|

पर्वत : बागलुङ जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकाको एक विद्यालयमा सोमबार राती तोडफोड भएको छ। 

ढोरपाटन नगरपालिका– १ बुर्तिवाङमा रहेको उत्तरगंगा माध्यमिक विद्यालयमा अज्ञात समूहले तोडफोड गरेको हो। उक्त समूहले विद्यालयको कक्षा कोठा तोडफोड गरी महत्त्वपूर्ण कागजातहरू जलाइदिएको विद्यालयका प्रधानाध्यापक नवीन जीसीले जानकारी दिए।

प्रअ जीसीका अनुसार अर्धवार्षिक परीक्षाका लागि तयार पारिएका उत्तरपुस्तिकालगायतका महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका छन्। तीनवटा कक्षा कोठा तोडफोडपछि कोठाभित्र रहेका दराजसमेत फोडेर केही समय पहिलेका परीक्षामा प्रयोग भएर बाँकी रहेका तीन बण्डल उत्तरपुस्तिकामा जलाइएका छन्। कम्प्युटर तथा अन्य फाइल सामग्रीहरू समेत यत्रतत्र फालिदिएको पनि प्रधानाध्यापक जीसीले बताए।

विद्यालयको सुरक्षाका लागि बस्दै आएका बुद्धिप्रसाद पौडेल विद्यालय नजिकै आफन्तकहाँ खाना खान गएको मौका पारेर अज्ञात समूहले विद्यालयमा तोडफोड गरेको र खाना खाई रातको पौने १ बजे विद्यालयमा आउँदा शिक्षक स्टाफको कक्षा खुला भएको तथा उत्तरपुस्तिका भएको कक्षामा उत्तरपुस्तिका जलिरहेको देखेपछि पौडेलले प्रहरीलाई खबर गरेका थिए।

तत्काल घटनास्थलमा पुगेको प्रहरीले घटनाको बारेमा अनुसन्धान थालेको भए पनि हालसम्म घटना कसले र किन गराएको भन्नेबारेमा भने पत्ता नलागेको जनाएको छ। घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण रानाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.