|

रुकुम : नयाँ जिल्ला बनेको रुकुमपूर्वको सदरमुकाम हाल रहेको रुकुमकोटबाट गोलखाडामा तोक्ने सरकारको निर्णयलगत्तै रुकुमकोटवासीहरु आन्दोलनमा जुटेका छन्। बिहीबार सरकारको यस्तो निर्णय बाहिरिएलगत्तै रुकुमकोटवासीहरुले विरोधस्वरुप राति नै मसाल जुलुस निकाएका छन्। त्यसका साथै प्रदर्शन र प्रधानमन्त्री शेरबहादुर देउवाको पुतलासमेत जलाइएको छ। 

मन्त्रिपरिषद्को बैठकले सिस्ने गाउँपालिका–५ र ६, रुकुमकोटमा रहेको सदरमुकाम पुथाउत्तरगंगा गाउँपालिका–१२, को गोलखाडामा सार्ने निर्णय गरेको थियो।

रुकुमकोटबाट सदरमुकाम अन्यत्र सार्न नदिन आफूहरुको आन्दोलन सुरु भएको र निरन्तर जारी रहने स्थानीय केशवचन्द्र समालले बताए। उनका अनुसार जिल्ला प्रशासन सहितका केही सरकारी कार्यालयहरुमा स्थानीयहरुको धर्ना छ भने केही सरकारी कार्यालयहरुमा ताला लगाइएको छ।

नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ताहरुले आफ्नै नेतृत्वको सरकारले आफ्नै नेता कार्यकर्ताहरुको हितविपरीत सदरमुकाम सार्ने निर्णय गरेको भन्दै फेसबुकमार्फत पार्टीबाट राजीनामासमेत दिएका छन्। सुरुमा सिंगो रुकुमको सदरमुकामसमेत रहेको रुकुमकोट ०३० मा रुकुमकोटबाट मुसिकोट सारिएको थियो।

त्यसपछि नयाँ संविधानअनुसार जिल्ला टुक्रिएर ४४ वर्षपछि रुकुमकोट क्षेत्र छुट्टै जिल्ला बन्दा ०७४ असोज २० गतेबाट तत्कालीन इलाका प्रशासन रहेको रुकुमकोटलाई सदरमुकाम तोकेर जिल्ला प्रशासनसहितका अन्य सरकारी कार्यालयहरु स्थापना भई कामकाज सञ्चालन भएको थियो। अहिले ५ महिनापछि कांग्रेस नेतृत्वको सरकारले गोलखाडामा जिल्ला सदरमुकाम तोक्ने निर्णय गर्दा आन्दोनलन सुरु भएको हो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.