|

लहान : सिरहाको लहान नगरपालिका–२२ जहदीका करिव एक सय घर दलित परिवारले गाउँब्लक र ऐलानी जग्गामा बसोबास गर्दै आएको पुस्तौं बित्यो। झुपडी बनाएको जग्गा पनि आफ्नो स्वामित्वमा नभएकाले वस्तीका प्रायः सबै दलितहरुले हरुवा–चरुवा र कृषि मजदुरको काम गरेर जीविका चलाइरहेका छन्। कमजोर आर्थिक अवस्था भएका त्यही दलित परिवारका महिलाहरूले बचत समूहमार्फत् सामूहिक माछापालन गर्न थालेपछि भने आर्थिकरूपले आत्मनिर्भर बन्दै गएका छन्।

वस्तीका २८ जना दलित महिला ‘लक्ष्मी हरुवा–चरुवा महिला बचत समूह’मा आवद्ध छन्। समूहमा आवद्ध महिलाहरूले ५ साउन ०७३ मा लहान नगरपालिका २२ नं. वडा कार्यालयबाट तीन वर्षका लागि एक लाख पाँच हजार रुपैयाँमा पोखरी ठेक्कामा लिएर माछापालन गर्न थालेपछि उनीहरूको आर्थिक स्तर बढेको छ। ठेक्का पाएपछि चार पटक भुरा हालिएको पोखरीबाट छ पटक माछा निकालेर बिक्री गर्दा एक लाख ३० हजार रुपैयाँ आम्दानी भएको समूहकी अध्यक्ष रामरती रामले बताइन्। 

पाँच कठ्ठा क्षेत्रफलको पोखरीमा पालिएको माछा प्रायः चाडपर्वको समयमा निकालेर समूहका सदस्यलाई बाँडिने र बाँकी बिक्री गर्ने गर्दै आएका छन्। ‘माछा खान मन लागेको समयमा सदस्यहरुलाई बाँड्दा पनि पहिलो वर्षमै फाइदा भयो।’ समूहकी सचिव ललिता रामले भनिन्। उनका अनुसार माछा बिक्रीबाट आएको रकममध्ये ५५ हजार रुपैयाँ समूहका सदस्यलाई कम ब्याजमा लगानी गरिएको छ भने बाँकी रकम बैंकमा बचत गरिएको छ।
 
समूहमा आवद्ध महिलाहरू मासिकरूपमा बैठक बसेर समूहका सदस्यहरूको साह्रोगाह्रो, सामुदायिक तहमा हुने विभिन्न गतिविधिबारे पनि छलफल गर्दछन्। उनीहरूले प्रत्येक बचत पनि गर्दै आएका छन्। ‘त्यसरी बचत गर्दा फजुल खर्च समेत कम हुँदै गएको छ,’ समूहकी कोषध्यक्ष कल्याणीदेवी रामले भनिन्, ‘अप्ठ्यारो पर्दा समूहकै रकम झिकेर काम चलाउन सकिने अवस्था बनेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.