|

  • भोजराज कार्की

सोलुखुम्बु : सोलुदूधकुण्ड नगरपालिका–७ स्थित किकलु सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष वन फडानीमा सक्रिय रहेको उपभोक्ताहरूले आरोप लगाएका छन्। उनीहरूले अध्यक्ष छोङ्वा शेर्पाविरुद्ध जिल्ला वन कार्यालयमा उजुरी दर्ता गराएका छन्।

समितिका अध्यक्ष शेर्पाले आफूखुसी काठ, दाउरा बिक्री वितरण गरिरहेको समितिका सचिव छेवाङ शेर्पाले आरोप लगाए। ‘बैठक खातामा किर्ते हस्ताक्षर गरी मनोमानी गरिरहेका छन्,’ सचिव शेर्पाले भने, ‘करिव ४ हजार वटाभन्दा बढी रुख कटानी भएको छ।’

स्थानी मिङ्मार लामाले होटल निर्माण गर्न १ हजार ५ सय थान, सिद्धार्थ आधारभुत विद्यालय निर्माण गर्दा १ हजार ८ सय थान र कपन गुम्बा निर्माणका लागि असीमित काठ समितिको निर्णयबिना चिरानी तथा कटानीको अनुमति दिएको सचिव लामाको आरोप छ। उपभोक्ता समितिका अन्य सदस्य र उपभोक्तालाई समेत धम्की दिँदै सामुदायिक वनको काठ निकासी गरेको पाइएकाले जिल्ला वन कार्यालयमा उजुरी दिएको समितिका पूर्वअध्यक्ष ङिमानुरु लामाले बताए।

‘जिल्ला वन कार्यालयमा पुस ९ गते उजरी दर्ता गरेका छौं,’पूर्वअध्यक्ष लामाले भने, ‘वन कार्यालयवाट उपभोक्ता समितिका सम्पूर्ण कागजात जफत गर्ने बाहेक कुनै कारवाही भएको छैन। यसमा वन कार्यालयका कर्मचारी र उपभोक्ता समितिको मिलेमतो रहेको बुझिन्छ।’ 

के भन्छन् समितिका अध्यक्ष

उपभोक्ता समितिका अध्यक्ष छोङ्वा शेर्पाले समितिले कुनै अनियमितता नगरेको जिकिर गर्छन्। उनले वन कार्यालयमा उजुरी दर्ता गर्दा अधिकांशको हस्ताक्षर किर्ते गरिएको दाबी गरे। उनले भने, ‘वन कार्यालयमा उजुरी दर्ता गराउने अधिकांशको हस्ताक्षर किर्ते गरेको पाइएको छ, त्यसको पनि छानबिन हुन्छ।’ 

अध्यक्ष शेर्पाले भूकम्प प्रभावितलाई काठ बिक्री गरे पनि निकासी नगरिएको बताए। ‘मेरो निजि जंगलको काठ अन्यत्र बिक्री गरेको हुँ,’ उनले भने, ‘त्यसलाई समेत सामुदायिक वनको हो भनेर दावी गरेका छन्।!

यसो भन्छ वन कार्यालय

वन उपभोक्ता समितिको यस विवादमा जिल्ला वन कार्यालय सोलुखुम्बुका निमित्त प्रमुख  युगलकिशोर लालकर्णले उपभोक्ता समितिको सम्पूर्ण कागजात जफत गरेर वास्तबिकता बुझ्ने काम भइरहेको बताए। उनले भने, ‘छानबिन गर्दा दोषी ठहर भए कारवाही हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.