विचार

समाजवाद : विश्व सन्दर्भ र नेपाल
SHARES

माघ १२, २०७४

    समाजवाद के हो? वास्तवमा समाजवाद भनेको के हो? कस्तो राज्यलाई समाजवादी राज्य भन्ने? यी विषयमा विद्वानहरूका विचार पनि फरक फरक छन्। अझ हामीले समाजवाद उन्मुख राज्य बनाउन चाहेका छौँ। कस्तो राज्यलाई समाजवाद उन्मुख राज्य भन्ने? यस विषयमा विचार विमर्श हुनु पनि स्वाभाविकै हो। 

    समाजमा दुई किसिमका विचार भएका मानिसहरू हुन्छन्, अध्यात्मवादी र भौतिकवादी। अध्यात्मवादी समाज र समाजभन्दा पर केही छ भन्ने विश्वास गर्छन्। उनीहरूमा संसार भौतिक संरचना होइन, त्यसभन्दा पर केही तत्त्व छ, त्यसले पनि कुनै न कुनै रूपमा काम गरेको छ भन्ने विश्वास गर्छन्। भौतिकवादीहरू विशुद्ध समाज भौतिक संरचनाले सञ्चालित छ। सबैथोक भौतिक नै हो भन्ने विश्वास गर्छन्। 

    वास्तवमा समाजवादमा समानता हुन्छ। भौतिकवादीहरूले समाज दैवी संरचनाले होइन, भौतिक संरचनाले बनेको हुन्छ। समाजका सदस्यहरूको सर्वाधिक कल्याण गर्नु नै समाजवाद हो। समाजमा बसोवास गर्ने सबै सदस्यहरूको जीविकोपार्जन, वृत्ति विकासका लागि राज्यले व्यवस्था गर्नुपर्छ भन्ने धारणा राख्छन्। कतिपय विद्वानहरूले वेदमा समाजवादको परिभाषा भएको बताउँछन्। परापूर्वकालमा जुन राज्यको स्थापना भयो, त्यसबेला धर्म कानुनबाट सञ्चालन भएको थियो। वास्तवमा त्यसबेला समाजवाद लागू भएको देखिन्छ। कालान्तरमा गएर दार्शनिक प्लेटोको सिद्धान्तमा पनि समाजवादको गन्ध आउँछ। उनको समयमा समाजवादको झल्को देखिन्छ। समाजवादको विषयमा अहिले आआफ्नो तरिकाले परिभाषा आउने गरेका छन्। सबैको धारणा मन्थन गर्ने हो भने समाजवाद के हो, के होइन? छुट्याउन कठिन भएको छ। 

    समाजवाद फासिष्ट र प्रजातन्त्रवादीहरू सबैको साझा जस्तो भएको छ। फासिष्ट र अधिनायकवादीहरूले पनि आफ्नो अर्थ व्यवस्थालाई समाजवादीको संज्ञा दिएका छन्। आफ्नो तरिकाले समाजवादको परिभाषा दिए पनि परिभाषा जति व्यापक र पृथक छ, त्यसलाई चिनाउन गरिएको परिभाषा झन कठिन छ। जे होस्, विश्वको इतिहास हेर्दा समाजवाद कहाँबाट आयो र कहाँ लागू भयो? यस विषयमा केही कुरा राख्नु सान्दर्भिक हुन्छ।

    सर्वप्रथम युरोपमा औद्योगिक क्रान्तिले समाजमा मालिक र मजदुर वर्गको सृष्टि गरिदियो। समाजमा दुई वर्गका मानिसहरूको जन्म भयो। त्यसबाट शोषण र उत्पीडन बढ्दै गयो। समाजमा बसोवास गर्ने सदस्यहरूको आर्थिक, सामाजिक सम्बन्ध नै फरक पर्न गयो। हुने खाने मानिस र गरी खाने मानिसको बीचको सम्बन्धको  दूरी टाढिँदै गयो। एकआपसमा सामाजिक सम्बन्धको खाडल देखिन थाल्यो। सबै हैसियत भिन्न भयो। आर्थिक, राजनीतिक सबैमा मालिक र मजदुरको जीवनशैली रहनसहन सबैमा फरक फरक हुन गयो। सामन्ती युगभन्दा पूँजीवादी युगमा श्रमिकहरूको जीवन कठिन हुँदै गयो।

    सम्पूर्ण पश्चिमी युरोप र पूर्वी युरोपको रुससम्म पनि समाजवादी आन्दोलन फैलियो तर आन्दोलनको स्वरूप विभिन्न मुलुकमा विभिन्न प्रकारको थियो। मुख्यतः प्रजातान्त्रिक पद्धतिद्वारा क्रमिक गतिले समाजवादका लक्ष्य हासिल गर्ने दिशामा नै त्यो आन्दोलन चलिरहेको थियो। तर लेनिनलाई त्यस्तो पद्धतिबाट समाजवाद कायम हुनसक्छ भन्ने कुरामा विश्वास भएन।

    युरोपको औद्योगिक क्रान्तिले समाजमा मालिक र मजदुर वर्गको सृष्टि गरिदियो। त्यसबाट शोषण र उत्पीडन बढ्यो, समाजको आर्थिक र सामाजिक सम्बन्ध नै फरक पर्न गयो। सामन्ती युगभन्दा पनि पूँजीवादी युगमा श्रमिकहरूको जीवन कठिन भयो। त्यो विषमता देखेर केही चिन्तकहरूले सामाजिकताको चिन्तन गरे अर्थात् उत्पादनको प्रक्रियामा आम जनताको नियन्त्रण हुने र सरकार पनि पूँजीपतिहरूको प्रभावबाट मुक्त भएर सर्वसाधारणको सम्पतिअनुसार चल्ने परिकल्पना गरे। 

    समाजवादको सामान्य आदर्श यही थियो। तर यति मात्र चाहिँ अस्पष्ट कल्पना मात्र हुनसक्थ्यो। त्यसकारण जब खुट्याएर भन्नुपर्ने भयो अनि विचारधारामा पृथकता देखिन थाल्यो। कसैले उत्पादनका साधनहरूलाई पूर्ण राष्ट्रियकरण गरेर मात्र समाजवाद ल्याउन सकिन्छ भने कसैले प्रमुख उद्योगहरूलाई राष्ट्रियकरण गर्ने र अरू उद्योगमा राज्यको नियन्त्रण मात्र रहनाले समाजवादीको लक्ष्य हासिल गर्न सकिन्छ भने। कसैले दह्रो र केन्द्रीकृत राज्यको नियन्त्रण र आर्थिक निर्देशनले समाजवाद कायम गर्न सकिन्छ भने। कसैले भने राज्यले समाजवादी योजना बनाएर तदनुसार बजार व्यवस्थापन चलाउन दिँदा पनि समाजवादको लक्ष्य हासिल गर्न सकिन्छ भन्ने तर्क पेस गरे। विद्वानहरूको बीचमा फरक फरक मत आउन थाल्यो। सबैको उद्देश्य समाजमा समानता कायम गर्नु नै हो।

    समाजवादी राज्य व्यवस्थामा समाजको स्वरूप कस्तो हुने भन्ने विषयमा पनि विभिन्न धारणा रहेका छन्। कुनै विकेन्द्रीकृत शासन प्रणालीको पक्षमा छन् भने कुनै पूर्ण केन्द्रीकृत शासन प्रणालीको पक्षमा रहेका छन्। त्यस्तै उत्पादनको वितरण प्रणालीमा पनि समाजवादीहरूका पृथक धारणा छन्। कुनै राष्ट्रिय आयलाई पूर्णतः बराबर बाँड्ने पक्षमा छन् भने कुनै वितरणमा भेदभाव कम गर्दै जान चाहन्छन् त कुनै जीविकाका लागि पुग्ने रोजगारीको प्रत्याभूति गर्ने पक्षमा मात्र छन्।

    समाजवादका यी विभिन्न धारणा र कदाचित् परस्पर जोडिन नसक्ने विपरीत दिशामा यी धारणा बहकिएको देखेर फासिष्ट एवं सैनिक तानाशाहरूलाई पनि समाजवादभित्र आफू अटाउने ठाउँ मिल्यो। उनीहरूले पनि आफ्नो शासन प्रणालीलाई समाजवादी भन्ने दुस्साहस गरे। त्यस कारण समाजवाद के हो? भन्ने प्रश्नको साथ समाजवाद के होइन? भन्ने प्रश्न पनि खडा भएको हो। 

    विगत डेढ सय वर्षदेखि आधुनिक अर्थमा समाजवादको एक अविच्छिन्न इतिहास छ। यद्यपि, विद्वानहरू वेद र प्लेटोमा पनि समाजवादको गन्ध पाउँछन्। समानताको भावना कुनै न कुनै रूपमा जहिले पनि रह्यो होला, सामाजिक दृष्टिले सोच्ने महामानवहरूबाट कुनै काल र देश वञ्चित रहेन होला। तर समाजवाद एक आन्दोलनको रूपमा उनाइसौँ शताब्दीको द्वितीय चरण लागेदेखि नै फैलिन थालेको हो। तर ती आन्दोलन मानौँ, सानासाना र दिशा स्पष्ट नभएका गल्लीहरूबाट चलिरहेका थिए।

    त्यस्तै उन्नाइसौँ शताब्दीको आधाआधीपछि मार्क्स उदीयमान भए र एउटा उज्यालो राजमार्ग खोलिदिए। यसपछि समाजवादी आन्दोलन अघि बढ्यो। उनीभन्दा पहिलेका समाजवादी विचारक अधिक काल्पनिक र आदर्शमा अडिएका थिए, मार्क्सले समाजवादलाई अधिक वैज्ञानिक रूप दिए। युरोपमा समाजवादी आन्दोलन अघि बढाउन कामदारहरूको पहिलो अन्तर्राष्ट्रिय संगठन पनि बन्यो, जसलाई समाजवादी प्रथम अन्तर्राष्ट्रिय भन्ने चलन छ, यो संगठन केही समय चल्यो र भंग भयो। पुनः दोस्रो समाजवादी अभियान उन्नाइसौँ शताब्दीको अन्त्यपछि खडा भयो। त्यति बेलासम्म युरोपका मुलुकहरूमा समाजवादी संगठनहरू खडा भइसकेको हुनाले ती सबै राष्ट्रिय समाजवादी संगठनहरू संयुक्त अन्तर्राष्ट्रिय संगठनको रूपमा देखापरे। 

    सम्पूर्ण पश्चिमी युरोप र पूर्वी युरोपको रुससम्म पनि समाजवादी आन्दोलन फैलियो तर आन्दोलनको स्वरूप विभिन्न मुलुकमा विभिन्न प्रकारको थियो। मुख्यतः प्रजातान्त्रिक पद्धतिद्वारा क्रमिक गतिले समाजवादका लक्ष्य हासिल गर्ने दिशामा नै त्यो आन्दोलन चलिरहेको थियो। तर लेनिनलाई त्यस्तो पद्धतिबाट समाजवाद कायम हुनसक्छ भन्ने कुरामा विश्वास भएन। उनले क्रान्तिद्वारा सत्ता पल्टाउने र समाजवाद लागू गर्ने नीति लिए। त्यसै प्रकारको क्रान्तिकारी संगठन खडा गरे। उनलाई विश्वास थियो कि रुसमा क्रान्तिद्वारा सत्ता पल्टाएपछि अरू युरोपेली मुलुकहरूले पनि त्यही नीति अपनाउनेछन्। तर कसैले पनि अपनाएनन्। यसै रुसी समाजवादको नाम कम्युनिज्म हो। 

    तेस्रो समाजवादी अन्तर्राष्ट्रियलाई कम्युनिष्टहरूले कब्जा गरेकाले त्यो तेस्रो कम्युनिष्ट अन्तर्राष्ट्रिय मानियो। त्यसपछि समाजवादी आन्दोलनमा भेद पस्यो। समाजवादी संगठनहरूका साथ कम्युनिष्ट संगठनहरू पनि युरोपका मुलुकहरूमा र क्रमशः विश्वका सबैजसो मुलुकमा खडा भए। हिटलर र मुसोलिनी आआफ्नो प्रभाव क्षेत्रभित्र ती दुई संगठनलाई विकास गर्न समर्थ भए। सायद समाजवादी आन्दोलनमा त्यही फुट आएको कारणले यसो भयो। 

    दोस्रो विश्वययुद्धपछि पश्चिमी युरोपमा समाजवादी धारणामा परिवर्तन आयो। पूर्वी युरोपमा त सर्वसत्तावादी कम्युनिष्ट राज्य कायम भइसकेको थियो। समाजवादीहरू पनि अरू आआफ्नो देशका राष्ट्रिय पार्टीहरूमा मिलेर देश निर्माणमा लाग्न थाले। उनीहरूले संघर्ष र आन्दोलनको बाटो छोडेर जनमतको निर्माण मान्ने अर्थात् चुनाव पद्धतिमा विश्वास गरेर लोककल्याणकारी राज्य खडा गर्ने न्यूनतम कार्यक्रममा सामेल हुने बाटो अपनाए। जुन पश्चिमी युरोपमा समाजवाद उब्जियो र विकसित भयो, त्यहीँ त्यसले आफ्नो स्वरूप पदल्नुपर्‍यो। एक त समाजवादको नाममा रुसी कम्युनिष्टहरूले सर्वसत्तावाद कायम गरिदिए, अर्को अति निरंकुश सत्तावादीहरू शासनमा आए, तिनले पनि आफ्नो उद्देश्य समाजवाद घोषित गरिदिए। फलतः पश्चिमी युरोपका सच्चा समाजवादीहरू नाम मात्रका समाजवादी रहे। तिनको उद्देश्य लोककल्याणकारी राज्यको स्थापनाभन्दा पर जान सक्ने या जाने ठाउँ देखिएन। 

    एसिया आदि अरू महादेशमा त समाजवादी पार्टीहरू भए पनि तिनले कहिल्यै जरो हाल्नसकेका होइनन्। अब नेपालको समाजवादबारे बहस र चर्चा हुनु स्वाभाविकै हो। नेपाल बहुजातीय, बहुभाषिक देश हो। यहाँ समाजमा बस्ने मानिसहरूको बीचमा देखिएको भिन्नतालाई हटाउँदै सबै समाजका सदस्यहरूको वृत्ति विकासका लागि राज्यले योजना बनाई सबैलाई समान अवसर दिएमा वास्तवमा समाजवादको कल्पना गर्न सकिन्छ।

बंशीकुमार शर्मा

शर्मा दाङमा बसेर पत्रकारिता गर्छन्।
 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]