|

नामिबियामा हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन– २ को तयारीका लागि युएईमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले मंगलबार पहिलो अभ्यास खेल खेल्यो। दुवईको आईसीसी ओभल मैदानमा नेपालले युएई ‘ए’ टिमलाई २५ रनले पराजित गर्‍यो। पहिलो अभ्यासमा नेपालले सहज जीत निकाले पनि नेपालले सुधार गर्नुपर्ने थुप्रै कुराहरू मंगलबारको खेलले देखायो।

नेपाली राष्ट्रिय टिमले अझै पनि पूरा अोभर खेल्न सकेन, जसले गर्दा अन्तिम अवस्थामा जोड्न सकिने ‘विनिङ रन स्कोर’, जो डिभिजन टुमा निर्णायक बन्न सक्छ, उक्त रन जोड्ने गरी क्रिजमा टिक्नु नेपाली खेलाडीका लागि पहिलो दायित्व बनेको छ।

नेपालले ४९ ओभर ३ बलमा अलआउट हुँदै २४६ रन बनायो, जुन औसत रनरेट हो। डिभिजन टुमा निकै दाबेदार टिम भएकाले पहिलो ब्याटिङ गरेर जीतका लागि मध्यम मानिने २६० बढीको स्कोर गर्नुपर्ने हुन्छ। त्यसका लागि ओपनिङ साझेदारीको खोजीमा अझै पनि नेपाल रहेको छ। सकारात्मक मान्नुपर्छ कि मंगलबारको अभ्यासमा ओपनरहरूले सुरुवाती झड्का दिएनन्।

यसले गर्दा ज्ञानेन्द्र मल्ल र दिलीप नाथको जोडी जम्ने सम्भावना देखिएको छ। ओपनरहरूको मध्यम सुरुवातले पनि मध्यक्रमका ब्याट्सम्यानलाई सहज हुने स्पष्ट देखियो। त्यसैले पनि नेपालले अझै पनि ब्याटिङ अर्डरमा संयम हुनु जरुरी देखियो। ओपनर दिलीप नाथले आकर्षक इनिङ खेल्दै ६१ रन बनाए। नाथले ६० बलमा नौ चौका र एक छक्का प्रहार गरेका थिए। अर्का ओपनर ज्ञानेन्द्र मल्ल १८ रनमा पेभिलियन फर्किए। मल्लले २८ बलमा दुई चौका प्रहार गरे।

टप अर्डरमा रहेका ब्याट्सम्यानहरूले कम्तिमा दोहोरो स्कोर बनाउनु जरुरी हुन्छ। सुरुवात राम्रो भएसँगै उनीहरूको जिम्मेवारी टिमलाई बढी स्कोरतर्फ डोर्‍याउनु हुन्छ। अनिलकुमार साहले ३१ रन बनाउँदा चौथो नम्बरमा ब्याटिङका लागि आएका कप्तान पारस खड्काले २० रन बनाए, जसले नेपाली इनिङलाई राहत दियो।

तर अझै पनि आशा गरिएका खेलाडीको प्रदर्शन अस्थिर हुने त होइन? भन्ने त्रास मंगलबारको खेलमा देखियो। मिडल अर्डरमा राम्रो गर्ने मानिएका दीपेन्द्रसिंह ऐरी र आरिफ शेख चल्न नसक्दा कप्तान खड्कामाथि दबाब बढेको थियो। तर नेपाली टिममा पहिलो पटक सहभागी भएका रोहितकुमार पौडेलले ५१ बलमा ४३ रन बनाउँदै नेपाली टिमलाई सम्मानजक स्कोरमा पुर्‍याउन उत्कृष्ट भूमिका निर्वाह गरे। पौडेलले छ चौका प्रहार गरे।

त्यसपछि वसन्त रेग्मी र करण केसीले पनि संयमित इनिङ खेले। वसन्तले २१ रन जोड्दा करणले आक्रामक ब्याटिङ गर्दै १६ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ३५ रन जोडेका थिए।

बलिङले धान्छ मध्यम स्कोर
नेपाली बलरहरूले कम्तिमा ५० ओभरमा २५० सम्मको स्कोरलाई रक्षा गर्ने क्षमता राख्छन्। तर नेपाली बलरहरूले खेललाई जुनसुकै अवस्थामा आफ्नो पक्षमा पार्न सक्छन् भने सन्देश पनि मंगलबारको खेलले दियो।

नेपालले दिएको २४७ रनको लक्ष्य पछ्याएको युएई ‘ए’ ४८ ओभर चार बलमा अलआउट हुँदै २२१ रनमा समेटियो। युएईका लागि छैटौँ नम्बरमा ब्याटिङका लागि आएका नील लोबोले सर्वाधिक ५९ रन बनाए। पारस खड्काद्वारा बोल्ड हुनुअघि नीलले ९० बलमा चार चौका प्रहार गरेका थिए।

त्योभन्दा महत्त्वपूर्ण युएईले पहिलो विकेटका लागि निकै उत्कृष्ट साझेदारी दिएको थियो। त्यसलाई तोड्दै खेल आफ्नो पक्षमा पार्नु नेपाली बलरहरूका लागि चुनौती थियो। ओपनरहरू फहाद जवाज र चिराग सुरीले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गर्दै युएई ‘ए’लाई राम्रो सुरुवात दिलाए। सुरीले ४५ र नवाजले ३६ रन बनाए। थप स्कोरका रूपमा वासी साह र अन्स टन्टनले समान १७ रन बनाए।

पारसको अलराउन्डर प्रदर्शनले थप आश
युएईको राम्रो सुरुवातलाई दीपेन्द्रसिंह ऐरीले तोड्दै खेलमा नेपाललाई फर्काए। त्यसपछि लगातार विकेट पतनको सिकार बनाउने क्रममा नेपालका कप्तान पारस खड्काले पाँच विकेट लिएका थिए। ब्याट्सम्यानका रूपमा रहँदै आएका खड्का पार्ट टाइम बलरका रूपमा रहने गर्थे। यस्तोमा अब उनले परिस्थितिअनुसार आफूलाई बलरका रूपमा उभ्याउँदै अलराउन्डर भूमिकामा पुर्‍याउनु नेपाली टिमका लागि निकै सकारात्मक पाटो हो। दीपेन्द्रसिंह ऐरीले सुरुवातका दुई ओपनरसहितका कुल तीन विकेट लिँदै बलिङमा पनि प्रभाव छोड्न सफल भए।

युएईमा नेपालले थप दुई अभ्यास खेल खेल्नेछ, जहाँबाट नेपालले आफूलाई थप प्रभावकारी बनाएर नामिबियाको निर्णायक खेलका लागि तयार पार्नेछ। नेपालले माघ १५ बाट नामिबियामा हुने आईसीसी विश्व क्रिकेट लिग डिभिजन– २ मा सहभागिता जनाउनेछ। प्रतियोगितामा नेपालसहित नामिबिया, युएई, केन्या, क्यानडा र ओमानसहित छ टिमले सहभागिता जनाउनेछन्। डिभिजन– २ को शीर्ष २ भित्र पर्ने टिमले एक दिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.