|

उदयपुर : पूर्वी नेपालको ऐतिहासिक त्रिवेणी मेलामा वर्षाैंदेखिको मुख्य आकर्षण मानिने ओखलढुंगाको राडी–पाखीको व्यापार घट्दै गएको छ। ओखलढुंगाको राडी–पाखी, सिन्धुलीको जुनारको मुख्य व्यापारी केन्द्र मानिने त्रिवेणी मेलामा दुवैको व्यापार गत वर्षदेखि घट्दै गएको हो।

विगतका वर्षहरूमा लाखौँ रुपैयाँको व्यापार हुने भए पनि गत वर्षदेखि ५० हजार रुपैयाँभन्दा तल झरेको व्यापारीहरूको भनाइ छ। ‘चार वर्षअघि मैले यहीँ आएर एक दिनमा ५० हजारसम्मको राडी–पाखी बेच्ने गरेको थिएँ’, यस वर्ष ओखलढुंगाबाट त्रिवेणी मेलामा राडी–पाखी लिएर व्यापार गर्न आएका हर्कबहादुर गुरुङले भने, ‘यस वर्ष आएको नौ दिनमा ४० हजारको मात्र बिक्री भएको छ, वर्सेनि व्यापार घट्दै गएको छ।’ 

चार वर्षअघि दर्जनौँ राडी–पाखीका स्टल हुने भए पनि यस वर्ष दुईवटा मात्र छन्। ग्राहकहरूले राडी–पाखीमा ध्यान दिन छाडेको गुरुङको अनुभव छ। हिन्दू संस्कारअनुसार जन्मदेखि मृत्यु संस्कारसम्म चोखो र अनिवार्य मानिने राडी–पाखीको त्रिवेणी मेलामा विभिन्न कारणले व्यापार घटेको बताउँछन्। गाउँगाउँमा पनि सडक सञ्जाल पुगेपछि त्रिवेणी मेलामा घटेको कटारी नगरपालिका– २ स्थानीय मेघबहादुर कार्कीले बताए। ‘पहाडतिरका सबै गाउँमा सडक पुगेका छन्’, उनले भने, ‘सडकले गाउँमै व्यापार हुने भएपछि त्रिवेणी मेला पहिलाको भन्दा कम हुन थालेका हो।’ भेडीको रौँ अर्थात् ऊनबाट राडी–पाखी बनाइन्छ।

उदयपुरको कटारी र सिन्धुलीको दूधौली नगरपालिकाको सीमा क्षेत्रमा पर्ने ककुर, तावा र कमला नदीको संगमस्थल त्रिवेणी घाट खोक्साको बगर लाग्ने मेला यस वर्षदेखि दुईतिर लागेको छ। धार्मिकहरू मेला उदयपुरको भूभागमा लाग्ने भए पनि दूधौली नगरपालिकाले पनि आप्mनो क्षेत्रमा लगाएपछि सिन्धुलीका व्यापारी कटारी क्षेत्र भूभागमा आउन पाएका छैनन्। 

धार्मिकस्थलमा परिचित त्रिवेणीमा लाग्ने मेलामा सिन्धुलीका व्यापारीहरूले सिन्धुलीको जुनारसमेत नल्याएको बताइएको छ। ‘दूधौलीले पनि मेलाको आयोजना गरेको छ’, केदार धमलाले भने, ‘सिन्धुलीबाट व्यापारीहरू त्रिवेणी मेला छिर्न नपाएपछि सिन्धुलीको जुनार यता आएन अनि यस वर्ष व्यापार घटेको हो।’

माघ १ गतेदेखि सुरु भएको मेला १५ गतेसम्म लाग्ने गर्छ। मेला सुरु भएको १० दिनभित्र चार लाखभन्दा बढी भक्तजनले त्रिवेणी धामको दर्शन गरेको आयोजकको भनाइ छ। माघ १ गतेदेखि माघ १० गतेसम्म पूर्वका विभिन्न जिल्ला, भारत र राजधानी काठमाडौंका भक्तजनले दर्शन गरेको मेला आयोजक विवेक तामाङले बताए। ‘त्रिवेणी धाममा नुहाउने र त्रिवेणीको कमलेश्वर मन्दिरमा पूजा गर्ने भक्तजनको भीड बढेको छ’, उनले भने, ‘गएको वर्षदेखि त्रिवेणी मेलाको मुख्य आकर्षण मानिने ओखलढुंगाको राडी–पाखी, सिन्धुलीको जुनार, खोटाङको भोटे कुकुरको व्यापार हुन छाडेको छ।’

त्रिवेणी घाटमा भाकल गरेअनुसारको पूजा आराधना गरे मनको इच्छा पूरा हुने जनविश्वास छ। मेलामा जडिबुटीहरू बेच्न संखुवासभाबाट समेत आइपुगेका छन्। मेलामा सोलखुम्बुको भोटे घोडाको दौड प्रतियोगिता, खोटाङे भोटे कुकुर, ओखलढुंगाको राडी–पाखी, सिन्धुलीको जुनार र स्थानीय उत्पादन मुख्य व्यापार हुने गरे पनि गत वर्षदेखि घट्दै गएको छ। 

मेलाकै अवसरमा विभिन्न हिन्दू धर्मावलम्बीहरूले विभिन्न भागवत पुराणलगायतका धार्मिक कार्य गर्ने गर्छन्। सगरमाथा अंचलका पहाडी जिल्लाहरू ओखलढुंगा, खोटाङ, सोलुखुम्बुलगायत क्षेत्रका स्थानीय उत्पादन बिक्री गर्ने बजार र तराईबाट लैजानुपर्ने नुन, चामललगायत सामग्री किनेर लैजाने चर्चित व्यापारिक मेलामा त्रिवेणी मैनी मेला परिचित छन्। पहाडी क्षेत्रमा समेत सडक पुगेपछि व्यापारिक महत्त्व घट्दै गएको छ भने धार्मिक महत्त्व बढेर गएको सर्वसाधरणको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.