|
फोटो : kharpali.blogspot.com

काठमाडौं : काठमाडौंमा गएको असारयता १ सय ३७ जनामा हैजाको जीवाणु भेटिएको छ। यसवर्ष असार १६ गते बाफलका एक विरामीमा हैजाको जीवाणु फेला परेयता १ सय ३७ जनामा हैजाको जीवाणु भेटिएको हो।

'असार १६ गते काठमाडौंको बाफलमा हैजाको जीवाणु भेटियो, त्यसयता आजसम्म १ सय ३७ जनामा देखिएको छ।  जसमध्ये काठमाडौंमा १९ र ललितपुरमा ११० जनामा देखिएको छ' मंगलबार आयोजित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. गुणनीधि शर्माले भने। तर हैजाका कारण काठमाडौंमा कसैको मृत्यु नभएको उनले जानकारी दिए। 

गत साल काठमाडौं उपत्यकाका जिल्लाहरुमा ७६ जनामा हैजाको जीवाणु देखिएको थियो। तर यसवर्ष बढेर १ सय ३७ जना पुगेको हो। यसबर्ष काठमाडौंमा भन्दा ललितपुरमा हैजाको विरामी बढी देखिएका छन्।

काठमाडौंको सामाखुसी, जडिबुटी, त्रिपुरेश्वर, काडाँघारी, डल्लु र थानकोट हैजाको जीवाणु भेटिएको महाशाखा प्रमुख डा. शर्माले जानकारी दिए। त्यस्तै ललितपुरको बंगलामुखीमा ढुंगेधाराको पानीमा, सुनाकोठीमा जारको पानीमा र अकुवाहलमा ट्याङ्करको पानीमा हैजाको जीवाणु फेला परेको छ। डा. शर्मा भन्छन् 'हामीले बिरामी बस्ने ठाउँ वरपरको खानेपानी परीक्षण गर्दा उनीहरुले खाँदै आएको जार, धारा, ट्याङ्करको पानीमा हैजाको जीवाणु फेला परेको छ।' 

काठमाडौंमा हैजाबाट प्रभावित हुनेमा १५ देखि २४ बर्षका र कमजोर आयस्तर भएकाहरु रहेका छन्। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं उपत्यकाका बिभिन्न ठाउँबाट १ सय ७९ वटा पानीको नमूना परीक्षण गरेको थियो।  तीमध्ये तीनवटामा मात्र हैजाको जीवाणु फेला परेको र धेरैमा दिसामा पाइने कोलिफर्मको जीवाणु पाइएको महाशाखा प्रमुख डा. शर्माले बताए। खानेपानीको जार, ट्याङकरको पानीमा समेत हैजाको जीवाणु र दिसामा पाइने कोलिर्फम जीवाणु भेटिएपछि ट्याङकरबाट पानी ल्याइने चोभार र मातातीर्थको पानीमा क्लोरिन हालेको उनले बताए।

'हामीले काठमाडौंका बिभिन्न ठाउँबाट संकलन गरेको को १ सय ७९ वटा पानीको नमुना संकलन गरेर परीक्षण गर्दा धेरै पानीमा दिसामा पाइने कोलिर्फम भएको पुष्टि भएको छ। त्यसकारण चोभार, मातातीर्थबाट ट्याङकरमा पानी ल्याइने मुहानमा क्लोरिन (पानी शुद्ध पार्न प्रयोग गरिने रसायन) हालिएको छ' डा. शर्माले भने। 

यस्तै उपत्यकाभित्र हैजा देखिएका पानीको मुहानमा समेत क्लोरिन हालिएको डा. शर्माले जानाकारी दिए। 'काठमाडौं उपत्यकाभित्र हैजाका जीवाणु देखिएका पानीका मुहान र हैजाका विरामी पुष्टि भएको ठाउँको पानीको मुहान र इनारहरुमा समेत क्लोरिन हालेका छौं' उनले भने।

हैजाबाट बच्न जारको पानी समेत उमालेर खानुपर्ने डा. शर्माले बताए। उनले बासी झिँगा भन्किएका खानेकुरा नखान सुझाव दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.