|

गोर्खा उन्नयन् परिषद्  नेपालभित्र खासै सुनिएको नाउँ होइन। तर आसाममा बस्दै आएका नेपालीभाषीबीच यो संस्था मियोका रूपमा रहेको छ। शताब्दियौँ अघिदेखि भारतको पूर्वोत्तर क्षेत्रमा बस्ने नेपालीभाषीहरू आफ्ना पुर्खा कहिले त्यहाँ पुगे र अहिले तिनका सन्तानलाई नेपालमा उनीहरूको थातथलो कहाँ थियो भन्ने पनि थाहा छैन ।

मातृभाषा नेपाली भए पनि आसामी र हिन्दी बराबर बोल्ने उनीहरूमध्ये कतिपय अंग्रेजीमा समेत राम्रो दख्खल राख्छन्। नेपाली समाजमा जस्तै देउसी-भैलो खेल्छन्, दशैँ-तिहार मनाउँछन्। माघे संक्रान्ति, साउने संक्रान्ति मात्र होइन, आसामको परम्परामा रहेर कात्तिके संक्रान्ति पनि मनाउँछन्। उधौली र उभौलीमा रमाउँछन्। कुलपूजा र गोठपूजा गर्छन्। मादल, मुर्चुङ्गा बजाउँछन्, झ्याउरे लोकभाका गाउँछन्। संगिनी र बालन खेल्छन्। विवाहमा ठट्यौली गर्दै कविता र सिलोक भन्छन् अनि खाँडो जगाउँछन्। पूर्वी नेपालको धान नाच्नेदेखि पश्चिम नेपालको देउडासमेत चल्छ त्यहाँ। झट्ट हेर्दा सानो नेपाल नै भेटिँदोरहेछ आसाममा। तर आसामका नेपालीभाषीहरू छिमेकी देश नेपाल समृद्ध भएको हेर्न र आफ्ना नातेदार वर्गबन्धुको सुख, शान्ति, समृद्धि देख्न चाहन्छन्- आफूलाई भारतीय गोर्खाका रूपमा राखेर।

कसैले नेपाली राजनीतिको कुरा गरे छिमेकीका रूपमा सुन्छन्, चासो व्यक्त गर्छन् तर राजनीति भारतकै गर्छन्। युरोप, अमेरिका पुगेका नेपालीझैँ आसामका मानिसहरू तन उता, मन यता कमै गर्छन्। मेघालय, अरूणाचल, नागाल्याण्डलगायतका राज्य छाडेर आसाममा मात्र करिब १२ लाख नेपालीभाषी बसोवास गर्छन्। विधायक बनेका नेपालीभाषी मात्र होइन, चर्चित धनाढ्य र समाजसेवी व्यक्तिका रूपमा मणिकुमार सुब्बाको नाम पनि अगाडि आउँछ। छ पुस्तादेखि आसाममा बसोवास गर्दै आएको विष्णुलाल उपाध्यायको परिवारको आसाममा शिक्षा र समाजसेवामा उल्लेखनीय योगदान छ। यस्ता सयौँ नेपालीले भारतीय स्वतन्त्रता संग्राममा आफूलाई होमेका पाइन्छ।

यसै सन्दर्भमा प्रस्तुत छ गोर्खा उन्नयन् परिषद्का अध्यक्ष लोकनाथ उपाध्यायसँग तेजपुर आसाममा भेटेर थाहाखबरका प्रधानसम्पादक तीर्थ कोइरालाले गरेको कुराकानी।

गोर्खा उन्नयन परिषद् कस्तो संस्था हो?

यो संस्था असम सरकारअन्तर्गत सन् २०१० मा गठन गरिएको हो। यस राज्यमा रहेका अन्य रैथाने भाषिक, साँस्कृतिक समूहहरू सरह सामाजिक, आर्थिक र जातिको परिचय झल्काउने काम र प्रवर्द्धन गर्छ।

तपाईंहरू नेपाली भाषा बोल्नुहुन्छ, नेपाली संस्कृति र परम्परा मान्नुहुन्छ, तर गोर्खाको परिचय किन?

पहिले हामी नेपालीकै रूपमा चिनिँदै आएका थियौँ। सन् १९४३ मा दार्जिलिङमा अखिल भारतीय गोर्खा लिग बाबु डम्बरसिं गुरुङले गठन गर्नुभयो। गोर्खा लिगको असम राज्य शाखा बाबु छविलाल उपाध्यायको नेतृत्वमा सन् १९४४ देखि नै भित्रियो र त्यसले स्वतन्त्रता आन्दोलनका साथै रैथाने गोर्खाहरूको हक हितको चिन्तन र संघर्ष गर्दै आएको हो। त्यसअघि पल्टनमा आउनेलाई मात्र गोर्खा भनिन्थ्यो, अरू नेपालीकै परिचयभित्रै थियौँ। पछिल्लो कालखण्डमा नेपाल राष्ट्रको नागरिकतासँग जोडेर उताका रैथाने यता कमाई खान वा घुम्न मात्र आएका अस्थायी हुन् भन्ने अर्थमा लिन थालियो। त्यसैले पुस्तौँ बिताएका यहाँका हामीलाई गोर्खा परिचय आवश्यक पर्न गयो र यसलाई अंगीकार गरेका हौँ।

यहाँहरूले यहाँको रैथाने अर्थात् आदिवासी समूहको परिचय पाइसक्नुभएको छ उसो भए?

हो, हामीलाई त्यो मान्यता प्राप्त छ। सुरुमा यहाँ दश ठूला र आठ साना जातीय समूहले त्यो मान्यता पाएका थिए, जसमा हामी दश ठूला समूहमध्ये एक हौँ। अहिले कुल ३२ समूहले मान्यता पाएका छन्। हामीले सरकारी अनुदान पनि सोहीअनुरूप पायौँ। हाम्रो भागमा मात्र यो अनुदान रकम २०१५/०१६ मा सात करोड थियो। त्यसपछि भारतीय जनता पार्टीको सरकार बनेपछि अनुदान निकासा भएको छैन तर हामी मान्यता प्राप्त हौँ। राजनीतिक कारणले यसलाई रोकिएको जस्तो लाग्छ। हामीलाई राजनीतिक आग्रह राखिएको छ। सबै रैथाने समूहको अनुदान रोकिएको छ, जुन खेदयोग्य छ।

उसो भए यहाँहरू कंग्रेस?

हामी सामाजिक काम गर्छौं। सरकारी नियुक्ति अवश्य हो। कंग्रेसको समयमा स्थापना गरिएको पनि हो तर यसको काम सामाजिक हो। हामी कुनै पनि काम गर्दा आवेदन माग्छौँ र जुन जेमा आस्था भएकाले निवेदन हाले पनि यसको नियमले मिल्ने भए हामी राजनीतिक आस्था हेर्दैनौँ। सामाजिक संस्था र सामाजिक व्यक्तिले भेदभावमा विश्वास गर्न थाल्यो भने त्यो उसको असफलताको सुरुवात हो। यो राज्यको संस्था हो, राज्यको वजेट हो, हामीले जथाभावी गर्न मिल्दैन। कंग्रेसको पालामा भारतीय जनता पार्टीलाई वा विजेपीको पालामा कंग्रेसलाई भेदभाव गर्न मिल्दैन।

आठ वर्षको अवधिमा कामचाहिँ केके गर्नुभयो?

हामी सामाजिक, साँस्कृतिक, भाषिक काममा केन्द्रित हुँदै आएका छौँ। हाम्रो कार्यादेश पनि यही हो। संगिनी, मारुनी, धाननाच, बालन, नौमती बाजा जस्ता धेरै साँस्कृतिक संरक्षणका काम गर्दै आयौँ।

पहिलो वर्षमा दशवटा कर्मशालामार्फत अनुसन्धान र संकलन गरायौँ। अहिलेसम्म पैँतालीसवटा यस्ता कर्मशाला गराएका छौँ। एउटा कर्मशालामा ६० जना सहभागी हुने भनिए पनि कुनैमा सयभन्दा बढीले भाग लिँदै आएका छन्। यसै सन्दर्भमा एउटा घटना सम्झन्छु- नौमती बाजाका सन्दर्भमा हामी बाजा कहाँ पाइन्छ भनेर खोज्दै नेपालको धरान पुग्यौँ। त्यहाँ हामीलाई बाजा पसलमा आएका भाइले भन्नुभयो, 'हामीले नै यस्ता कुरा छोडिसक्यौँ, तपाईंहरू किन दु:ख बेसाउनुहुन्छ?'

यस्तो सुन्दा हामीलाई दु:ख पनि लाग्यो। तर हामीले यस्तै रहर लाग्यो भनेर जवाफ दियौँ र दश सेट बाजा ल्याएर विभिन्न जिल्लामा तालिम दिएर पोसाकसहित बाँड्यौँ। अहिले पनि प्रयोगमा छन् ती। एक सेट सरकारी संग्रहालयमा दिएका छौँ। यस्ता कतिपय साँस्कृतिक कुरा नेपालमा नभएका गहना, पोसाक, गीत, बाजा, भजन, खाँडो, कविता, सेलो, धाननाच, हातहतियारलगायत पहिचान राख्ने लोकजगतका जति कुरा भए पनि हामी संरक्षण र संवर्द्धन गर्न चाहन्छौँ।

ठूलो जनसंख्या हुँदाहुँदै पनि औपचारिक शिक्षामा नेपाली अर्थात् तपाईंहरूले भनेजस्तो गोर्खा भाषाले स्थान किन पाएन? जबकि यहाँहरूकै पितापुर्खाले कतिपय विद्यालय स्थापना गर्नुभयो, हजारौँ गोर्खालीहरू शिक्षकका रूपमा काम गरिरहेका छन्?

यहाँको सरकारी भाषा असमी हो। अंग्रेजी अन्तर्राष्ट्रिय मान्यताको भाषा हो। गोर्खा भाषा भारतकै दार्जिलिङ र सिक्किममा फरक ढंगले मान्यता पाएको छ। तर नेपालीमा पढेर जागिर वा अन्य काम पाइने अवस्था यहाँ छैन। अझ भारतभरको कुरा गर्ने हो भने झनै छैन। हाम्रा कतिपय अभिभावक पनि नेपाली पढाउन इच्छुक नदेखिएकाले यो प्राज्ञिक वा अनुसन्धानको वा जगेर्नाको विषय मात्र बनिरहेको छ। तर पनि हामीले ऐच्छिक रूपमा नेपाली पढ्न पाउनुपर्ने माग गरिरहेका छौँ। धेरै कलेजमा भने ऐच्छिक विषयका रूपमा छ नेपाली अहिले पनि।

बेला बखत नेपाल, भारत दुवैले हामीलाई सौतेनी व्यवहार गरेको महसुस हुन्छ। नेपाल, भारत दुवैले हामीलाई सौतेनी व्यवहार गर्नु जरुरी छैन। व्यक्तिगत, सामाजिक, साँस्कृतिक, भाषिक रूपमा नेपालले हामीलाई माया गर्नुपर्छ। यहाँका रैथाने समूहले पाएका सबै अधिकार भारतले दिनुपर्छ।

नेपाली शिक्षक धेरै छन्, के पढाउँछन् उनीहरूले?

हरेक विषयमा प्रतिस्पर्धी छौँ हामी। वर्षअघि शिक्षक लिन परीक्षा भएको थियो, जसमा ३० प्रतिशतभन्दा बढी गोर्खा थिए।

नेपालबाट हेर्दा आमरूपमा आसाम जाने र बस्ने नेपाली कृषि, पशुपालन र मजदुरी गर्न जाने मात्रै बुझ्ने गरिन्छ, यस्तै हो त?

होइन। हामी हरेक पेसामा छौँ। अघि भनिहाल्नुभो शिक्षक धेरै छन्। सरकारी कामकाजमा छन्। केहीमा चाहिँ हीनताले नगएर हो। पहिलेदेखिको कृषि, पशुपालन पनि कायम छ। चिया खेतीमा कैयौँ नेपाली छन्। उद्योगी, व्यापारी, डाक्टर, इन्जिनियर, चार्टर्ड एकाउण्टेन्ट, प्राध्यापक सबै छन्।

राजनीतिमा कति छन्?

छन् नि! कंग्रेस, वीजेपीमा संलग्न छन्। यहाँको असमको राजनीतिमा असम जनपरिषद्मा छन्। तीन जना सांसद (एमपी) हुनुभयो अहिलेसम्म, स्वरूप उपाध्याय एक कार्यकाल, मणिकुमार सुब्बा तीन कार्यकाल र अहिले रामप्रसाद शर्मा हुनुहुन्छ। मेरा पिताजी विष्णुलाल उपाध्याय चार पटक एमएलए हुनुभयो। तर पनि राजनीतिमा अलि ताक परे तिवारी नत्र गोतामे जस्तो नदेखिने हो भने अझै धेरै गर्न सकिन्थ्यो जस्तो लाग्छ।

नेपाली प्रकाशनहरू पनि निकै देखिए यहाँ, यसका लागि संस्थागत प्रयास पनि भएको  छ कि?

छन्, तर आर्थिक समस्या छ। हाम्रै परिषद्बाट झण्डै ४० वटा पुस्तक प्रकाशन गरेका छौँ। यस क्षेत्रको पहिलो मणिसिंह गुरुङले निकाल्नु भएको साप्ताहिक गोर्खा सेवकको सन् १९३६ पछिका उपलब्ध अंकहरू समेटेर पुस्तकको रूप दिएका छौँ। अन्तर्राष्ट्रिय सम्मेलन गरेका थियौँ यहाँ। बर्मा, नेपाललगायत भारतका विभिन्न भागबाट आएका नेपालीहरूको सहभागितामा त्यसमा प्रस्तुत साँस्कृतिक विषयलाई समेटेर एउटा महत्त्वपूर्ण पुस्तक निकालेका छौँ। 

पहिलेको तुलनामा नेपालबाट यता आउनेको संख्या घटेको हो?

आउनेको संख्या त ह्वात्तै घट्यो। यसो हुनुमा नेपालीहरूकै पनि विकल्प धेरै भएजस्तो लाग्छ। दोस्रो कुरा, यहाँका अरू जातजातिले पनि आफ्नो शिक्षा, सीप, जाँगर बढाउँदै लगे। यहाँ रोजगारीका विकल्प सीमित भए। सात पुस्तादेखि बस्दै आएकाहरू छन् यहाँ। पहिलेदेखि बस्दै आएका भारतीय गोर्खाहरू आफू मातृभूमि भारतप्रति समर्पित छौँ।

यताबाट उता फर्किने कति छन्?

त्यो पनि छैन अचेल। नेपालको राजनीतिक वातावरण धेरै गज्याङगुजुङ भइसक्यो र आर्थिक उन्नतिको अवसर पनि सीमित लाग्छ हामीलाई। भावनात्मक कुराबाहेक सानो बजार, सानो जनसंख्याले गर्दा त्यति ठूलो आकर्षण भएजस्तो लाग्दैन। भारतीय भूमिमा हाम्रा पिता पूर्खा र हाम्रो धेरै रगत पसिना बगेकाले होला यसको माया धेरै गहिरो भइसक्यो। हामी यतै अभ्यस्त भइसक्यौँ।

नेपाली मूलको हुनुका नाताले नेपाल र भारतीय हुनुको नाताले भारत सरकारलाई के भन्न चाहनुहुन्छ?

बेला बखत नेपाल, भारत दुवैले हामीलाई सौतेनी व्यवहार गरेको महसुस हुन्छ। नेपाल, भारत दुवैले हामीलाई सौतेनी व्यवहार गर्नु जरुरी छैन। व्यक्तिगत, सामाजिक, साँस्कृतिक, भाषिक रूपमा नेपालले हामीलाई माया गर्नुपर्छ। यहाँका रैथाने समूहले पाएका सबै अधिकार भारतले दिनुपर्छ। हामी अलग होइनौँ, हामी भारतीय हौँ तर पहिचान हाम्रो गोर्खा हो। हामीलाई पहिचान संरक्षण र विकासको अधिकार दिनुपर्छ। दुवै देशको सम्बन्ध सद्भावपूर्ण होस्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.