|

काठमाडौं : सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी घोषणा गरिसकेपछि मुख्यमन्त्री, सभामुख र उपसभामुखका आकांक्षीहरूले ती पदमा आफ्ना इच्छा जाहेर गरिरहेका छन्। प्रदेशसभाको निर्वाचन नतिजा आएको २० दिनमा संसद बैठक बस्नुपर्ने र संसद बैठक बसेको २० दिनभित्र प्रदेश सरकार गठन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ। त्यसैअनुसार दलहरू प्रदेश सरकार गठनका लागि कसरत गरिरहेका हुन्।

नेकपा एमाले र माओवादी केन्द्र प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा चुनावी गठबन्धन निर्माण गरेर गइसकेपछि अहिले सरकार गठनमा पनि गठबन्धन कायमै छ। त्यसअनुसार केन्द्र तथा सातवटै प्रदेशमा यी दुई दलको गठबन्धनको सरकार हुनेछ। यसका लागि वाम गठबन्धनको एक शक्ति एमालेका प्रदेशसभाका सांसदहरूले प्रदेशसभाको मुख्यमन्त्रीको दाबी पनि गरिरहेका छन्।

यस्ता छन् आकांक्षीहरू

प्रदेशसभाको मुख्यमन्त्रीसँगै सभामुख र उपसभामुख पदमा पनि एमालेका सांसदहरूले आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन्। प्रदेश- १ मा एमालेका शेरधन राई, भीम आचार्य, हिक्मत कार्की, राजेन्द्र राई, जीवन घिमिरेले मुख्यमन्त्रीको दाबी गर्दै आएका छन्। यस प्रदेशमा एमालेले मुख्यमन्त्री लिएमा सभामुख माओवादीलाई दिनसक्ने अवस्था हुनसक्छ।

तर सभामुखका लागि एमालेका आधा दर्जन नेताहरूले दाबी गर्दै आएका छन्। यसरी सभामुखको दाबी गर्नेहरूमा अनेरास्ववियुका पूर्व अध्यक्षद्वय राजेन्द्र राई र हिक्मत कार्की छन्। यसरी नै उषाकला राई, खिनु लिम्बू, कला घले पनि सभामुखका सम्भावित नाम हुन्। सभामुख पनि एमालेले पाउने अवस्थामा यी नेतामध्येबाट कुनै एकले टिकट पाउनेछन्।

प्रदेश- २ मा वाम गठबन्धनको बहुमत छैन। त्यसकारण यस प्रदेशमा एमालेबाट आकांक्षीहरूको पनि कुनै टुंगो छैन। तर मधेसवादी दलहरूसँग वाम गठबन्धनको नयाँ समीकरण बन्नसक्ने अवस्था भने फरक हुन सक्छ।

प्रदेश- ३ मा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन्। मुख्यमन्त्री अष्टलक्ष्मीलाई दिएमा सभामुखमा भने मकवानपुरका नेता डोरमणि पौडेल हुने एक नेताले बताए। तर मुख्यमन्त्रीको टुंगो लागिनसकेका कारण अहिले नै भने भन्न नसकिने उनको भनाइ छ।

प्रदेश- ४ मा एमाले सचिव पुथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङले दाबी गर्दै आएका छन् भने सभामुखमा लमजुङका एमाले नेता मायानाथ अधिकारी र कास्कीकी नेतृ मित्रकुमारी गुरुङ सुवेदीले दाबी गर्दै आएका छन्। यीमध्ये मुख्यमन्त्री कसले पाउने भन्ने सावलसँगै सभामुखको टुंगो लाग्नसक्ने सम्भावना देखिन्छ।

प्रदेश- ५ मा एमाले स्थायी समिति सदस्य शंकर पोख्रेल मुख्यमन्त्री हुने पक्कापक्की जस्तो देखिन्छ। एमालेले पोख्रेललाई प्रदेश- ५ को दलको नेतासमेत छनोट गरिसकेको छ। तर यहाँ मुख्यमन्त्री एमालेले पाएमा सभामुख माओवादीले लैजानसक्ने देखिन्छ। यद्यपि, हालसम्म कुनै निर्णय भने भइसकेको छैन।

प्रदेश- ६ मा मुख्यमन्त्री माओवादी केन्द्रले पाउँदै छ। तर एमालेका प्रदेश- ६ का नेताहरूले कुनै पनि हालतमा प्रदेश- ६ को मुख्यमन्त्री नछाड्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्। एमालेका तर्फबाट प्रदेश प्रमुख यामलाल कँडेल र पोलिटब्युरो सदस्य प्रकाश ज्वालाले मुख्यमन्त्रीको दाबीसमेत गर्दै आएका छन्। तर वाम गठबन्धनबाट मुख्यमन्त्री माओवादीले पाएपछि एमालेले सभामुख पाउने देखिन्छ। यदि मुख्यमन्त्री माओवादीले पाएमा सभामुख एमालेले पाउनेछ। सभामुखमा एमाले नेता ज्वाला आउनसक्ने एक नेताले बताए।

प्रदेश- ७ को मुख्यमन्त्री वाम गठबन्धनका तर्फबाट माओवादीका वीरमान चौधरीलाई मुख्यमन्त्री बनाउने तयारी छ। माओवादीलाई मुख्यमन्त्री दिने भएपछि एमालेका तर्फबाट सभामुखमा आकांक्षीहरू बढेका छन्। एमालेका कञ्चनपुरका नेता लालबहादुर खड्का, कैलालीका नेपालु चौधरी, बझाङका अर्जुन थापा, बाजुराका बलदेव रेग्मी सभामुखका आकांक्षी देखिन्छन्। तर यीमध्ये मन्त्री पाएमा मन्त्री हुन जाने नेताहरू पनि रहेकाले अहिले नै भन्न नसकिने अवस्था छ।

एमाले स्थायी समिति सदस्य शंकर पोख्रेलले प्रदेश सरकारका सन्दर्भमा आइतबार वाम गठबन्धनको छलफल भइरहेकाले गठबन्धनले नै अन्तिम टुंगो लगाउने बताए। आकांक्षीहरू देखिए पनि यस विषयमा अहिलेसम्म कुनै पनि प्रदेशमा टुंगो नलागेको पोख्रेलको भनाइ छ। 'हामी आज बैठक बस्दै छौँ। यस विषयमा अहिलेसम्म कुनै टुंगो लागेको छैन', नेता पोख्रेलले भने, 'आज हामीले प्रदेशको विषय टुंगो लगाउँछौँ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.