|

काठमाडौं : प्रदेश- २ मा मिलेर प्रदेश सरकार निर्माण गर्न सहमत मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरमले त्यसका लागि गृहकार्य सुरु गरेका छन्।

१०७ सदस्य रहने यस प्रदेशमा फोरमले मुख्यमन्त्री पाउने आन्तरिक सहमति भएको छ। त्यसका लागि फोरमले प्रदेशसभाका सांसदहरूको बैठक २० गते शनिबार जनकपुरमा बोलाएको छ। प्रदेश- २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले प्रदेशसभाको बैठक २१ गते शनिबारका लागि बोलाएपछि फोरम मुख्यमन्त्रीको तयारीमा जुटेको हो। 

प्रदेश- २ मा फोरमका २९ र राजपाका २५ गरी ५४ सांसद छन्। दुई पार्टी एक्लैसँग बहुमत भएपछि फोरमले मुख्यमन्त्री चयनका लागि शनिबार संसदीय दलको बैठक बोलाएको हो। उक्त बैठकले संसदीय दलको नेता चयन गर्ने पार्टी उपाध्यक्ष लालबाबु राउतले बताए।

‘मुख्यमन्त्री फोरमलाई नै दिने आन्तरिक र अनौपचारिक सहमति भइसकेको छ’, राजपा अध्यक्ष मण्डलका एक सदस्यले थाहाखबरसँग भने, ‘प्रदेश सरकारको बाँडफाँट गर्दा भने आधाआधा मन्त्रालय लिने सहमति भएको छ, जसअनुसार सभामुख र प्रदेश गृहमन्त्रीको जिम्मेवारी राजपाले पाउनेछ।

फोरमबाट मुख्य मन्त्रीमा चार जनाको दाबी भए पनि पार्टी उपाध्यक्षसमेत रहेका लालबाबु राउत सबैभन्दा बरिष्ठ भएकाले उनैको पक्षमा निर्णय हुने फोरमका एक केन्द्रीय सदस्यले बताए। फोरमका राजनीतिक समिति सदस्यसमेत रहेका केन्द्रीय सदस्य शैलेन्द्र साह, केन्द्रीय सदस्यद्वय करिमा बेगम र विजयकुमार यादवले मुख्यमन्त्रीको दाबी गरेका छन्।

साह सप्तरी क्षेत्र नम्बर- २ 'क'बाट निर्वाचित प्रदेश सांसद हुन्। उनले पार्टी अध्यक्ष यादवलाई निर्वाचनमा सुनसरीबाट सप्तरी ल्याएर जिताउने भूमिका खेलेको भन्दै मुख्यमन्त्रीको दाबी गरेका छन्। अर्का केन्द्रीय सदस्य यादवले पनि धेरै सांसद जिताउन सफल सिरहाबाटै मुख्यमन्त्री चयन हुनुपर्ने भन्दै आफ्नो दाबी रहेको बताएका छन्। 

उपाध्यक्ष राउतले थाहाखबरसँग भने, ‘फोरमका २९ जना प्रदेश सांसदको मुख्यमन्त्रीमा दाबी रहेको छ। त्यसअघि पार्टीको शनिबार बस्ने संसदीय दलको बैठकले नेता चयन गरेपछि मात्र कुन व्यक्ति मुख्यमन्त्री बन्ने भन्ने निर्णय हुनेछ।’

प्रदेश दुईमा राजपाबाट विजयी उपाध्यक्ष रामनरेश राय र महामन्त्रीद्वय मनीषकुमार सुमन र जितेन्द्र सोनलले मुख्यमन्त्रीमा दाबी गरे पनि राजपा अध्यक्ष मण्डलका सदस्यहरूले फोरमले राजपाभन्दा चार सिट बढी जितेकाले फोरमलाई नै मुख्यमन्त्री दिने बचन दिइसकेको बताए। राजपाभित्र मुख्यमन्त्री को बन्ने भन्ने विषयलाई लिएर पदाधिकारीस्तरमै विवाद हुने देखिएपछि अध्यक्ष मण्डलले यस्तो उपाय गरेको हो।

प्रदेश- २ को प्रदेशसभा बैठक आइतबारका लागि बोलाइए पनि राजपाले भने प्रदेश सांसदको बैठकसमेत बोलाएको छैन। यस प्रदेशमा संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा सहमति नजुटेपछि दलको बैठक नै बोलाइएको छैन। राजपा उपाध्यक्ष रामनरेश राय भन्छन्, ‘संसदीय दलको बैठक बोलाउने वा संसदीय दलको नेता चयन गर्ने विषय अध्यक्ष मण्डलको निर्णयमा भरपर्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.