परिवर्तन हुनेमा दुईबाहेक सबै गाउँपालिका

|

काठमाडौं : स्थानीय तह गठन भएको एक वर्ष नबित्दै ४६ वटा स्थानीय तहले नाम र केन्द्र परिवर्तन गरेका छन्। मन्त्रिपरिषद्ले एक साताअघि नौँवटा स्थानीय तहको नाम, २३ वटा स्थानीय तहको केन्द्र र १४ वटा स्थानीय तहको नाम र केन्द्र दुवै परिवर्तन गर्ने निर्णय गरेको हो। 

यसरी नाम र केन्द्र परिवर्तन हुनेमा जाजरकोटको त्रिवेणी नलगाड र स्याङ्जाको गल्याङबाहेक सबै गाउँपालिका छन्। स्थानीय तहको नाम र केन्द्र परिवर्तनका लागि गाउँ र नगरसभाबाट निर्णय भई एक दर्जन बढी सिफारिस आइरहेको संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री जनकराज चौधरीले बताए। उनले प्रक्रिया पुर्‍याएर आएका सबै सिफारिसलाई मन्त्रिपरिषद्ले मात्र निर्णय गर्ने उनले बताए। 

प्रदेश- १ का छवटा जिल्लाका नौ गाउँपालिका, प्रदेश- ३ का नौवटा जिल्लाका १२ गाउँपालिका, प्रदेश- ४ का छवटा जिल्लाका १२ गाउँपालिका, प्रदेश- ६ का पाँच जिल्लाका सात गाउँपालिका र एक नगरपालिका, प्रदेश- ७ का तीन जिल्लाका चार गाउँपालिका र प्रदेश- ५ को रोल्पा जिल्लाको दुई खोली गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको हो। 

२ नम्बर प्रदेशका कुनै पनि स्थानीय तहलले नाम र केन्द्र परिवर्तनको निर्णय गरेका छैनन्। सबैभन्दा धेरै खोटाङ, मनाङ, म्याग्दी र मकवानपुर जिल्लाका तीन/तीनवटा स्थानीय तहको नाम र केन्द्र सरकारले परिवर्तन गरेको छ। गत बैशाख ३१ गते पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएका अधिकांश जिल्लाको स्थानीय तहको नाम परिवर्तन भएको छ। रोल्पा र सुनसरीमा भने दोस्रो चरणको निर्वाचन असार १४ गते सम्पन्न भएको थियो।

यी हुन् नाम मात्र परिवर्तन भएका ९ स्थानीय तह

ताप्लेजुङ जिल्लाको याङवरक गाउँपालिकालाई पाथिभरा याङवरक गाउँपालिकामा परिणत गरिएको छ। यसरी नै धनकुटा जिल्लाको खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकालाई शहीदभूमि गाउँपालिकामा परिणत गरिएको छ। सुनसरी जिल्लाको हरिनगरा गाउँपालिकालाई हरिनगर गाउँपालिकामा परिणत गरिएको छ भने सोलुखुम्बु जिल्लाको दूधकौशिका गाउँपालिकालाई थुलुङ दूधकोशी गाउँपालिकामा परिणत गरिएको छ।

यसरी नै मनाङ जिल्लाको नासोङ गाउँपालिकालाई नासोँ गाउँपालिकामा परिणत गरिएको छ भने मुस्ताङ जिल्लाको बाह्रगाउँ मुक्तिक्षेत्र गाउँपालिकालाई बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा परिणत गरिएको छ। मुस्ताङ जिल्लाकै दालोमे गाउँपालिकालाई लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा परिणत गर्ने निर्णय भएको छ।

गोरखा जिल्लाको सुलिकोट गाउँपालिकालाई बारपाक सुलिकोट गाउँपालिकामा परिणत गर्ने निर्णय भएको छ भने बझाङ जिल्लाको काँडा गाउँपालिकालाई साइपाल गाउँपालिकामा परिणत गरिएको छ।

यी हुन् केन्द्र मात्र परिवर्तन गरिएका २३ स्थानीय तह

इलाम जिल्लाको सन्दकपुर गाउँपालिकाको केन्द्र साविक माइपोखरी गाविस कार्यालयबाट गाउँपालिकाको वडा नं.- ३ माबुमोड देउरालीमा सार्ने निर्णय भएको छ भने खोटाङ जिल्लाको साकेला गाउँपालिकाको केन्द्र वडा नं.-५ बाट वडा नं.- ४ मानेभञ्ज्याङमा सार्ने निर्णय भएको छ।

खोटाङ जिल्लाकै बराहपोखरी गाउँपालिकाको केन्द्र साउने चउरबाट बाघखोर भञ्ज्याङमा, दोलखा जिल्लाको बैतेश्वर गाउँपालिकाको केन्द्र काब्रेबाट गाउँपालिकाको वडा नं.- ६ पाँडुडाँडामा, सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाको केन्द्र किउलबाट वडा नं.- ८ बाहुन ढोडेनीमा सार्ने निर्णय भएको छ।

यसरी नै काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिकाको केन्द्र कात्तिके देउरालीबाट ढाँडखर्क भञ्ज्याङमा, काभ्रे जिल्लाकै महाभारत गाउँपालिकाको केन्द्र बनखुचौरबाट गाउँपालिकाको वडा नं.- ६ देवीटारमा, मकवानपुर जिल्लाको वागमती गाउँपालिकाको केन्द्र फापरबारीबाट गाउँपालिकाको वडा नं.- ४ झुरझुरेमा, मकवानपुर जिल्लाको बकैया गाउँपालिकाको केन्द्र साविक छतिवन गाविस कार्यालयबाट हात्तिसुँडेमा सार्ने निर्णय भएको छ।

मकवानपुर जिल्लाको मनहरि गाउँपालिकाको केन्द्र मनहरि गाविस कार्यालयबाट मनहरि वडा नं.- ९ रजैयामा, चितवन जिल्लाको इच्छामनकामना गाउँपालिकाको केन्द्र साविकको चण्डी भञ्ज्याङ गाउँपालिकाको कार्यालयबाट साविकको दारेचोक गाविस कार्यालय रहेको स्थान कुरिनटारमा, म्याग्दी जिल्लावको रघुगंगा गाउँपालिकाको केन्द्र साविकको पाखापानी गाविसबाट रघुगंगा- ३ मौवाफाँटमा सार्ने निर्णय भएको छ।

यसैगरी म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिकाको केन्द्र सोही गाउँपालिकाको वडा नं.- ३ मुनाबाट सोही गाउँपालिकाको वडा नं.- ३ सातमूले, घट्टेखोलामा, म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाको केन्द्र घारबाट वडा नं.- ६ पोखरेबगरमा, तनहुँ जिल्लाको घिरिङ गाउँपालिकाको केन्द्र गजरकोटबाट पोखरीछापमा, स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकाको केन्द्र जगत्रदेवी गुठीबाट गल्याङ बजारमा, सल्यान जिल्लाको दार्मा गाउँपालिकाको केन्द्र दार्मा- ४ बाट दार्मा- ३, फारुलाचौरमा सार्ने निर्णय गरिएको छ।

रुकुम (पश्चिम) जिल्लाको त्रिवेणी गाउँपालिकाको केन्द्र मुरुबाट सिम्रुतु खारानेटामा सार्ने निर्णय भएको छ भने जाजरकोट जिल्लाको कुसे गाउँपालिकाको केन्द्र कुसे- ५ बाटुल्लेबाट कुसे- ६ थर्पु भार्मामा, डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिकाको केन्द्र नर्कुबाट इलनीलदहमा, हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको केन्द्र मुचुबाट नाम्खा गाउँपालिका- ४ याल्वाङ्गमा सार्ने निर्णय भएको छ।

यसैगरी बाजुरा जिल्लाको हिमाली गाउँपालिकाको केन्द्र बाँधुबाट धुलाचौरमा सार्ने निर्णय भएको छ भने दार्चुला जिल्लाको नौगाढ गाउँपालिकाको केन्द्र धुलिगडा वडा नं.- ५ बाट होपरीगाडमा सार्ने निर्णय भएको छ।

यी हुन् नाम र केन्द्र दुवै परिवर्तन भएका १४ स्थानीय तह

सुनसरी जिल्लावको भोक्राहा गाउँपालिकाको नाम भोक्राहा नरसिंह र केन्द्र भोक्राहाबाट चिरौली चोकमा सार्ने निर्णय भएको छ भने खोटाङ जिल्लाको लामिडाँडा गाउँपालिकाको नाम रावा बेसी र केन्द्र खार्पाबाट वडा नं.- १, कुभिण्डेको हरमटारमा, रामेछाप जिल्लाको लिखु गाउँपालिकाको नाम लिखु तामाकोसी र केन्द्र बिजुलकोटबाट हालको वडा नं.- ३ र ५ को बीचमा पर्ने गरी सार्ने निर्णय भएको छ।

यसरी नै धादिङ जिल्लाको नेत्रावती गाउँपालिकाको नाम नेत्रावती बडजोङ र केन्द्र साविक सेमजोङ गाविस- ६ तिखाढुंगाबाट साविकको सेमजोङमा, नुवाकोट जिल्लाको मेघाङ गाउँपालिकाको नाम म्यागङ र केन्द्र देउरालीबाट गाउँपालिकाको ३ र ६ को बीचमा पर्ने मानेब्लेमा, रसुवा जिल्लाको पार्वतीकुण्ड गाउँपालिकाको नाम आमाछोदिङमो र केन्द्र गोल्जुङबाट गोल्जुङवेँसीमा सार्ने निर्णय भएको छ।

मनाङ जिल्लाको नेस्याङ गाउँपालिकाको नाम ङिस्याङ र केन्द्र साविकको मनाङ गाउँपालिकाबाट नेस्याङ- ४ हुम्डेमा, मनाङ जिल्लाको नारफू गाउँपालिकाको नाम नार्पा भूमि र केन्द्र साविकको नार गाविस कार्यालयबाट वडा नं.- ३ च्याँखुमा, गोरखा जिल्लाको भीमसेन गाउँपालिकाको नाम भीमसेन थापा र केन्द्र बगुवाबाट मसेल- १, घ्याम्पेसालमा सार्ने निर्णय भएको छ।

रोल्पा जिल्लाको दुईखोली गाउँपालिकाको नाम परिवर्तन र केन्द्र साविकको राङकोटबाट पुत्लाचौरमा, सल्यान जिल्लाको कुमाखमालिका गाउँपालिकाको नाम कुमाख र केन्द्र साविकको मर्मपारिकाँडा गाविसबाट रागेचौरदेखि त्रिवेणीको बीचमा, सल्यान जिल्लाको ढोरचौर गाउँपालिकाको नाम सिद्ध कुमाख र केन्द्र सिद्देश्वरी गाविसबाट ढोरचौरमा, जाजरकोट जिल्लाको त्रिवेणी नलगाड नगरपालिकाको नाम नलगाड र केन्द्र खगेनकोट मन्मैबाट वडा नं.- ७ दल्लीमा सार्ने निर्णय भएको छ।

बाजुरा जिल्लाको पाण्डव गुफा गाउँपालिकाको नाम जगन्नाथ र केन्द्र जगन्नाथबाट जुड्डीमा सार्ने निर्णय भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.