|

लहान : सिरहाको गोलबजार नगरपालिका–६ गोलबजारस्थित एक कम्प्युटर पसलमा सोमबार राति विद्युत् सर्ट भएर आगलागी भएको छ। स्थानीय सुधीर साह प्रोप्राइटर रहेको सुधीर इन्टरप्राइजेज कम्प्युटर पसलमा आगलागी हुँदा करिब एक करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।

महँगा उपकरण खरानी

आगलागीबाट पसलभित्र रहेका कम्प्युटर, ल्याप्टप, सिसीक्यामेरा, राउटर, हार्डडिस्कलगायत कम्प्युटरका सामग्रीहरु जलेर कामै नलाग्ने भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेश सुवेदीले जानकारी दिए।

‘पसलमा बेच्न राखिएका कम्प्युटर, ल्यापटप, सिसिक्यामेरासहित कम्प्युटरसम्बन्धी सामान र मर्मतका लागि राखिएका सामानसमेत जलेका छन्’ प्रहरी निरीक्षक सुवेदीले भने।

आगलागीको सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी र गोलबजार नगरपालिकाको वारुणयन्त्रको सहयोगमा बिहान ३ बजेतिर मात्र आगो निभाइएको भए पनि पसलका कुनै पनि सामान काम लाग्ने अवस्थामा नरहेको उनले बताए।

प्रोप्राइटर साह अस्पताल भर्ना

स्थानीय वीरेन्द्र खड्गाको घरमा रहेको कम्प्युटर पसल साँझ ८ बजेतिर बन्द गरेर प्रोप्राइटर साह गोलबजार–४ स्थित घर गएका थिए भने पसलमा काम गर्ने अन्य कर्मचारीहरु आ–आफ्नो डेरामा थिए।

पसलमा कोही नभएको समयमा आगालगीमा सवा करोड रुपैयाँ बराबरको क्षति भएपछि प्रोप्राइटर साह बेहोस भएर रातिदेखि नै अस्पताल भर्ना गरिएका छन्। आगलागी भएको थाहा पाएलगत्तै स्थानीय बासिन्दाले प्रहरी र प्रोपराइटर सुधीर साहलाई खबर गरेका थिए।

प्रोप्राइटर साहले पसलमा रहेको करिब तीन लाख रुपैयाँ नगदसमेत जलेको बताए। आगलागीमा घरको भित्ता जलेर केही ठाउँमा भ्वाङ परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.