अब दुई पदमा मात्र निर्वाचन हुने

|

विराटनगर : माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश– १ का खुलातर्फका तीन जना पनि निर्विरोध निर्वाचित भएका छन्।

खुलातर्फ चार जनाको उम्मेदवारी दर्ता भएकामा नेकपा एमालेका खड्गबहादुर बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन्।

बस्नेतको उम्मेदवारी फिर्ता भएपछि एमालेका परशुराम मेघी गुरुङ (संखुवासभा) र हरिचरण सिवाकोटी (झापा) तथा नेपाली कांग्रेसका रमेशजंग रायमाझी (मोरङ) निर्विरोध निर्वाचित भएका हुन्। 

यसअघि वाम गठबन्धनले दुई जना मात्र उम्मेदवार बनाउने निर्णय गरेकामा कांग्रेसले अल्पसंख्यक र दलित कोटामा उम्मेदवारी दिएपछि अन्तिम समयमा बस्नेतको उम्मेदवारी दर्ता गरिएको थियो।

प्रदेशमा एकल संक्रमणीय पद्धतिबाट हुने निर्वाचनमा वाम गठबन्धनका दुई जना र कांग्रेसका एक जना निर्वाचित हुने अवस्था रहेकाले बस्नेतको उम्मेदवारी फिर्ता भएको हो। महिला कोटाको तीन जनामा भने तीन जनाकै मात्र उम्मेदवारी दर्ता भएकाले उनीहरू पनि निर्विरोध निर्वाचित भइसकेका छन्। महिला कोटामा एमालेकी नैनकला ओझा (मोरङ), माओवादी केन्द्रकी विना पोखरेल (मोरङ) र कांग्रेसकी सरिता प्रसाईं (झापा) निर्विरोध भएका हुन्।

राष्ट्रियसभामा प्रदेशबाट निर्वाचित हुने आठ जनामध्ये छ जना निर्विरोध निर्वाचित भएको घोषणा निर्वाचन अधिकृतको कार्यालयले सोमबार गरेको छ। अब दुई पदको मात्र निर्वाचन हुने १ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए। अब दलित र अपांगता भएका वा अल्पसंख्यक कोटाका लागि बहुमतीय प्रक्रियाबाट निर्वाचन हुने भएकाले निर्वाचन कार्यालयलाई पनि एकल संक्रमणीय झन्झटबाट मुक्ति मिलेको उनले प्रतिक्रिया बताए। 

प्रदेशबाट दलित कोटामा एमालेका खेम नेपाली (मोरङ) र कांग्रेसका विन विश्वकर्मा (झापा) तथा अल्पसंख्यक वा अपांगता कोटामा एमालेका अगम वान्तवा (इलाम) र कांग्रेसका महेश जाजु (मोरङ) प्रतिस्पर्धामा छन्। अल्पसंख्यक कोटामा उम्मेदवारी दिएकी राप्रपाकी अनुपमादेवी साहको पनि उम्मेदवारी फिर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्यहरूले मतदान गर्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.