|

काठमाडौं : प्रेस सेन्टर नेपालले दिवंगत वरिष्ठ पत्रकारहरू शक्ति लम्साल र तारा न्यौपानेको स्मृतिमा पुरस्कार स्थापना गरेको छ। शुक्रबार बसेको सेन्टरको सचिवालय बैठकले ‘शक्ति–तारा स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय गरेको हो। 

सेन्टरले उक्त पुरस्कार संगठनको १४ औं स्थापना दिवसको अवसरमा एक जना वरिष्ठ पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ। बैठकले माघ १५ गते जलपान समारोह गरेर स्थापना दिवस मनाउने निर्णय गरेको बैठकपछि सेन्टरका महासचिव विष्णु सापकोटाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। १० हजार राशी रहेको पुरस्कार छनौटका लागि सेन्टरका उपाध्यक्ष बलराम थापाको संयोजकत्वमा कमल गिरि, मनोज घर्तीमगर, मनिषा श्रेष्ठ र बबिता पौडेल सदस्य रहेका पाँच सदस्यीय पुरस्कार छनौट समिति गठन गरेको छ। वरिष्ठ पत्रकार तथा साहित्यकार शक्ति लम्सालको ७९ वर्षको उमेरमा २५ कात्तिक २०७२ मा निधन भएको थियो। अर्का वरिष्ठ पत्रकार तारा न्यौपानेको ५६ वर्षको उमेरमा २६ पुस २०६८ मा निधन भएको थियो।

यस्तै, सेन्टरले १४ औं स्थापना दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ। स्थापना दिवसकै दिन नेपाल प्रेस सोसाईटीलगायतका संगठनहरूसँग संगठनात्मक एकता घोषणा गर्ने निर्णय गरिएको महासचिव सापकोटाले जानकारी दिए। काठमाडौंमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा १५ गते विहान ८ बजे तीनकुनेस्थित सिद्धार्थ कटेजमा कार्यक्रम गरिने जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.