|

जनकपुरधाम : नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झाले देउवा नेतृत्वको सरकारले कुर्सी छोड्ने बेला, काम चलाउ सरकार हुँदाको बखतमा मन्त्रिपरिषद्बाट गरिरहेका विभिन्न निर्णयहरू वितण्डा मच्चाउने खालका भएको बताएका छन्। 

उनले अहिले देउवा नेतृत्वको सरकारले गरिरहेका सम्पूर्ण निर्णयहरू विवादास्पद तथा औचित्यहीन भएको बताउँदै जनताबीच अन्योलको वातावरणसमेत सृजना गरेको बताएका हुन्। 

आइतबार धनुषा जिल्लाको हंसपुर नगरपालिकास्थित मोरहा– ९ मा नवज्योति युवा क्लबले आयोजना गरेको अनाथ बालबालिकाको घर निर्माणको शिलान्यास कार्यक्रममा नेता झाले जनताको मतले जनादेश समाप्त भइसकेको नेपाली कांग्रेस र कांग्रेस नेतृत्वको सरकारले देशलाई नै अप्ठ्यारो हुने तथा जनताको बीचमा अन्योल उत्पन्न गराउने वातावरणको सृजना गर्न लागिपरेको आरोप पनि लगाए। 

पूर्व मन्त्रीसमेत रहेका नेता झाले भने, ‘अहिलेको सरकार काम चलाउ सरकार मात्र हो, तर काम चलाउ सरकारको रूपमा गर्नुपर्ने आफ्नो हैसियत र परिधिभन्दा माथि उठेर कार्य गर्दै छ।’ अहिलेको सरकार राज्यको ढुकुटी सिध्याउन तथा विकासको सट्टा आर्थिक भार थप्नेतर्फ केन्द्रित देखिएको उनको आरोप थियो।

उनले विश्व नै उदारवाद, नवउदारवाद र समाजवादको नीतिबाट सञ्चालन भइरहेको बताउँदै नेपालमा क्रान्तिकारी समाजवादको आवश्यकता भएको औँल्याए। नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी नीति, शक्ति संचय, रणनीति जस्ता आधारभूत आधारहरू मिल्न बाँकी रहेकाले बहस र छलफलमार्फत विभिन्न विषयलाई टुंग्याएर पार्टी एकताका लागि अघि बढ्नुपर्नेमा जोड दिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.