|

उदयपुर : सहरमा माग बढ्दै गएपछि गाउँमा हराउन थालेको फापर, जुनेलो तथा फिलुंगेको खेती बढ्न थालेको छ। गाउँगाउँसम्म पुगेका सडक पुगेपछि लोप हुँदै गएको बाली फापर, जुनेलो र फिलुंगेको खेती बढ्न थालेको हो।

जिल्लाको पहाडी क्षेत्रका भिरालो, खोरिया र रुखो बारीमा समेत उत्पादन हुने फापर, जुनेलो, फिलुंगे, सिलाम खेती अहिले कृषकका आम्दानीको राम्रो स्रोत बन्न थालेका छन्। पछिल्लो सययमा बजार क्षेत्रमा उक्त बालीको माग बढ्न थालेकाले कृषकहरू त्यसको खेतीतर्फ आकर्षित हुन थालेका हुन्।

केही वर्षअघिसम्म भुटेर खाजाको रूपमा  खानेबाहेक जुनेलोको प्रयोग खासै हुँदैन थियो। ‘बिक्री नहुने भएकाले जुनेलो हामी जाँड र रक्सी बनाउनु प्रयोग गर्थ्याै,’ कटारी नगरपालिका–१२ का लख्खु राईले भने,  ‘अहिले घरबाटै बिक्री हुन थालेको छ।’

ग्रामीण क्षेत्रका कृषकले परम्परागत रूपमा उत्पादन गर्दै आएका जुनेलो, फापर, कोदो, फिलुंगे अहिले आम्दानीको स्रोत बनेको कृषकहरू बताउँछन्। ‘हामीले उत्पादन मात्र गर्नुपर्छ’, ताप्ली गाँउपालिका–४ थुम्कीकी नरमाया राईले भनिन्, ‘व्यापारीहरू घरमै किलो तराजु लिएर आउँछन्। त्यसैले खेतीलाई बढाउँदै लगेका छौं।’

गाउँमा खासै प्रयोग नभए पनि बजार क्षेत्रमा फापर, जुनेलो, फिलुंगेको माग बढी छ। धानको मूल्यभन्दा बढी मुल्यमा ती अन्न बिक्री हुन थालेको छ। जुनेलो प्रतिकिलो १ सय ३०, फापर ७० र फिलुंगे ४ सय रूपैयाँसम्ममा बिक्री हुने कृषकको भनाइ छ।

जिल्ला कृषि विकास कार्यालय उदयपुरका बाली विकास अधिकृत रामसेवक ठाकुरले उदयपुरमा ३ सय हेक्टरभन्दा बढी जमिनमा फापर, जुनेलो र फिलुंगेको खेती हुने जानकारी दिए। ‘उदयपुरको सुनकोसी गढतिरका पाखो जमिनमा खेती हुन थालेको छ,’ उनले भने, ‘त्यस भेगमा पहिले परम्परा अन्नबाली लगाउने भएपनि अहिले उक्त बालीमा किसानको आकर्षण बढेको छ।’

कृषि कार्यालयका अनुसार जिल्लाको ८ वटै स्थानीय तहको बेंसी, चुरेक्षेत्र, खोंच तथा सुनकोसी नदीको गढतिर उक्त बालीको खेती बढेको छ। हलेदे, निबुवाटार, राम्चे, आदमारा, कवासेटार, बुत्कु, ठानागाउँलगायत एक दर्जनभन्दा बढी गाउँका किसान जुनेलो र तीतेफापरको खेतीप्रति आकर्षित भएका छन्।

मधुमेहका बिरामीहरूका लागि जुनेलो, तीते फापर र कोदोबाट बनेको परिकार उपयोगी मानिन्छ। बजार क्षेत्रमा बसोबास गर्ने मानिसले दैनिकरूपमा नै उक्त अन्नलाई प्रयोग गर्न थालेपछि पछिल्लो समय बजारमा त्यसको माग ह्वात्त्तै बढेको छ । 

टुहुराको पनि दिन फर्किन्छ भन्ने नेपाली उखान झै आवश्यक सिंचाइ र मलजलको अभावमा वर्षैभरी बाँझै रहने पाखो, भिरालो र खोरिया बारी खेतीयोग्न जमिन भएको छ। किनकि, त्यस्ता जमिनमा जुनेलो र तीते फापरको खेती हुने गर्दछ। यसबाट दुर्गमका कमजोर आयस्रोत भएका किसानको आर्थिक स्थितिमा समेत सुधार आउन थालेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.