तोरीको पिना मात्रै ४३ करोडको निर्यात

|

विराटनगर : आद्यौगिक कच्चा पदार्थ भित्रिने नाकाको रुपमा परिचित विराटनगर भन्सार कार्यालयलाई गएको ६ महिनामा राजस्वमा बढी योगदान भने मोटरसाइकलले दिएको देखाएको छ। आर्थिक वर्ष ०७४/७५ को ६ महिनाको अवधिमा भारतबाट विराटनगर हुँदै १२ हजार १ सय ७४ मोटरसाइकल भित्रिएको छ।

भन्सार कार्यालयले बिहीबार उपलब्ध गराएको तत्थ्यांकअनुसार गत आर्थिक वर्ष ०७३÷७४ मा विराटनगरबाट १४ हजार ७ सय ९१ वटा मोटरसाइकल भित्रिएको थियो। गत वर्षको अनुपातमा यो वर्ष मोटरसाइकल आयात अझै बढ्ने अनुमान छ। गत वर्ष विराटनगर भन्सार कार्यलयबाट उठ्ने राजस्वमा सबैभन्दा बढी मोटरसाइकलले ९ दशमलव ९ शून्य प्रतिशत योगदान गरेको थियो।

गत वर्ष मात्रै १ अर्ब ८ करोड ३४ लाख मूल्यका मोटरसाइकल भित्रिएको थियो। उक्त मोटरसाइकलबाट १ अर्ब १० करोड ६१ लाख राजस्व संकलन भएको थियो। यो वर्ष ६ महिनाकै अवधिमा भने ८८ करोड २४ लाख ७१ हजार मूल्य बराबरको मोटरसाइकल भित्रिएको छ। उक्त मोटरसाइकलबाट भन्सार कार्यालयले ९१ करोड ९ लाख ६९ हजार राजस्व संकलन गरेको छ।

कार्यालयले दिएको पुस महिनासम्मको तथ्यांकमा मोटरसाइकलको पैठारीले सबैभन्दा बढी ६ दशमलव ३४ प्रतिशत योगदान गरेको छ। मोटरसाइकलपछि हाइस्पिड डिजलको योगदान ५ दशमलव ८०, पेट्रोलको ३ दशमलव ५७, पोलियन दानाको ३ दशमलव ३६ र तयारी कपडाले २ दशमलव ०९ प्रतिशत योगदान देखिएको छ।

यसैबीच, विराटनगर भन्सार कार्यालयले ६ महिनाको अवधिमा लक्ष्यअनुसार राजस्व संकलन गर्न  सकेको छैन। कार्यालयले यस वर्षको पुस मसान्तसम्ममा १३ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। कार्यालयले उल्लेखित अवधिमा १४ अर्ब ३७ करोड २६ लाख रुपैयाँ संकलन गर्ने राखेको थियो। लक्ष्यका तुलनामा ९६ दशमलव २६ प्रतिशत मात्र प्रगति हासिल भएको कार्यालयले जनाएको छ।

गत साउन २८ र २९ गतेको भीषण बाढीपछि विराटनगर भन्सारको राजस्व असुली प्रभावित भएको हो। कार्यालयका प्रमुख मिमांस अधिकारीले बाढीका कारण साउन र भदौ महिनामा लक्ष्य हासिल नभएपछि त्यसको असर अर्धवार्षिक लक्ष्यमा परेको बताए। यसैगरी, बाढीका कारण सीमावर्ती भारतीय क्षेत्रको मीरगञ्ज खोलाको पुल भत्किएपछि व्यवसायीले रिरुट गर्दै भीमनगर–कोसी ब्यारेज नाकाबाट आयात–निर्यात गरिरहेका छन्।

पुलको सामान्य मर्मतपछि जोगबनी नाकाबाट २० मेट्रिक टनसम्मको मात्र ढुवानी गत मंसिर महिनादेखि सुरु भएको छ। जसअनुसार जोगबनी नाकाबाट सानो परिमाणका लोकल पैठारीका मालसामान र पेट्रोलियम पदार्थ मात्र आयात भइरहेको छ। पुल र रिरुटका कारण कतिपय व्यवसायीले विराटनगर नाका छाडेर काँकडभिट्टा र भैरहवा नाकाबाटसमेत कारोबार सुरु गरेको भन्सार कार्यालयको भनाइ छ।

पिना मात्रै ४३ करोडको निर्यात

विराटनगर भन्सार नाकाबाट मात्रै ६ महिनामा करिब ४३ करोड रुपैयाँ बराबरको पिना भारत निर्यात भएको छ। भन्सारको तथ्यांकअनुसार साउनदेखि पुस मसान्तसम्ममा जोगवनी नाकाबाट ४२ करोड ८१ लाख ८८ हजार मूल्य बराबरको पिना भारत निर्यात भएको छ।

पिना निर्यातबाट विराटनगर भन्सार कार्यालयले यो अवधिमा पैठारी महसुलबापत् ५९ लाख ७९ हजार रुपैयाँ असुली गरेको छ। पिनाको प्रतिकिलोमा ५० पैसा पैठारी महसुल लाग्छ।

आयात–निर्यात हुने मुलुककै ठूला नाकामध्येको विराटनगर भन्सार कार्यालयबाट निर्यात हुने टप १२ वस्तुमा पिना पर्दछ। यो नाकाबाट निर्यात हुने टप १२ वस्तुमध्ये भेनियर सिट, वनस्पतिका उत्पादनहरु, चोकर–भुस, जुटका बुनिएका कपडा, अलैँची, सेन्थेटिक यार्न, जुटको बोरा–झोला, रेसाको कपडा, मुसुराको दाल, जिआई वायर र सनपाटको धागोमा पिना पनि पर्दछ।

गत आर्थिक वर्षको साउनदेखि पुस मसान्तमा विराटनगर भन्सार नाकाबाट ३५ करोड २२ लाख ७७ हजारको पिना भारत निर्यात भएको छ। विराटनगर भन्सारले पिनाको निर्यातबाट यो अवधिमा ५४ लाख ३५ हजार रुपैयाँ पैठारी महसुल असुली गरेको प्रमुख मिमांश अधिकारीले जानकारी दिए। मल, गाईवस्तुको चोकर र कुखुराको दानामा पिना प्रयोग हुन्छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.