|

भक्तपुर : पौष शुक्ल पूर्णिमादेखि भक्तपुरको हनुमानघाट त्रिवेणीमा सुरु भएको माधवनारायणको एक महिना लामो व्रत बुधबार सकिएको छ। हरेक वर्षको पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लाग्ने माधवनारायण व्रत समाप्तिको दिन बुधबार खग्रास चन्द्र ग्रहण परेकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिको सुझावअनुसार बिहानै हनुमानघाटमा व्रत सम्पन्न गरिएको हो।

किंवदन्तीअनुसार काठमाडौंको साँखुमा माधवनारायणको व्रत बस्ने प्रचलन सुरु हुनुभन्दा अघिदेखि नै भक्तपुरको हनुमानघाटमा व्रत बस्ने प्रचलन रहेको थियो।

हनुमानघाटमा माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शंखजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शंखजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ।

व्रतालुले औँशीदेखि नै खालीखुट्टा भक्तपुरको टौमढीस्थित तील माधवनारायणबाट तलेजु भवानीसम्म पैदल हिँडेर दर्शन गर्न जाने परम्परा रहेको छ। त्यसैगरी, पुरुष व्रतालुहरु शरीरमा एकसरो सेतो कपडा लगाएर जमिनमा घस्रँदै विभिन्न मन्दिरमा दर्शनका लागि जाने परम्परा रहेको छ।

त्यसैगरी, सप्तमीमा पनौती गएर त्रिवेणीमा स्नानगरी इन्द्रेश्वर महादेवको दर्शनगरी अष्टमीमा फर्कने, दशमीमा पशुपति गएर स्नानगरी जल चढाएर जयवागेश्वरी ताम्रेश्वर महादेवसम्म कलश यात्रा गर्ने,

द्वादशीमा चाँगुनारायण शंखदहमा स्नानगरी कलश लिएर चाँगुनारायणको दर्शन गर्ने र माघ शुक्ल पुर्णिमाका दिन नगर परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा रहेको छ।

पछिल्ला केही वर्षदेखि ढलका कारण हनुमानघाटस्थित त्रिवेणीधाम दुर्घन्धित भएपछि हनुमानघाटमा व्रत बस्नेको संख्या घट्दै गएको माधवनारायण मेला व्यवस्थापन समितिले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.