|

डडेल्धुरा : अधिकांश पढेलेखेका युवायुवतीहरूको उद्देश्य हुन्छ, जागिर। पढेलेखेका व्यक्ति प्रायः जागिरका लागि भौँतारिइरहेका हुन्छन्। अझ भन्ने हो भने गैरसरकारी संस्थामा जागिर गर्नेको त लहर नै चलिरहेको छ।

तर कोही व्यक्ति यस्ता पनि छन्, जो जागिर छोडेर कुनै न कुनै व्यवसाय गरिरहेका छन्। त्यसैको उदाहरण हुन्, कान्ति जोशी। उनी विगत आठ महिनादेखि डडेल्धुरा सदरमुकामको तुफानडाँडाकमा ब्युटी पार्लर व्यवसाय गर्दै आइरहेकी छन्। उनको घर बैतडीको सिगास गाउँपालिका– २ धौलाडी हो। 

उनी आजभोलि डडेल्धुराको अमरगढी नगरपालिका– ४ मा बस्दै आइरहेकी छन्। उनीसँग एक दशक विभिन्न संघसंस्थाहरूमा काम गरेको अनुवभ छ। २०६२ सालदेखि २०७३ सालसम्म विभिन्न संघसंस्थामा काम गरेको उनले बताइन्। ‘दुई वर्षजति नेपालगञ्जमा काम गरेँ’, उनले भनिन्, ‘बाँकी समय मैले बझाङमा काम गरेकी हुँ।’ बिहान १० बजे पसल खोलेर बेलुकी ६ बजेतिर बन्द गर्ने उनले बताइन्।

आफ्नो व्यवसायबाट आफू सन्तुष्ट भएको उनी बताउँछिन्। दैनिक दुई हजारभन्दा बढी आम्दानी भइरहेको उनले बताइन्। घरखर्च कटाएर मासिक ३० हजार रुपैयाँभन्दा बढी बचत गर्ने गरेको जोशीले सुनाइन्। ‘महिनामा यति नै कमाइ हुन्छ भन्ने त छैन तर पनि मैले मासिक २५ देखि ३० हजारसम्म बचत गर्ने गरेकी छु’, उनले भनिन्, ‘घरायसी खर्च पनि यसैबाट चलाएकी छु। दुई जना बच्चाहरूको स्कुल खर्च पनि यो व्यवसायबाटै धानेकी छु।’

श्रीमानको प्रेरणाले आफूले यो व्यवसाय संचालन गरिरहेको उनको भनाइ छ। ‘पहिले त मैले एनजीओ, आईएजीओमा काम गरेँ’, जोशीले भनिन्, ‘पछि साथीहरूले प्रेरणा दिनुभयो, त्यसमाथि पनि मेरा श्रीमान र परिवारका सदस्यहरूको महत्त्वपूर्ण भूमिका रह्यो।’

परिवारका सदस्य र श्रीमानले एनजीओको जागिरले केही पनि हुँदैन भनेपछि आफूले यो व्यवसाय सञ्चालन गरेको उनले बताइन्। उनका श्रीमान खलंगा वन कार्यालयमा रेन्जर पदमा कार्यरत छन्।

जागिर र व्यवसायमा आकाश–जमिनको फरक
एनजीओको जागिर र व्यवसायमा आकाश–जमिनको फरक भएको उनको बुझाइ छ। ‘जागिर र व्यवसायमा आकाश–जमिनको फरक छ’, उनले भनिन्, ‘जागिर गर्दा १५–२० हजारको लागि महिनौँ कुर्नुपर्छ तर व्यवसाय गर्दा २५–३० हजार एक दिनमै कमाउन सकिन्छ।’

उनले व्यापार र जागिरमा धेरै फरक भएको र व्यापार गर्दै जाने हो भने जागिर सामान्य लाग्ने बताइन्। आफूलाई आजभोलि व्यापार गर्दै जाँदा जागिर टाइमपास जस्तो लाग्ने गरेको उनको अनुभव छ। ब्युटी पार्लरका लागि सामानहरू धनगढी, काठमाडौं र भारतको राजधानी दिल्लीबाट ल्याउने गरेको उनी बताउँछिन्।

व्यवसाय गर्दाका चुनौती
व्यापार व्यवसाय गर्दा महिलामाथि धेरै चुनौतीहरू रहेको उनको ठम्याइ छ। ‘महिलाहरूलाई बाहिर हिँड्न पनि समस्या हुन्छ। पुरुषहरूले त्यसै पनि हेप्न खोजिरहेका हुन्छन्’, उनले भनिन्, ‘तर पनि आफू सक्षम र बाठो हुनुपर्छ, त्यति धेरै हेप्दैनन्। सुदूरपश्चिमेली समाजमा महिलाहरूलाई कठिन त हुन्छ नै।’

जागिरको पैसाले व्यवसाय
एनजीओको जागिरको पैसा र श्रीमानको कमाइले आफूले व्यवसाय सुरु गरेको जोशीले बताइन्। ‘यो पसल गर्नुभन्दा पहिले म आफैँ सानोतिनो जागिर गर्थें। महिनाको २२–२५ हजार कमाउँथेँ’, उनले भनिन्, ‘यो व्यवसाय संचालन गर्नका लागि श्रीमानबाट पनि केही पैसा लिएर व्यापार गर्दै छु।’

व्यापारबाट श्रीमान निकै सन्तुष्ट भएको उल्लेख गर्दै उनले भनिन्, ‘मभन्दा पनि उहाँ नै खुसी हुनुहुन्छ किनभने थोरै कमाइ भए पनि घरपरिवार सँगै बसेर व्यवसाय गर्न पाउँदा त मभन्दा खुसी त उहाँ नै हुनुहुन्छ।’ 

आफ्नो व्यवसायबाट घरपरिवारका अन्य सदस्यहरू पनि सन्तुष्ट नै रहेको उनको भनाइ छ। जागिरभन्दा पनि पसलबाट उनीहरू सन्तुष्ट गरेको उनले सुनाइन्।
एसएलसी उत्तीर्ण गरेपछि उनी २०६२ सालमा पढाइको सिलसिलामा नेपालगंज गइन्। उतै छ महिना व्युटिसियन तालिम लिइन्। परिवारसँगै सल्लाह गरेर सीप सिकेको उनले बताइन्। ‘यो सीप सिक्ने अवसर मलाई मेरा दाजुभाउजू र आमाबुबाले दिनुभएको हो’, उनले भनिन्।

सौन्दर्यले सबैलाई आकर्षित गर्छ। अहिले आएर महिला मात्र नभई पुरुष पनि पार्लर जान थालेका छन्। आर्थिक सम्पन्नतासँगै ब्युटी पार्लरमै गएर ‘ब्युटी’ बन्ने महिला–पुरुषको शोखले पार्लर व्यवसाय फस्टाएको छ। 

कम लगानी, छोटो तालिम, व्यवसाय सुरु गरेर मनग्य आम्दानी हुने भएपछि यसप्रति धेरैकोे आकर्षण बढेको हो। यसले महिलामा उद्यमशीलता पनि बढाएको छ। यो व्यवसायलाई अझै विस्तार गरेर लैजाने योजना रहेको उनले सुनाइन्। आफूमा भएको सीपलाई श्रमिक बनाएर सबैलाई सेवा दिन तयार रहेको उनको भनाइ छ।

‘पारिवारिक साथ र सहयोग पाए अझ यो व्यापारलाई विस्तार गर्ने सोच बनाएकी छु’, उनले भनिन्, ‘पारिवारिक खर्च र बाचबच्चाको स्कुल खर्च चलाउन यो व्यापारको थालनी गरेकी हुँ।’ आफूले गर्दै आइरहेको व्यवसायबाट श्रीमानलाई पारिवारिक खर्चको बोझ कम होस् भन्ने पनि आफ्नो उद्देश्य रहेको उनले बताइन्।

महिलाहरूलाई यस्तो छ उनको सुझाव
गाउँघरमा बेरोजगार रहेका दिदीबहिनीहरूलाई कुनै न कुनै सीप सिक्न उनको सुझाव छ। ‘गाउँतिर रहनुभएका बेरोजगार दिदीबहिनीहरू केही सीप सिक्नुस्। आफूले सिकेको सीपको सदुपयोग गर्नुस्’, उनले भनिन्, ‘सीप सिकेर मात्रै घरमा बसेर घाँसदाउरा काटेरै मात्र बस्ने होइन, त्यो त हाम्रो दैनन्दिन हो।’ 

महिला दिदीबहिनीहरूलाई घरमा चुह्लोचौकोमा मात्रै सीमित नरहन उनले आग्रह गरिन्। ‘महिला भएर घरमा हेपिएर चेपिएर बस्नुहुँदैन। हामी महिलाले पनि पुरुष सरह आम्दानी हुने कार्य गर्नुपर्छ’, उनले भनिन्, ‘श्रीमानकै मुख ताकेर पनि हुँदैन। आम्दानीको बाटो हामी आफैँले रोज्नुपर्छ।’ 

महिलाहरूले तरकारी खेती गरेर पनि आम्दानी गर्न सक्ने बताउँदै उनले त्यसतर्फ पनि महिला दिदीबहिनीहरूलाई आग्रह गरिन्। 

आफूसँग पैसा भए सबैले मान्ने उल्लेख गर्दै उनले भनिन्, ‘महिलाहरूले आफ्ना आधारभूत आवश्यकता आफैँले पूर्ति गर्न सक्नुपर्छ।’ तरकारी खेती गरेर होस् या बंगुरपालन गरेर होस्, आफ्नो जीविकोपार्जन गर्नुपर्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.