|

तनहुँ : नेपालकै लोपोन्मुख आदिवासी जनजाति राजामामा कुसुण्डाले आदिवासी जनजाति युवा महासंघ नेपालको ७औँ राष्ट्रिय सम्मेलन उद्घाटन गरेका छन्।

‘अधिकार र रोजगारीका लागि हाम्रो आन्दोलन, पहिचानको आधारमा प्रदेशको नामांकन र सीमांकनको लागि सातौँ राष्ट्रिय सम्मेलन’ भन्ने नारासहित आयोजित राष्ट्रिय सम्मेलनको नेपालकै लोपोन्मुख जातिको भाषा बोल्न सक्ने तनहुँका राजामामा कुसुण्डाले उद्घाटन गरेका हुन्। 

कार्यक्रममा बोल्दै उनले आफू नेपालकै एक्लो भाषा बोल्न सक्ने व्यक्ति भएकाले यसको संरक्षणका लागि सरकार र आदिवासी जनजातिले सहयोग गर्नुपर्ने बताए। कुसुण्डा जातिको भाषा र संस्कृति संरक्षण गर्नुपर्ने भए पनि अन्य क्षेत्रमा बसोवास गर्ने कुसुण्डाहरू नै आफ्नो सम्पर्कमा नआएको उनले बताए। 

‘आफ्नो भाषा र संस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने हुन्छ, तर कोही पनि सम्पर्कमा आउँदैनन्’, उनले भने, ‘त्यसैले आदिवासी जनजातिले नै भाषा र संस्कृतिको संरक्षण गरिदनुपर्छ।’

क्षेत्र नम्बर– ३ का प्रत्यक्षतर्फका प्रतिनिधिसभाका सांसद कृष्णकुमार राईले संघीयता लागू भइसकेकाले आदिवासी जनजातिको बाहुल्यअनुसारको प्रादेशिक क्षेत्र कायम गर्न पहल गर्ने बताए। पार्टीगत नभई आदिवासी जनजातिको बाहुल्यको आधारमा समावेश गर्न पहल गर्ने राईले प्रतिबद्धता जनाए। 

कार्यक्रममा प्रदेश– ४ की सांसद सरिता गुरुङले आदिवासी जनजातिहरू यो जातिको त्यो जातिको नभनी एक भएर मजबुत हुने समय आएको बताइन्। राज्यले समावेश गर्न नसकेका आदिवासीहरूको माग कार्यान्वयन गर्न आफूले विशेष भूमिका निर्वाह गर्ने गुरुङको भनाइ थियो। 

कार्यक्रमका वक्ताहरूले प्रदेशको नामांकन र सीमांकन जातीय र स्थानको पहिचानका आधारमा गर्नुपर्नेमा जोड दिएका थिए। आदिवासी जनजाति युवा महासंघ नेपालका अध्यक्ष घमानसिंह (जी.एस.) गुरुङको अध्यक्षतामा भएको थियो। सम्मेलन शनिबारसम्म चल्नेछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.