|
अनुगमन टोली आएको चाल पाएपछि सञ्चालकले बन्द गरेको ‍औषधि पसल।

उदयपुर : औषधि व्यवस्थापन विभागको अनुगमन टोली आउँदा यहाँका औषधि पसल नै बन्द गरिएको छ। औषधि व्यवस्थापन विभागको शाखा कार्यालय विराटनगरबाट अनुगमन टोली आउँदा कटारी क्षेत्रका अधिकांश औषधि पसल बन्द गरिएका हुन्।

अनुगमन टोलीले कटारी नगरपालिका क्षेत्रभित्रका औषधि पसलमा छड्के अनुगमन गर्दा औषधि पसल बन्द गरेको सञ्चालक भागेको जनाएको छ। अनुगमन टोलीका फार्मेसी अधिकृत अविनाश प्याकुरेलले औषधि पसल सञ्चालक पसल बन्द गरेर भागेको बताए।

 ‘हामीले इलाका प्रशासन कार्यालय कटारी र इलाका प्रहरी कर्यालय कटारीलाई जानकारी दिएर अनुगमन गर्न आएका थियाँै,’ उनले भने, ‘कटारीबाजर र बजार आसपास रहेको झन्डै दुई सय औषधि पसल बन्द गरेर सञ्चालक भागे।’

कटारी बजारमा रहेका ठूला औषधिमध्ये साझा पोलिक्लिनिक, सगरमाथा हस्पिटल, बारा मेडिकल, देव मेडिकल, रोहित रोशन मेडिकलका सञ्चालक भागेको अनुगमन टोलीले बताएको छ। ‘हामी शुक्रबारदेखि शनिबार बेलुकासम्म बस्याँै, जुन औषधि पसलबारे गुनासो आएको छ, त्यही औषधि पसल पूर्णरुपले बन्द भयो, अर्का अनुगमनमा आएका फार्मेसी अधिकृत विजय कार्कीले भने।

अनुगमनको क्रममा भेटिएका केही औषधि पसलमा बिल चुस्त दुरुस्त नभएको, पसल दर्ता प्रमाणपत्र नवीकरण नगरिएको, म्याद सकिएको औषधि बिक्री वितरण गरिएको, औषधि मिश्रित राखिएको, नेपाल सरकारबाट प्रतिबन्धित औषधि बिक्री गरिएको फेलापरेको छ।

औषधि व्यवस्था विभागको सामान्य मापदण्ड पनि कटारीका औषधि पसलले पूरा नगरेको समेत भेटिएको अधिकृत कार्कीको भनाइ छ। कटारी मोडल हेल्थ केयर प्रालि, आस्था हस्पिटल प्रालि, उज्वल मेडिकल, ओवैस फर्मा, शाह मेडिको, र हलेसी फार्मेसी मापदण्डविपरीत भएकाले मापण्दण्ड पूरा गर्न निर्देशन दिइएको कार्कीले जानकारी दिए।

अनुगमनमा बन्द हुने औषधि पसललाई जिल्ला प्रशासन कार्यलय र जिल्ला प्रहरी कार्यालयमा पत्रचार गरी कानुनी कारबाही हुने अनुगमन टोलीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.