|

काठमाडौं : बुधवार साँझ खग्रास चन्द्रग्रहण लाग्दैछ। ५: ३२ बजे सुरु हुने यो ग्रहण काठमाडौंमा भने ५: ५५ देखि देख्न सकिने नेपाल संस्कृत विश्वविद्यालयका सहप्राध्यापक जयन्त आचार्यले बताए। ‘नेपालमा आज ग्रहण लागेरै चन्द्रमा उदाउनेछ’, ‘यसलाई ग्रस्तोदित चन्द्रग्रहण भनिन्छ।’

बुधबार साँझ लाग्ने खग्रास चन्द्रग्रहण७: १६ मध्य हुने र राति ८: ५७ मिनेटमा सकिने पञ्चाङ्गहरूले उल्लेख गरेका छन्। आचार्यका अनुसार यो चन्द्रग्रहण जापान, कोरिया, चीन, मलेसिया, थाइल्याण्ड तथा अष्ट्रेलियाको सिड्नीबाट अन्त्यसम्म देख्न सकिनेछ। दक्षिण अमेरिकाको ब्रालिजलगायत मुलुक र अफ्रिकाका पश्चिमपट्टिका केही देशका नागरिकले भने यो ग्रहण हेर्न पाउने छैनन्।

पौराणिक मान्यताअनुसार चन्द्रग्रहण लाग्नु तीन प्रहर (९ घण्टा) अघिदेखि सुतक लाग्ने पं. बालमुकुन्द देवकोटा बताउँछन्। बुधबार बिहान ८ ५५ बजेसम्म खाना खाइसक्नुपर्ने पञ्चांगहरूले उल्लेख गरेका छन्। लेखिएको छ, ‘बालक, वृद्ध र बिरामीहरूका लागि छुट छ।’ ग्रहणको समयमा सुत्ने, खाने र मैथुन गर्नेलगायतका काम वर्जित गरिएका छन्।

‘ग्रहणका बेला स्नान, जप, हवन, पाठ– पारायण आदि गर्नाले अरु बेलामा गरेको भन्दा बढी फल प्राप्त हुने पुराणहरूमा बताइएको छ’, पं. देवकोटा भन्छन्।

यस्तो छ फल 

बुधबार लाग्ने ग्रहणले तिष्य, अश्लेषा नक्षत्र र कर्कट राशि भएका व्यक्तिहरुलाई अतिकष्ट हुने बताइएको छ। मेष– व्यथा, वृष– श्रीप्राप्ति, मिथुन–क्षति, कर्कट–घात, सिंह–व्यय, कन्या–लाभ, तुला–सुख, वृश्चिक–माननाश, धनु–कष्ट, मकर–स्त्रीपीडा, कुम्भ– सुख र मीन–चिन्ताको फल ज्योतिषीहरूले बताएका छन्।

के हो ग्रहण?

ग्रहण औंसी र पूर्णिमामा लाग्छ। सूर्यग्रहण औंसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा। खगोलशास्त्र वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ। सामान्यतयः सूर्य र चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था नै ग्रहण हो।

चन्द्रग्रहण

पृथ्वी चन्द्रमा र सूर्यको बीचमा परेको अवस्थामापृथ्वीको छाया चन्द्रमामा देखिनु नै चन्द्रग्रहण हो। चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था (पूर्ण वा आंशिक) नै ग्रहण मानिन्छ। खग्रास र खण्डग्रास गरी ग्रहण दुई प्रकारको हुन्छ। पूरै छोप्ने अवस्थालाई खग्रास र केही भाग कालो देखिने अवस्थालाई खण्डग्रास भनिन्छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.