|

काठमाडौं : माओवादी केन्द्रसँग प्रदेशसभाको भागबण्डा सकिएपछि गठबन्धनको मुख्य दल एमालेभित्र मुख्यमन्त्रीको दौडधुप जारी छ।

एमालेको मंगलबार बसेको स्थायी समितिको बैठकले प्रदेशसभामा संसदीय दलको नेता सम्भव भएमा सहमतिमा वा नभएमा आन्तरिक निर्वाचनबाट छनोट गर्ने निर्णय गरेको थियो। त्यस निर्णयले मुख्यमन्त्रीका आकांक्षीमध्ये कतिपयलाई खुसी बनाएको छ भने कतिपयका लागि त्यो चिन्ताको विषय बनेको छ।

वाम गठबन्धनबीच माघ १४ मा भएको भागबण्डाअनुसार नेकपा एमालेले चार मुख्यमन्त्री र माओवादी केन्द्रले दुईवटा मुख्यमन्त्री पाएका छन्। दुई दलबीच भएको सहमतिअनुसार १, ३, ४ र ५ प्रदेशको मुख्यमन्त्री एमालेलाई दिइएको छ भने बाँकी ६ र ७ प्रदेशमा माओवादीलाई मुख्यमन्त्री दिने सहमति भएको छ।

यसैगरी प्रदेश १, ३, ६ र ७ को प्रदेशसभाका सभामुख नेकपा एमालेबाट हुनेछन् भने प्रदेश ४ र ५ को प्रदेशसभाको सभामुख माओवादी केन्द्रले पाउने वाम गठबन्धनको सहमति छ।

प्रदेशसभामा संसदीय दलको नेता सम्भव भएमा सहमतिमा वा नभएमा आन्तरिक निर्वाचनबाट छनोट गर्ने निर्णय गरेको थियो। त्यस निर्णयले मुख्यमन्त्रीका आकांक्षीमध्ये कतिपयलाई खुसी बनाएको छ भने कतिपयका लागि त्यो चिन्ताको विषय बनेको छ।

आकांक्षी नेताको दौडधुप

प्रदेशसभामा संसदीय दलको नेता जो हुन्छ, ऊ नै मुख्यमन्त्रीको उम्मेदवार हुनेछ। प्रदेश ५ ले एमाले संसदीय दलको नेतामा शंकर पोख्रेललाई छनोट गरिसकेको छ। उनी त्यो मुख्यमन्त्री हुने पक्कापक्की छ।

दलको नेतानै मुख्यमन्त्रीको उम्मेदवार बन्ने भएकाले एमालेभित्र अहिले नेताका लागि आकांक्षी बढेका छन्। प्रदेश १, ३ र ४ मा मुख्यमन्त्री बन्न संसदीय दलको नेता बन्न अहिले धेरै नेताहरूले आकांक्षा राख्दै आएका छन्।

प्रदेश १ मा एमाले सचिव तथा प्रदेश संयोजक भीम आचार्य र पोलिटब्युरो सदस्य तथा प्रदेश सहसंयोजक शेरधन राईबीच कडा प्रतिस्पर्धा देखिन्छ। यी दुईसँगै जीवन घिमिरे, हिक्मत कार्की, राजेन्द्र राईले पनि मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन्।

तर मुख्य प्रतिस्पर्धा भने भीम आचार्य र शेरधन राईबीचमै देखिन्छ। गत शनिबार आचार्यले पत्रकारहरूसँग विशेष भेटघाट गरे भने मंगलबार राईले पत्रकार भेटघाट गरेर आफ्नो दाबी प्रस्तुत गरे। आचार्य एमाले नेता माधवकुमार नेपाल समूहका हुन् भने राई संस्थापन पक्षका नेता हुन्।

यस्तै, प्रदेश ३ मा एमाले उपाध्यक्ष तथा प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्यहरू राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, सानु श्रेष्ठलगायतका नेताहरू संसदीय दलको नेताको आकांक्षी छन्।

एमालेको भागमा परेका चारवटा प्रदेशको मुख्यमन्त्रीमध्ये अन्य प्रदेशमा पुरुषहरूको बीचमा मात्रै प्रतिस्पर्धा देखिन्छ। त्यसैले पार्टीभित्र एक मात्र महिला पदाधिकारीको व्यवस्थापन र सन्तुलनका कारण पनि उपाध्यक्ष शाक्यलाई मुख्यमन्त्री बनाउनुपर्ने कतिपयको लविङ छ। तर उनका प्रतिद्वन्द्वी पाण्डेको प्रभाव र पँहुच पनि पार्टीमा उत्तिकै बलियो छ। गत महाधिवेशनमा शाक्यले माधव नेपालको प्यानलबाट उपाध्यक्ष जितेकी थिइन्।

मुख्यमन्त्रीकी आकांक्षी शाक्य प्रदेश संसदीय दलको नेता स्थायी समितिले सर्वसम्मत छान्नुपर्ने बताउँछिन्। मंगलबारको स्थायी समितिको बैठकमा समेत नेतृत्वको ध्यानाकर्षण गराउँदै उनले संघीयताको पहिलो पटक अभ्यास भइरहेकाले नयाँ संरचनामा प्रदेश सरकार बन्न लागेकाले सर्वसम्मत दलको नेता र मुख्यमन्त्रीको उम्मेदवार चुनेर जानुपर्ने धारणा राखेकी थिइन्। चुनावी प्रतिस्पर्धामा गएमा पाण्डे बलियो हुने अनुमान गरिएको छ। 

प्रदेश ४ मा एमाले सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य तथा पार्टीको प्रदेश संयोजक किरण गुरुङबीच कडा रस्साकस्सी छ। त्यसो त यी दुवै बलिया आकांक्षीसमेत हुन्। नेता पृथ्वी अध्यक्ष केपी ओलीका भरपर्दा मानिन्छन् भने किरण उपाध्यक्ष वामदेव गौतम गुटका एकमात्र दाबेदार भएका छन्। अन्य प्रदेशमा ओली र नेपाल नजिकका नेताहरू मुख्यमन्त्री हुँदैछ। पार्टीमा सन्तुलन कायम गर्न किरणलाई मुख्यमन्त्री बनाउनुपर्ने मत पनि पार्टीभित्र रहेको स्रोतहरुले बताएका छन्।

नेताहरूको आआफ्नै दाबी

प्रदेशको मुख्यमन्त्री बन्न पार्टीको संसदीय दलको मुख्य नेता बन्नुपर्ने संवैधानिक व्यवस्था छ। यसअनुसार अहिले मुख्यमन्त्रीका आकांक्षी नेताहरू आफ्नो पक्षमा नतिजा ल्याउन दौडधुप गरिरहेका छन्। त्यसो त माघ २४ गतेका लागि तोकिएको राष्ट्रियसभाको निर्वाचनपछि औपचारिक रूपमा प्रदेशसभाको निर्वाचनको प्रक्रिया हुनेछ।

त्यसका लागि अहिले आफ्नो भागमा परेको प्रदेशमा एमालेका आकांक्षीहरू आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन्। प्रदेश १ मा नेता भीम आचार्यले लामो समयदेखि पार्टीमा योगदान गरेको वरिष्ठ नेता भएका कारण आफू नै मुख्यमन्त्रीका लागि योग्य रहेको दाबी गर्दै आएका छन् भने शेरधन राईले कम उमेरमा पनि आफूले पार्टीले दिएको जिम्मेवारी कुशलताका साथ पूरा गरेकाले आफू नै मुख्यमन्त्रीको लायक रहेको बताउँदै आएका छन्।

प्रदेश ३ मा अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेबीचमा पनि आआफ्नै दाबी छन्। पाण्डेले चुनावबाट पनि आफू नै जितेर दलको नेता बन्ने बताउँदै आएका छन् भने पार्टी उपाध्यक्षसमेत रहेकी शाक्य स्थायी समितिले निर्णय गर्दा पनि र तलबाट निर्णय हुँदा पनि आफ्नै पक्षमा निर्णय आउने बताउँछिन्। 'म यो प्रदेशको पार्टीको संयोजक हो। गएका दुवै चुनावमा पनि यो प्रदेशमा पार्टीले राम्रो नतिजा ल्याउन सफल भएको छ। महिला प्रमुख भएको ठाउँमा यस्तो राम्रो नतिजा ल्याउन सफल भएको छ, यो पनि त मूल्यांकनको विषय हुन्छ होला नि त!', शाक्य भन्छिन्, 'समावेशी भन्ने अनि एउटी महिलालाई पनि दिन नसक्ने भन्ने त हुँदैन। म पार्टीको एक मात्र महिला पदाधिकारी हो। हिजो भूमिगतकालदेखि पार्टीमा योगदान दिँदै आएकी छु।'

प्रदेश ४ मा पार्टी सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ दुवैले आफ्नै पक्षमा नतिजा आउने बताउँछन्। पृथ्वी सुब्बा माथिबाट निर्णय आउँदा पनि र तलबाट निर्णय हुँदा पनि आफ्नै पक्षमा हुने दाबी गर्छन्। यो प्रदेशको एमालेको एक मात्र पदाधिकारी भएको र वरिष्ठताका आधारमा पनि आफू नै मुख्यमन्त्री हुने उनको दाबी छ। 'माथिबाट निर्णय भएर आउँदा पनि मेरै पक्षमा निर्णय हुने थियो। चुनाव हुँदा पनि म नै जितेर आउँछु', उनले भने, 'उहाँले (किरण) आकांक्षा राख्नुभएको छ तर मुख्यमन्त्री हुने भनेको म नै हो।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.