|

धनकुटा : मध्यमस्तरको विमानस्थल निर्माण गर्ने चर्चा भएको करिव पाँच दशकपछि धनकुटाको बेलहारामा विस्तृत सर्वेक्षण र वातावरणीय प्रभाव मूल्याङकनको काम सुरु भएको छ।  विमानस्थल निर्माणका लागि ०२२ मा पहिलो पटक चर्चा चलेको धनकुटाको बेलहारामा ५२ वर्षपछि विस्तृत सर्वेक्षणको काम सुरु भएको हो।

संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत परामर्शदाता रियलपाथ इन्जिनियरिङ कन्सल्ट्यान्ट ललितपुरले बेलहरामा विमास्थल निर्माणका लागि विस्तृत सर्वेक्षण सुरु गरेको हो। टोलीले ड्रोनको प्रयोग गरेर पहिलो चरणको स्थलगत अध्ययन गरिसकेको छ। टोपोग्राफी सर्भे गरी ५० सीट क्षमताको विमान उडान भर्नका लागि १२ सय मिटर लम्बाई र दुई सय मिटर चौडाइको सर्वेक्षण गरी मन्त्रालयमा पेस गर्ने इन्जिनियर गुरुदत्त अधिकारीले जानकारी दिए। उनले विस्तृत सर्वेक्षणमा धावनमार्ग, पार्किङस्थल, टर्मिनल टावर, स्टाफ क्वाटर, फ्युल स्टेसन र सुरक्षा निकाय पोष्ट समेत समावेश गरी ६ महिनाभित्र विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार हुने बताए।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सिफारिसमा बेलहारा डाँडामा मध्यमस्तरको विमानस्थल निर्माण गर्न उपयुक्त देखिएपछि ०७३ मा सरकारले विमानस्थल बनाउने सैद्धान्तिक सहमति दिएसँगै विमानस्थल निर्माणको बाटो खुलेको थियो।

पटक–पटकको सर्वेक्षणमा उपयुक्त देखिएको बेलहारामा विमानस्थल निर्माण गर्न मन्त्रालयको सैद्धान्तिक सहमति आवश्यक पर्ने भन्दै नागरिक उड्डयान प्राधिकरणले थप काम बढाउन सकेको थिएन। तर, स्थानीयको पटक–पटकको ‘डेलिकेसन’पछि मन्त्रालयले बेलहारा डाँडामा मध्यमस्तरको विमानस्थल निर्माण गर्न उपयुक्त रहेको भन्दै ९ माघ ०७३ मा सरकारले विमानस्थल निर्माण गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको पूर्व सभासद् हेमराज भण्डारीले बताए।
 
पाँच वर्षअघि नै बेलहारा डाँडामा नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणका लागि पूर्वाधार अध्ययन गरी सिफारिस गरेको थियो। प्राधिकरणका इन्जिनियर मणिगोविन्द श्रेष्ठ नेतृत्वको टोलीले अध्ययन गरी विमानस्थल निर्माणका लागि योग्य भनी सिफारिस गरेको थियो।

जिल्लाका फौजेटार, महालक्ष्मी नगरपालिकाको घुमाउने र छथर जोरपाटी गाउँपालिकाको मुड्केआहालेमध्ये तीन स्थानमा सर्वेक्षण गर्दा धनकुटा नगरपालिकामा पर्ने बेलहारा उपयुक्त भएको निष्कर्षसहितको सिफारिस पत्र सरकारमा पेस भएर स्वीकृति भएको थियो। तर, त्यतिबेला साना विमानका लागि मात्रै सर्वेक्षण भएको भन्दै स्थानीयले मध्यमस्तरको विमानस्थल निर्माण गर्नुपर्ने माग राखेपछि पुनः सर्वेक्षण भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.