अनुभव नै सबैभन्दा ठूलो उपकरण

|

काठमाडौं : डा. सरस्वती पाध्ये चर्चित स्त्री रोग विशेषज्ञ हुन्। ०२२ मा प्रसूतिगृहबाट चिकित्सा सेवामा लागेकी डा. पाध्येले पाँच दशकभन्दा लामो समय चिकित्सा सेवामा नै बिताइसकेकी छन्। 

यसबीच, उनले वीर अस्पताल, नेपालगन्जको भेरी अञ्चल अस्पताल, वीरगन्ज, मातृ शिशु कल्याण परिषद्, प्रसूति गृहलगायत थुप्रै सरकारी अस्पतालमा निर्देशकको रूपमा काम गरिसकेकी छन्। झन्डै आठ दशक उमेर पुगेकी डा. पाध्ये अहिले पनि उही जोस र जाँगरका साथ बिरामीको सेवामा लागेकी छन्। ०५८ मा प्रसूतिगृहबाट अवकाश भएयता उनी १६ वर्षदेखि केएमसी अस्पताल सिनामंगलमा वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छिन्।

०१३ मा पद्मकन्या विद्याश्रमबाट प्रथम श्रेणीमा एसएलसी पास गरेकी डा. पाध्ये त्यसपछि आयुर्वेद पढ्ने मनस्थितिमा आयुर्वेद भर्ना हुन जाँदा शिक्षकले आयुर्वेदमा भर्ना नलिई चिकित्सा शिक्षा पढ्न सल्लाह दिएपछि। चिकित्सा शिक्षा अध्ययन गरेकी थिइन्। ०२२ मा चिकित्सा शिक्षा पूरा गरेकी डा. पाध्ये त्यसयता निरन्तर चिकित्सा सेवामै समर्पित हुँदै आएकी छन्।

पनाति पुस्तासम्म सफल प्रसूति गराउन सफल

प्रसूति सेवाको ५ दशकभन्दा लामो समयमा कति संख्यामा प्रसूति गराए भन्ने उनले लेखाजोखा नराखे पनि उनलाई नाति पुस्तासम्म प्रसूति गारएको अनुभव छ। अहिले उनी भएको ठाउँमा प्रसूति गराउन आउने महिलाले मेरो सासू आमालाई पनि हजुरलेनै प्रसूति गराउनु भएको रे भनेको सुन्दा पो बल्ल उनीलाई साच्चिकै आफूले यो क्षेत्रमा सेवा गरेको लामो समय भएजस्तो अनुभव हुन्छ।

'अहिलेसम्म मैले कति प्रसूति गराएँभन्दा पनि कहिलेकाहीँ म भएको ठाउँमा प्रसूति गराउन आउने महिलाले मेरो सासू वा आफ्नो श्रीमानलाई पनि तपाइलेनै प्रसूति गराउनु भएको रे भनेको सुन्दा पो साच्चिकै मैले सेवा गरेको लामो समय भइसकेछ जस्तोहुन्छ।' उनले भनिन्।

उनले प्रसूति गराएका कतिपय बच्चाहरू अहिले देशको उच्चतहमा पुगिसकेका छन्। कति विदेशी भूमिमा पसिना बगाउँदै छन्। आजसम्म उनलाई आफैँले प्रसूति गराएका नवजात शिशुहरूलाई सुत्केरी आमाहरूले भन्दा पहिले कति संख्यामा अँगालोमा बेरेँ भन्ने सम्झना नभए पनि आफूले प्रसूति गराएर आमाले भन्दा पहिले अँगालोमा बेर्दा लाग्छ। यो पनि दुख पाउन जन्मियो।

उनले भनिन्, 'नवजात शिशुलाई देख्नेबित्तिकै छोरी भए यो आमाजस्तै दुख पाउन आईजस्तो लाग्छ। छोरो रहेछ भने देशले बिदेश पठाउन अर्को कामदार पायो भन्ने लाग्छ।'

८० वर्षे उमेरमा पनि उही जोस्

पुलेको सेताम्य कपाल बूढ्यौली लागेको शरीर त्यही पनि युवा अवस्थाको जस्तै जोस् जाँगरका साथ डा. पाध्ये बिरामीको सेवामा लागेकी छन्। यही मंसिरमा ७८ वर्ष पुगेर ८९ वर्ष लागेकी  उनी हरेक दिन ६ बजे उठ्छिन्। आफ्नो नित्य कर्म सकाएर  ८ बजे अस्पताल पुगिसकेकी हुन्छिन्। यो उमेरसम्म पनि सक्रिय रहन सक्नुको एउटै कारण थोरै खाने र धेरै समय काम गर्ने आफ्नो बानी रहेको डा. पाध्ये बताउँछिन्।

 ' धेरैले मलाई तपाईं यो उमेरमा पनि यति सक्रिय?  भनेर भन्नुहुन्छ। यसको एउटै कारण छ म थोरै खान्छु धेरै काम गर्छु।' उनले भनिन्।

काम नगरी बस्नाले दिमागमा धेरै कुरा खेल्ने र त्यसैको कारण तनाव बढ्दै जाँदा  विभिन्न रोगहरू लाग्ने हुँदा सकेसम्म आफ्नो जीवन सक्रिय राख्नुपर्ने उनको अनुभव छ।

उनका श्रीमान् बितेको ४ वर्ष भइसक्यो। छोरीहरू सबै विदेशतिरै छन्। जसले गर्दा हाल उनी घरमा एक्लै छिन्।  छोरीहरू उनलाई बारम्बार आफूकहाँ आउन आग्रह गर्छन् ‍। तर, उनी भने आफ्नो जिउ ज्यानले भ्याएसम्म नेपालमै बसेर बिरामीको सेवा गर्न चाहन्छिन्।

करिब ८ बजेदेखि ३ बजेसम्म डा . पाध्ये  केएमसी हस्पिटलमै हुन्छिन्। त्यसपछि घर आएर एक घण्‍टा आराम गर्छिन् र बेलुकाको समय डिल्लीबजारमा रहेको आफ्नो क्लिनकमा  बिरामी हेर्छिन्। शाहाकारी भोजन गर्ने डा. पाध्ये बेलुका आठ बजे सुतिसकेकी हुन्छिन्। प्राय दालभात तरकारी र रोटी रुचाउने पाध्य बाँच्‍नको लागि खानेभन्दा पनि स्वस्थ हुनको लागि आवश्यकपर्ने खानेकुरा खाने गरेको बताउँछिन्।

'धेरैजना बाच्नको लागि खानेकुरा खाने गर्छन्। तर, हामीले स्वस्थ हुनको लागि शरीरलाई चाहिने आवश्यक पोषक तत्व भएको खानेकुरा खाऊँ भने शरीरलाई फाइदा हुन्छ, त्यसैले म बाच्नको लागिभन्दा पनि स्वस्थ हुनको लागि खान्छु' उनले भनिन्।

अनुभव नै सबैभन्दा ठूलो उपकरण

२०२८ मा शिक्षा मन्त्रालयको छात्रवृत्तिमा बेलायती विश्वविद्यालयबाट प्रसूति तथा स्त्री रोग विषयमा मेम्बर अफ रोयल कलेज अफ अब्स्ट्रेसिय एन्ड गाइनोकोलोजीसम्बन्धी विशिष्ट तालिम लिएकी डा. पाध्ये बिरामीलाई उपचार गर्ने सबैभन्दा ठूलो उपकरण भनेकै आफूले प्राप्त गरेको अनुभव भएको बताउँछिन्।उनले चिकित्सा सेवा सुरु गर्दा अहिलेको जस्तो भिडियो एक्सरे थिएन, अन्य प्रविधियुक्त उपकरण थिएन। बेलायतबाट लिएको प्रसूतिसम्बन्धी तालिम र पढेको ज्ञानको आधारमा बिरामीको सेवा गर्नुपर्ने अवस्था थियो।

'मैले यस क्षेत्रमा सेवा सुरु गर्दा अहिलेजस्तो उपकरण थिएन दिमागी ज्ञान र तालिममा सिकेको प्रसूतिसम्बन्धी उपचार विधिले बिरामी उपचार गर्नुपर्थ्यो' उनले भनिन्। लामो समयसम्म काम गर्दा कतिपय अवस्थामा आफूले प्राप्त गरेको अनुभव पनि बिरामी हेर्ने महत्पूर्ण उपकरण भएको उनी बताउँछिन्।

पुस्तकनै बिरामी

अहिलेको उपचार पद्धति सजिलो उपकरणमा भरपर्ने खालको भएको डा. पाध्येको अनुभव छ। अहिलेका चिकित्सकहरूले बिरामीलाई नजिकबाट नियालेर हेर्नुभन्दा पनि उपकरणमै भरपर्ने र आनावश्यक ल्याब टेष्टहरू गरेर बिरामीलाई दु:ख दिने गरेको उनको बुझाइ छ।

बिरामीको कुरालाई चिकित्सकले राम्रोसँग सुन्ने र उनको पहिलेको अवस्थाबारे राम्रोसँग चिकित्सकले सोध्नसके आधा उपचारविधि बिरामीबाटै निस्कले डा. पाध्येको अनुभव छ।

'बिरामी हाम्रो पुस्तक हो, समय दिएर राम्रोसँग बिरामीको अवस्थाबारे बुझ्‍नसके आधा उपचार पद्धति बिरामीबाटै निकाल्न सकिन्छ, आजभोलि चिकित्सकले बिरामीको कुरा सुन्नुभन्दा अनावश्यक टेष्ट धेरै गर्ने गर्छन्।' उनले भनिन्।

 ५ दशकदेखि निरन्तर अपडेटेड

झट्ट हेर्दा फूलेको कपाल बूढेसकालको शरीर भएर होला डा. पाध्यसँग उपचारका लागि आउने केही बिरामीले सुरुमा यस्तो डेट एक्सपायर डाक्टर भनेर वास्ता नगरेको उनी बताउँछिन् तर यस्तो वेलामा बिरामीको प्रतिक्रियालाई उनी सामान्य लिन्छिन्।   

'हरेक मानिसको आ- आफ्नै बुझाइ हुन्छ। झट्ट हेर्दा म कसैको नजरमा डेट एक्सपायर डाक्टर हुन सक्छु तर अचम्म त के छ भने प्राय: मलाई डेट एक्सपायर डाक्टर भन्नेहरूनै मेरो सेवाप्रति प्राय: खुसी भएको पाउँछु।' उनले भनिन्।

जीवनको कालखण्डमा सक्रिय रहेर कामगर्नु आफैँमा पनि अनुकरणीय छ। आफूले चिकित्सकीय सेवा सुरु गरेको बेला र अहिलेको उपचार पद्धति धेरै फरक भए पनि धेरै सजिलो भएको उनको बुझाइ छ। नेट, इन्टरनेट  विभिन्न खालका जर्नलहरू सजिलै उपलब्ध हुन्छ। निरन्तर अध्ययन गरी अपडेटेड हुन सजिलो छ।

आफूले चिकित्सा सेवा गरेको समयमा अध्ययनको बेलामा पाएको दिमागी ज्ञान र अनुभवले मात्र उपचार गर्ने गरेकोमा अहिले उचारमा सहयोग गर्ने वा विद्यार्थीलाई पढाउन आवश्यक लेख रचनाहरू इन्टरनेटमानै उपल्बध भएकाले पनि अहिले सजिलो हुने गरेको उनको अनुभव छ।

हप्तामा एक दिन प्रोष्ट ग्रयाजुटका विद्यार्थीलाई पढाउने डा.पाध्ये विद्यार्थीलाई पढाउनकै लागि भने पनि अपडेटेट हुनु पर्ने हुन्छ। यस्तो बेलामा उनले त्यही इन्टरनेट, विभिन्न जर्नलहरूमा छापिएका लेखहरू पढ्ने गर्छिन्।'विद्यार्थीहरूलाई पढाउनकै लागि पनि निरन्तर अपडेटेट हुनु पर्छ। त्यसैले इन्टरनेट र विभिन्न जर्नलहरूमा उपलब्ध लेखहरू पढ्ने गर्छु, कतिपय समयमा विद्यार्थीबाट उपलब्ध गराएका रिसर्च सामाग्रीबाटै पनि अपडेटेट हुन्छ।' उनले भनिन्।

'विद्यार्थीहरूलाई पढाउनकै लागि पनि निरन्तर अपडेटेट हुनुपर्छ। त्यसैले इन्टरनेट र विभिन्न जर्नलहरूमा उपलब्ध लेखहरू पढ्ने गर्छु, कतिपय समयमा विद्यार्थीबाट उपलब्ध गराएका रिसर्च सामाग्रीबाटै पनि अपडेटेट हुन्छ।' उनले भनिन्।

सम्म पनि सक्रिय रूपमा चिकित्सा पेशामानै रहेकी डा. पाध्येलाई जीवनमा अब कुनै ठूलो अपेक्षा भन्दा पनि आफूसँग उपचार गर्न आउने बिरामीलाई सफल उपचारपछि घर पठाउने र आफ्नो अनुभव आफ्ना विद्यार्थीलाई जीवनको अन्तिम क्षणसम्म बाढ्ने ठूलो महत्वकांक्षा रहेको उनले बताइन्।

'जबसम्म मलाई माथिबाट भगवानले बोलाउनुहुन्न त्यतिवेलासम्म मेरा विद्यार्थी र बिरामीको उपचार गरिरहन सकेँ भने अबको मेरो जीवनको सबैभन्दा ठूलो उपलब्धि आशा छ जीवनको अन्तिम क्षणसम्म पनि बिरामीसँगै रहन पाऊँ।' उनले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.