के हुँदैछ कुष्ठरोग उन्मुलन अभियान!

|

कपिलवस्तु : सरकारले आठ वर्षअघि नै नेपाललाई कुष्ठरोग उन्मुलन घोषणा गरे पनि कपिलवस्तुमा भने वर्सेनि कुष्ठरोगीको संख्या बढ्दो छ। गत वर्ष जिल्लाभरि ७१ रोगी भेटिएकोमा यस वर्ष ७७ जना नयाँ बिरामी थपिएका छन्।

जिल्लाका साविकका ३५ गाविसमा सञ्चालन गरिएको कुष्ठरोग नियन्त्रण अभियानको क्रममा यस वर्ष ७७ जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। योसँगै जिल्लामा १ सय ४८ जना कुष्ठरोगी फेला परेको जनस्वास्थ्य कार्यालयका क्षयकुष्ठ अधिकृत मोहोम्मद इरफानले जानकारी दिए।
 
जिल्लामा सबैभन्दा धेरै कुष्ठरोगी शुद्धोधन गाउँपालिकाको बिठुवामा भेटिएका छन्। त्यहाँ १२ र मायादेवी गाउँपालिका हरनामपुरमा ८ जना कुष्ठरोगी फेला परेका छन्। चेतनाका कारण छाला जाँच गर्नेको संख्या बढेसँगै कुष्ठरोगीको संख्या बढेको अधिकृत इरफानको भनाइ छ। ‘पहिले मानिसले रोग लुकाउँथे,’ उनले भने, ‘पछिल्लो समय चेतनासँगै छाला जाँच गर्नेको संख्यामा बढेपछि कुष्ठरोगीको संख्या बढेको हो।’ नेपाली समाजमा अझै पनि कुष्ठरोगलाई लाज तथा भयको विषय बनाइएका कारण मानिसहरुले रोग लुकाएर बस्ने गरेको उनको भनाइ छ। 

स्वास्थ्य कार्यालयको आयोजनामा माघ ८ देखि १० गतेसम्म साविकका २६ गाविसमा तथा फेयरमेडले साविकका ९ गाविस कुष्ठरोग उन्मुलन अभियान सञ्चालन संचालन थियो। उक्त अभियनमा ७७ जना नयाँ कुष्ठरोगी फेला परेका हुन्। तीमध्ये ३९ जना एक वर्षभन्दा बढी सयमदेखि रोगी भएका छन्। रोगीमध्ये १३ जनाको अंगभंग भइसकेको छ। जिल्लामा प्रति दश हजारमा १ दशमलव १३ प्रतिशत रोगी फेला परेकामा नयाँ रोगी थपिएसंगै ३ प्रतिशतको हाराहारीमा पुग्ने अधिकृत ईरफानले बताए। 

जिल्लाको राजमार्ग क्षेत्रमा रहेका साविकका गाविसहरूमा वर्षौंदेखि कुष्ठरोग उन्मुलन अभियान सञ्चालन गरिएको थियो। यस वर्ष जिल्लाका दक्षिणी क्षेत्रमा अभियान सञ्चालन गरिएको हो।

सरकारले ५ माघ ०६६ सालमा नेपाललाई कुष्ठरोग उन्मुलन राष्ट्र घोषणा गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.