|

भक्तपुर : एक साताअघि भक्तपुरको सूर्यविनायक नगरपालिका–८, सिपाडोलस्थित गणेशचोकमा डेरा गरी बस्ने रामबहादुर तामाङको कोठामा डकैती गरेर फरार रहेको समूहका चार जनालाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय अपराध महाशाखाको टोलीले बुधबार उक्त समूहका चार जनालाई डकैती गरेको धनमालसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा रामेछाप दोरम्बा– ४ का ४० वर्षका भोजबहादुर थापा मगर, सिन्धुली मरिन– ८ का ४० वर्षका मिलन भन्ने रत्नबहादुर तामाङ, काभ्रे धुलिखेल– १ का २६ वर्षका विष्णु भन्ने अमृत तामाङ र काभ्रे धुलिखेल– १० का सानुकान्छा ब्लोन रहेका छन्। 

प्रहरीले उनीहरूको साथबाट पगालेको सुनको ढिक्का साढे छ तोला, नोकिया मोवाइल एक थान, बा८३प ३७७३ नम्बरको मोटरसाइकल एक थान र ज्याकेट एक थान बरामद गरेको जनाएको छ।

पक्राउ परेका चार जनामध्ये भोजबहादुर थापामगर र मिलन भन्ने रत्नबहादुर तामाङ यसअघि पनि विभिन्न डकैती तथा चोरीका घटनामा संलग्न भई कैद सजाय भुक्तान गरेका र पछिल्लो पटक गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते मात्र जेलबाट छुटेका अनुसन्धानको क्रममा खुल्न आएको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ।

प्रहरीका अनुसार उक्त समूहले माघ १० गते साँझ ८ बजे भक्तपुर जगातीमा भेट गरी रामबहादुरको कोठा नजिक खाजा खाई गणेशचोक नजिक रहेको खेतमा लुकेर निगरानी गरेको थियो। समूहले राती २ बजे रामबहादुरको कोठामा प्रवेश गरी परिवारका सबैलाई पेस्तोल, खुकुरी देखाएर नियन्त्रणमा लिई घर कम्पाउण्डमा पार्किङ गरी राखेको बा८५प ७८५० नम्बरको मोटरसाइकलसहित सुनका गरगहना, नगद, मोवाइल र लत्ताकपडा गरी करिव १६ लाख रुपैयाँको धनमाल डकैती गरेर लगेको थियो। 

घटनापश्चात उक्त समूहले बौद्ध जोरपाटी पुगेर नगद भागवण्डा गरेको र सुनका गरगहना दुई लाख ९० हजार रुपैयाँमा मुर्तिको काम गर्ने सानुकान्छा तामाङलाई बिक्री गरेको अनुसन्धानको क्रममा खुल्न आएको महाशाखाले जनाएको छ।

घटनामा संलग्न रामेछाप दोरम्बा– ४ का २६ वर्षका टोकल भन्ने रोहितबहादुर थापा मगर, सिन्धुपाल्चोक मेलम्चीका २३ वर्षका वाइबा भन्ने दीर्घबहादुर तामाङ, सिन्धुपाल्चोकका ४३ वर्षका विनोद तामाङ अझै फरार रहेको महाशाखाले जनाएको छ। 

महाशाखाले पक्राउ परेका चारै जनालाई आवश्यक कानुनी कारवाहीका लागि महानगरीय प्रहरी परिसर भक्तपुरमा बुझाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.