकिदिन सक्छ। यसकारण भविष्यमा गर्भ नै नरहन पनि सक्छ। 

गर्भपतनपछि प्रयोग गर्ने औषधि र शारीरिक अवस्थाका कारण महिलाको तौल बढ्नसक्ने उनले बताए।  अझ २० वर्षमुनिका किशोरी, अविवाहित महिलाले बढी गर्भपतन गराउनुले अस्थायी साधन प्रयोगमा त्यति ध्यान नदिएको प्रमुख पोख्रेलको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.