|

गोरखा : नेपालका दोस्रो प्रधानमन्त्री भीमसेन थापाको जन्मथलो गोरखाको फिनाम पीपलथोक पर्यटकीय केन्द्रका रूपमा विकास भएको छ। गोरखा नगरपालिकाको सहयोगमा ‘भीमसेन उद्यान’ निर्माण गरेपछि आन्तरिक पर्यटक पीपलथोक पुग्न थालेका छन्। भीमसेन पार्क स्थानीय पर्यटकको गन्तव्यस्थल बनेको हो। 

विशेषगरी छुट्टीको दिन अथवा शनिबारको दिन भीमसेन पार्क घुम्न आउने आन्तरिक पर्यटकहरूको भीड नै लाग्ने गरेको छ। वि.सं. १८३२ मा थापाको जन्म पीपलथोकमा भएको थियो। पीपलथोकमा थापाको पूर्ण कदको शालिक राखेर उद्यानमा स्वदेशी र विदेशी पर्यटकको गन्तव्यस्थल बनाउने तयारी गरिएको गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तले बताए। 

‘गोरखाको नाम आउनेवित्तिकै भीमसेन थापाको पनि नाम जोडिइहाल्छ’, उनले भने, ‘हामीले निर्माण गरेको भीमसेन उद्यानमा यही वर्षभित्र शालिक राख्ने गरी काम अघि बढाउँदै छौँ। डिजाइन र कहाँ कस्तो स्थानमा राख्ने भनेर सर्भे भइसकेको छ। अब छिट्टै टेण्डर निस्कनेछ। काम अघि बढिसकेको छ।’ 

नगर प्रमुख पन्तले पार्कलाई व्यवस्थित बनाई आन्तरिकसँगै बाह्य पर्यटकको रोजाइमा पनि भीमसेन पार्क बनाउने नगरपालिकाको उद्देश्य रहेको समेत बताए।

त्यस्तै, भीमसेन पार्कसम्म जाने सडक स्तरोन्नतिका लागि ५१ लाख रुपैयाँको टेण्डर भइसकेको समेत पन्तले जानकारी दिए। भीमसेन उद्यान नजिकै थापाकै पालामा बनेको जर्नेल धारा पनि रहेको छ। 

ऐतिहासिक महत्त्व बोकेको पीपलथोकबाट मनास्लु, हिमालचुली, गणेश हिमाल, लमजुङ हिमाल, माछापुच्छ्रेलगायत हिमशृंखलाको अवलोकन गर्न सकिन्छ। साथै जिल्लाको चर्चित तथा ऐतिहासिक र पर्यटकीय केन्द्र अजिरकोट, सिरानचोक, लिगलिगकोटको दृश्यावलोकन गर्न सकिन्छ। 

यस्तै, भीमसेन उद्यान निर्माण गर्न स्थानीय बासिन्दा मकर गुरुङले दुई रोपनी क्षेत्रफल जग्गा दान गरेका छन्। सोही जग्गामा एक रोपनी थपेर उद्यान निर्माण गरिएको हो। यसअघि आर्थिक वर्ष २०७२/०७३ मा गोरखा नगरपालिकाअन्तर्गत वातावरणमैत्री स्थानीय शासन कार्यक्रमबाट उद्यान निर्माण गर्न पाँच लाख, आव २०७३/०७४ मा जिल्ला वन कार्यालयले एक नगर एक उद्यान कार्यक्रमअन्तर्गत आठ लाख र गोरखा नगरपालिकाले तीन लाख रुपैयाँ बजेट लगानी गरी उद्यान निर्माण गरेका हुन्। 

उद्यानमा धुपीलगायत विभिन्न जातका बोटबिरुवा हुर्काइएको छ। फूलबारी बनाइएको र आराम गर्न मिल्ने प्रतीक्षालयहरू बनाइएको गोरखा नगरपालिकाले जनाएको छ।  

सदरमुकामबाट गोरखा दरबार हुँदै पीपलथोक पुग्ने सडक कच्ची हुँदा बर्खायाममा पर्यटक पुग्न कठिन छ। यस वर्ष सडक सुधार गरी बर्खामा पनि सवारी चल्न सक्ने बनाउने तयारी गोरखा नगरपालिकाले थालनी गरेको नगर प्रमुख पन्तले बताए।। ‘अहिले बाटो कच्ची छ तर सबै खाले सवारी पार्कसम्म जान सक्छन्। बर्खायाममा त्यहाँ जान आउन समस्या हुने भएकाले आगामी बर्खायाम अगावै सडक स्तरोन्नति गरी हिउँद बर्खा नै सहजै पार्कमा जान आउन सक्ने बनाउने तयारीमा गोरखा नगरपालिका जुटेको छ।’

भीमसेन उद्यान निर्माण समितिका अध्यक्ष मकर गुरुङले आन्तरिक पर्यटकहरू आउने क्रम बढ्न थालेको बताए। ‘गोरखा बजारमै घर भएका तर अहिलेसम्म त्यहाँ नपुगेकाहरू अहिले जाने गर्नुभएको छ’, उनले भने, ‘यसको प्रचार प्रसार केही त भएकै रहेछ किनभने तनहुँ, चितवनतिरबाट पनि केही मानिसहरू घुम्न आउन थाल्नुभएको छ।’

अझै विदेशी पर्यटकलाई भने आकर्षण गर्न नसकेको उनको भनाइ छ। ‘यहाँ सबै खाले निर्माणको काम सम्पन्न गरेर आन्तरिकसँगै बाह्य पर्यटकहरू भित्र्याउने लक्ष्य रहेको छ’, उनले भने। उद्यान नजिकै होम स्टे पनि सञ्चालमा रहेको छ। उक्त होम स्टेमा अहिले विभिन्न क्षेत्रका मानिसहरू आएर रमाइलो गर्दै रात बिताउने गरेको स्थानीयहरू बताउँछन्। 

त्यस्तै, गोरखा नगरपालिकाका प्रमुख पन्तले गोरखाको पर्यटन विकासका लागि आफूहरूले गुरुयोजना बनाउन तयारी थालेको समेत बताए। ‘यहाँको पर्यटन विकासका लागि गुरुयोजना नै बनाएर अघि बढ्दै छौँ’, उनले भने, ‘चिल्ड्रेन पार्क आएकाहरूलाई पीपलथोकस्थित भीमसेन उद्यानसम्म पर्यटक ल्याउन सकेमा यस क्षेत्रका बासिन्दाको जीवनस्तर थप उकासिने थियो।’ गोरखा दरबार आउनेहरूलाई यहाँसम्म ल्याउने वातावरण नगरपालिकाले तयार गरिरहेको उनको भनाइ छ। ‘यसमा सबैको साथ अपरिहार्य छ’, उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.