बाँकी ३ सय ३० मिटर सुरुङ खन्न अझै तीन महिना लाग्ने

|

सिन्धुपाल्चोक : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेसँगै दोस्रो चरणमा निर्माण हुन लागेका याङ्ग्री र लार्के खोलाबाट पानी ल्याउने योजनाको पनि डिपिआर तयार भइरहेको छ। याङ्ग्री र लार्केबाट १७ करोड लिटरका दरले सिन्धुपाल्चोकबाट काठमाडौं लैजाने योजनाको  साथ कामको सुरु भएको हो।

आगामी वर्षभित्रमा याङ्ग्री र लार्के खोलाको डिपिआर तयार हुने आयोजनाले बताएको छ। लार्के र मेलम्ची खोलाबीचको ११ किमीमा सुरुङ निर्माण गरी ती दुवै खोलाको पानी अहिले निर्माण भएको मेलम्चीको सुरुङबाट काठमाडौं उपत्यकामा ल्याउने योजना छ। अहिले बन्दै गरेको सुरुङको क्षमता दैनिक ५१ करोड लिटर हो। सन् २०२४ सम्ममा काठमाडौं उपत्यकाको खानेपानीको समस्या हलगर्ने लक्ष्यका साथ आयोजनाले काम गरिरहेको छ।

काठमाडौं उपत्यकामा अहिले दैनिक ४० करोड लिटर खानेपानीको माग छ। यसमध्ये दैनिक १२ करोड लिटर केयुकेएलले वितरण गर्दै आएको छ। बाँकी माग भने इनार, ढुंगेधारा, पोखरी र पम्पलगायत भूमिगत स्रोतबाट पूर्ति हुँदै आएको छ।

सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रसम्म २७ दशमलव ५ किलोमिटर खन्नुपर्नेमा अझै ३ सय ३० मिटर बाँकी रहेकाले उपभोक्ताको धारामा पानी आउन समय लाग्ने देखिएको हो।

बाँकी ३ सय ३० मिटर सुरुङ खन्न अझै तीन महिना लाग्ने 

एकदिनमा ३ देखि ७ मिटरसम्म सुरुङ खन्ने काम भइरहेको मेलम्ची आयोजनाले बताएको छ। यो हिसाबले ३ सय ३० मिटर सुरुङ खन्न करिब ३ महिना लाग्ने देखिन्छ।

सुरुङ बनिसकेपछि पनि ‘फिनिसिङ’को काम सक्न थप ६ महिना लाग्ने आयोजनाका अधिकारी बताउँछन्। सुन्दरीजल प्रशोधन केन्द्रमा आइसकेपछि पनि प्रशोधन गरी पाइपमा पानी पठाउन कम्तिमा ६ महिना लाग्ने बताइएको छ।

आयोजनाका लागि ७० किमि पहुँच मार्ग निर्माण, कार्यालय स्थापना, आर्थिक व्यवस्थापन र अन्य पूर्वतयारीका लागिमात्रै ८ वर्ष समय लागेको छ। सन् २००१ बाट काम सुरु गरिएको मेलम्ची खानेपानी आयोजनाले सन् २०१६ को अन्त्यमा उपत्यकामा पानी आउने बताउँदै आएको थियो।

सन् २००९ को फेबु्रअरीमा एक चिनियाँ कम्पनीले पहिलोपटक आयोजना निर्माणको ठेक्का लिएको थियो। २०१० अप्रिलबाट सुरुङ खन्ने काम सुरु गरेको सो निर्माण कम्पनीले सन्तोजनक काम गर्न नसकेपछि २०१२ सेप्टेम्बरमै ठेक्का रोक्का गरिएको थियो। त्यसपछि, सेप्टेम्बर २०१६ मा सक्ने गरी अक्टोबर २०१३ बाट डिइसिसी नामक कम्पनीले काम सुरु गरेको थियो।

भूकम्पले कार्यस्थलमा पु¥याएको क्षति र लगत्तैको भारतीय नाकाबन्दीका कारण मिति लम्बिएको थियो। भूकम्पका कारण आयोजनासम्म पुग्ने सडक भत्किएको र खुकुलो बनाएको पहाडमा वर्खाको पानीका कारण निरन्तर पहिरो गएको, सिमेन्ट, छडलगायत निर्माण व्यवसायीहरुको बारम्बारको हडताल आदिका कारण सम्पन्न मिति लम्बिँदै आएको आयोजनाको भनाइ छ।

भूमिगत तहमा रहेको चट्टानको कडापनमा  आइरहने फेरबदलले यन्त्र उपकरणको पूर्वतयारीमा समस्या भएकाले सुरुङ खन्न चुनौती रहेको सुरुङमा कार्यरत इन्जिनियरहरु बताउँछन्। अहिले काम भइरहेको कल्लेरी गाउँ क्षेत्रमा खुकुलो चट्टान रहेकाले बम ब्लास्ट गरी सुरुङ खन्न प्राविधिक कठिनाइ रहेको त्यहाँ कार्यरत इन्जिनियरले बताएका छन्।

मेलम्ची खोलाबाट सुरुङमा ल्याइएको पानी शुद्धिकरणका लागि सुन्दरीजलमा पानी प्रशोधन केन्द्र तयार भएको छ। जाइकाको ८५ प्रतिशत ऋण सहयोग र नेपाल सरकारको १५ प्रतिशत लगानीमा ८.५ करोड लिटरको पानी प्रशोधन केन्द्र निर्माण भएको हो।

मेलम्चीको १७ करोड लिटर पानी सुन्दरीजल आउने मितिसम्ममा अर्को प्रशोधन केन्द्र पनि बनिसक्ने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए। सुरुङको फिनिसिङ भइसक्दा ८.५ करोड लिटर क्षमताको अर्को प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसक्ने लक्ष्य राखेको छ।

सुन्दरीजलमा रहेको यस प्रशोधन केन्द्रले सुरुङबाट आएको धमिलो पानीलाई सङ्लो बनाउने, धातु र रसायनयुक्त हानिकारक पदार्थलाई छान्ने, पानीमा मिसिएको बालुवा र माटोलाई हटाई पानीलाई पिउन योग्य बनाउने काम गर्छ।

प्रशोधन केन्द्रले विश्व स्वास्थ्य संगठनले शुद्ध खानेपानीमा जारी गरेको निर्देशिका र नेपाल सरकारले तोकेको गुणस्तरको खानेपानी उपत्यकाका उपभोक्ताका धारामा पठाउने आयोजनाले जानकारी दिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.