|

  • अर्जुनकुमार आचार्य-

विराटनगर : चन्द्रमामा पाइला टेक्ने दोश्रो अन्तरिक्ष यात्री बज एल्ड्रिनले मंगलबार सुनसरीको एभरेस्ट साइन्स सेन्टरमा अन्तरिक्ष यात्राको अनुभूति सुनाए।

विज्ञान र मानवीय क्षमताको उचित संयोजनका कारण आफूहरु आज भन्दा ४६ वर्षअघि चन्द्रमामा पुग्न सफल भएको भन्दै उनले अबका केही वर्षमा त्यस्तै अर्को सपना (मंगलग्रहमा बस्ती बसाउने) पनि सफल हुने दाबी गरे।

‘धेरै सपनाहरु हुन्छन्, मानव र मानवताको सामूहिक प्रयासका कारण हामीले एउटा सपना पूरा गर्‍यौं' उनले भने, ‘असम्भव भनिएका सपनाहरु पनि पुरा हुन्छन् भन्ने प्रमाणित गर्‍यौं।’ आफूहरुले प्रयास गरिरहँदा दुनियाँले आलोचना गरेको र अनावश्यक भनेको सम्झँदै उनले थपे, ‘जब हामी चन्द्रमा पुगेर फर्कियौं तब विश्वले सम्मान गर्‍यो, हामीमा खुसीको सीमा थिएन।’

अब मिसन मंगलग्रह

चन्द्रमा यात्राको सफलता सम्पूर्ण विज्ञान र मानवको सामूहिक प्रयास भएको दाबी गर्दै एल्ड्रिनले अब मंगलग्रहमा बस्ती बसाउनु अर्को सपना पूरा गर्न सबैको सहयोग चाहिने बताए। चन्द्रमामा पुग्नुभन्दा ३ वर्ष अगाडि आफ्नी आमाको मृत्यु भएको घटना सम्झँदै उनले भने, ‘मेरी आमाको नाम मुन नै थियो, उहाँको मृत्यु भएको ३ वर्षपछि म आफू मुन (चन्द्रमा) पुग्न सफल भएँ।’

मेकानिकल विज्ञानमा पिएचडी गरेका एल्ड्रिनले मानिसको क्षमतालाई कसैले रोक्न नसक्ने र सामूहिक प्रयास गर्दै अघि बढ्नुपर्ने बताए। झण्डै ४२ मिनेट प्रवचन दिएका उनले कार्यक्रम अघि एभरेस्ट साइन्स सेन्टरमा आयोजित वृक्षारोपण कार्यक्रममा सहभागी भए। उनले रुद्राक्ष र वरको विरुवा रोपेका छन्।

सोही कार्यक्रममा सहभागी मंगलग्रहमा बस्ती बसाउने कार्यक्रमका अध्यक्ष तथा बजका छोरा डा. एन्ड्रिउ एल्ड्रिनले अबको अन्तरिक्ष यात्रा कम खर्चिलो बनाउन साना साना यान निर्माणमा आफूहरु लागेको बताए। उनले भने, ‘ठूला यान बनाउँदा अर्बौं खर्च भयो, अहिले साना साना यान बनाएर अभ्यास गरिरहेका छौं।’

उनका अनुसार सन् २०२८ सम्ममा मंगलग्रहमा मानव बस्ती बसाउने गरी अध्ययन भइरहेको छ। त्यति बेलासम्ममा सानो सानो समूह बनाएर मंगलग्रहमा बस्ती बसाउने र प्रत्येक ४/४ वर्षको फरकमा त्यस ठाउँमा मान्छे पठाउने व्यवस्था गरिने उनले बताए।

मंगल ग्रहमा पुग्न पृथ्वीबाट प्रति घण्टा २५ हजार किलोमिटरको गतिमा रकेट जाँदा पनि ६ महिना लाग्ने अनुमान गरिएको एल्ड्रिनले भनाई छ। यसका साथै अन्तरिक्षमा जाँदा लगाउन स्पेस सुटको पनि परिमार्जन गरिने नासाका प्राविधिक विशेषज्ञ एलिजावेथ लेब्लेनले बताइन्। ‘हाल चन्द्रमा जाँदा लगाउने स्पेस सुट १ सय ८० किलोको छ। अब उक्त स्पेस सुटको वजन घटाउनुका साथै उठ्न बस्न सहज हुने खालको सुट निर्माण हुनेछ,’  उनले भनिन्।

कार्यक्रममा झण्डै ३ हजारको संख्यामा भएका विद्यार्थीसहितका सहभागीलाई बजले ४२ मिनेट प्रवचन दिएका थिए। प्रवचनका क्रममा उनले यात्राका थुप्रै अनुभूति सुनाए। यसअघि बजसँग प्रश्नोत्तरको कार्यक्रम राखिने भनिए पनि समय अभाव देखाउँदै त्यो हुन सकेन।

बजसहितको टोली मंगलबार नै काठमाडौं फर्किएका छन्। बजसहितको टोली मंगलबार बिहान ११: ३० बजे विराटनगर विमानस्थलमा ओर्लिएको थियो। उनलाई त्यहाँ पञ्चकन्यासहितको टोली स्वागत गरेको थियो।

सरकारले महत्व बुझेन : आयोजक

नेपालमा विज्ञानको क्षेत्रमा यति ठूलो सफलता प्राप्त गर्ने ब्यक्तिको नेपाल आगमन पहिलो भएको एभरेस्ट साइन्स सेन्टरका अध्यक्ष दिलिप अधिकारीले बताए। बजलाई ल्याउन मात्रै सेन्टरका ५० लाख भन्दा बढी खर्च भएको उनले जानकारी दिए। बजका लागि प्लेन टिकट मात्रै १९ लाख ५० हजार रुपैयाँ खर्च भएको छ। यस्तै २० लाख रुपैयाँ उनलाई नेपाल ल्याएबापत शुल्क तिर्नुपरेको छ। होटल खर्च १० लाख रुपैयाँ भन्दा बढी छ।

झण्डै १६ वर्षको प्रयासपछि नासाको आधिकारिक सदस्य बनेको साइन्स सेन्टरले बजलाई ल्याउनका लागि एक्लै १ वर्षअघिदेखि प्रयास गरिरहेको थियो। पटक–पटकको अस्वीकारपछि बजले एक पटक नेपाल आउन स्वीकृति जनाए र कार्यक्रम तय भयो। ‘सरकार आफैले गर्नुपर्ने यसखालका कार्यक्रमप्रति बेवास्ता गर्नु वा असहयोग गर्नु त्यति राम्रो होइन’, नेपाल पत्रकार महासंघ मोरङका पूर्व सभापति शिवबहादुर कार्कीले भने।

सम्बन्धित समाचारः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.