|

बैतडी : जेष्ठ शहीद दशरथ चन्दको जिल्ला बैतडीमा शहीद दिवस २०७४ धुमधामका साथ मनाइएको छ। शहीद दिवसको अवसरमा अमर शहीद दशरथ चन्दको जन्मघर बैतडीको दशरथचन्द नगरपालिका– ५ बस्कोटमा रहेको शहीद सदनमा विशेष श्रद्धाञ्जलिसभाको आयोजना गरिएको गरियो। 

दशरथचन्द स्मृति प्रतिष्ठानले हरेक वर्षझैँ यस वर्ष पनि शहीद दिवसको अवसरमा अमर शहीद दशरथ चन्दको जन्मघरमै उनको शालिकमा मल्यार्पण गर्दै सम्झना गरेको हो। 

प्रतिष्ठानका अध्यक्ष चतुरबहादुर चन्दको अध्यक्षता तथा जिल्ला अदालत बैतडीका न्यायाधीश विष्णुप्रसाद गौतमको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थी, शिक्षक, समाजसेवी, सेना, प्रहरी, राष्ट्रसेवक कर्मचारी, संचारकर्मीलागायतको सहभागिता रहेको थियो। कार्यक्रमका सहभागी सबैले शहीद सदन बस्कोटमा रहेको चन्दको शालिकमा माल्यार्पण तथा पुष्पार्पण गरेका थिए। सभामा ज्ञात अज्ञात शहीदहरूप्रति एक मिनेट मौनधारण गरी श्रद्धासुमन अर्पण गरिएको थियो। 

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहुति गरेका जेष्ठ शहीद चन्दको स्मरण गर्दै बैतडीवासीले उनको उच्च सम्मानका साथ श्रदाञ्जलि अर्पण गरेका छन्। 
कार्यक्रम प्रतिष्ठानका सल्लाहाकार तेजप्रकाश भट्टले अमर शहीद दशरथ चन्दको बलिदानीले नेपाली जनता स्वतन्त्र भएको स्मरण गराए।

कार्यक्रममा बोल्ने अधिकांशले जथाभावी शहीद घोषणा गर्ने परिपाटीले जेष्ठ शहीदको अपमान भएको धारणा राखे। प्रमुख अतिथि जिल्ला न्यायाधीश गौतमले सबै राष्ट्रसेवक कर्मचारी र नागरिकले इमान्दारीका साथ देशको भलो हुने काम गरे शहीदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताए। 

दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख मीना चन्दले शहीद दशरथ चन्दको जन्मघरको संरक्षणका लागि नगरपालिकाले पहल गर्ने प्रतिबद्धता जनाइन्।
वि. सं. १९९७ माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई काठमाडौंको शोभाभगवतीमा गोली हानी हत्या गरिएको थियो। 

यस्तो छ शहीद दशरथ चन्दको इतिहास 
दशरथ चन्दको जन्म वि. सं. १९६० असारमा बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा ओजकुमारी चन्दको कोखमा माहिला छोराका रूपमा भयो। यहाँ ‘शहीद माहिला’ भन्नाले दशरथ चन्दलाई बुझिन्छ। 

उनका पितालाई सुर्खेतमा टुँडिखेल बनाउने लेफ्टिनेन्ट शेरबहादुर चन्दका नामले चिनिन्छ। राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व शहीद चन्दले मानविकी तथा समाजशास्त्र विषयमा वनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए थिए। 

त्यसअघि उनले नेपालगंज, भारतको अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा पढेका थिए। त्यही बेला उनले काशी नागरिक प्रचारिणी सभामा रहेर राजनीति गर्न थाले। महात्मा गान्धीले भारतमा प्रारम्भ गरेको सत्याग्रहमा उनी सक्रिय रूपमा सहभागी भएका थिए। 

वि. सं. १९९० मा बारा जिल्लाको मौवादहमा टंकप्रसाद आचार्यसँग दशरथको पहिलो पटक भेट भएको थियो। वि. सं. १९९१ मा उनी सहयोगी शिवदत्त भट्टका साथ बर्मा पुगे। त्यसपछि थाइल्याण्ड पुगेर नेपालमा सशस्त्र क्रान्ति गर्ने योजना बनाए। उनी त्यस बेला नेपाल प्रजा परिषद्को कार्यकर्ता थिए। उनी ‘सेवा सिंह’ छद्म नामबाट राणाविरोधी लेख लेख्ने गर्थे। 

दशरथ चन्द र गंगालाल श्रेष्ठ एउटै जेलमा परेका थिए। तत्कालीन राणा सरकारले वि. सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दियो।

उनी अविवाहित अवस्थामै शहीद भए। दशरथका जेठा बुबा रवि चन्द र कान्छा बुबा सुबेदार दलबहादुर चन्द थिए भने दाजु गोकर्ण चन्द थिए। भाइ ललित चन्द ०५१ सालमा बिते।

चस्मा लगाउने दशरथ चन्द गाउँमा प्रत्येक घरमा जान्थे। दिदी, बहिनी, भाउजूहरूसँग ख्यालठट्टा गर्थे। उनलाई भोक लागेमा जुन घरका मानिससँग पनि मागेर खान हिच्किचाउँदैनथे। मोही दशरथलाई खुब मनपर्थ्यो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.