|

काठमाडौं : 'साँच्चै भन्नुपर्दा पुराना दिन त म सम्झनै चाहन्न' कुराकानीको सुरुमै झमककुमारी घिमिरेकी आमा आशादेवी घिमिरे (५५) ले हामीसँग भनिन्।  फेरि के सोचिन् कुन्नि! छेउमै रहेकी छोरीतिर हेरेर एकछिनपछि भनिन्, 'तर नसम्झिउँ भन्दा पनि कहिलेकाहीँ त सम्झना आइहाल्छ, सम्झन परिहाल्छ।' 

पढ्न भनेर कहिल्यै विद्यालयको खुट्किलोसम्म नउक्लेकी झमक घिमिरेलाई मध्यमाञ्चल विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधी दिएको भोलिपल्ट अर्थात भदौ २१ गते हामी उनकी आमालाई भेट्न पुगेका थियौं। 

उमेर र संघर्षले अनुहारमा चाउरी पारेका थिए आशादेवीका। त्यतिबेलासम्म लाडिएर आमाको काखमा पुगिसकेकी थिइन् झमक। कुराकानी अगाडि बढ्दै गर्दा आशादेवीले विगत नसम्झिइरहन सकिनन्। जसमा प्रशंग थियो उनै झमकको। 

अपाङ्ग छोरी जन्माउँदाको पीडा

निधारमा रातो टीका। गालामा रातो नै पोते र तिलहरी। सारी चोलोमा थिइन् आशादेवी। धनकुटा कचिडे गाउँमा २०४० सालमा झमक जन्मेपछिका घटना उनलाई एक एक याद छ।  छिमेकीले भनेका कुरा उनले किताबका पाना पल्टाए जसरी पल्टाउदै गइन्। 'कुराहरु कति छन् कति भनिसाध्य छैन बाबु!' आशादेवी निराश देखिइन् 'मलाई गुन्द्रुक नदिने मान्छे पनि थिए।' 

जन्मिदै अपाङ्ग छोरी देखेपछि गाउँले महिलाले आशादेवीलाई मुटुमा बिझ्ने गरी भन्थे। 'पूर्वजन्ममा राम्रो कर्म गरेको भए पो राम्रो फल हुन्थ्यो।'

अरुले पूर्वजन्मबारे जे जस्ता कुरा भनेपनि आशादेवीले यो जुनीमा भने राम्रो कर्म छोडिनन्। छोरीको स्याहार सुसारमा कमी गरिनन्। 'अहिले लाग्छ राम्रै कर्म गरेकी रैछु र त राम्रो भयो' उनले भनिन्।आशादेवी फेरि वर्तमानमा फर्किइन् 'अहिले राम्रो भइरहेको छ। मैले पनि नराम्रो गरिन र मेरी छोरीले पनि नराम्रो गरेकी छैन। त्यसैको फल अहिले हामीले पाइरहेका छौं।'

पहिला धिक्कार्नेहरु हिजोआज झमकको प्रगतिको कुरा सुन्नेवित्तिकै भेट्न आएको देख्छिन् आशादेवी । 'अहिले तिनै मान्छे केही गर्‍यो कि अंगालो हाल्न आउँछन्' आशादेवीले विगत भूल्न सकिनन् 'खुकुरीले त बिर्सन्छ नि बाबु, अचानोमा त अलिकति घाउ रहिरहन्छ नि!'

झमकको बाल्यकाल र आमा

आशादेवी मेलापात जाँदा उनकी जेठी छोरी झमक विरलै घरमा बसिन्। बढीजसो साथमै हुन्थिन्। छेउमा सघाउँदै गरेकी हैन, कतै गह्राको छेउमा कोक्रोमा। उनीसँगै साथमा हुन्थे ससाना दुई भाइबहिनी। 'मेलापात जाँदाखेरी सँगै लिएर जान्थेँ। ठूलो कोक्रो बनाएकी थिएँ। अरु दुईवटा बच्चा र झमकलाई पनि त्यहीँ राख्यो आफू काममा लाग्यो। अनि बोकेर घर आयो' आशादेवीले सुनाइन्। 

जेठी झमकलाई साना भाइबहिनीका भरमा पनि छोडेर हिँड्नुपर्‍यो आशादेवीले। त्यतिबेला भने उनी निकै डराउँथिन्। कतिखेर घर पुगौं हुन्थ्यो। ती विगतका पाना पल्टाइरहँदा झमकले खुट्टा बटारेर आमालाई केही संकेत गरिन्। आमाले झमकको इशारा हामीलाई बुझाइदिइन् 'विगतका घटना भनिसाध्य छैन।'

आशादेवी एक पटक बस दुर्घटनामा परेर घाइते भइन्। उनी अस्पताल भर्ना भएकी थिइन्। छिमेकीले घरमा झमकलाई सुनाइदिए 'तेरो आमा मर्छे।' झमक बोल्न र हिँडडुल गर्न नसकेपनि कुरा बुझ्थिन्। उनी रुन्थिन्।

झमकको अवस्था देखेर आमा आशादेवीको पनि आँशु थामिदैनथ्यो। उनी रुँदा धेरै पटक झमकले खुट्टाले आँशु नै पुछिदिएकी छन्। 'आँशु आए त्यतिबेला उसले खुट्टाले पुछिदिने गर्थी। अनि यसले पनि कुरो बुझ्ने रैछे भन्ने लाग्यो' उनले भनिन्।  

झमकले बहिनीले पढेको सुनेर र लेखेको हेरेर अक्षर लेख्न सिकिन्। जुन कुरा आमालाई पछि मात्र थाहा भयो। झमकलाई लेखेको देखेर आशादेवी कम्ती खुशी भइनन्। 'ऊ पढ्न जान्दछे भन्ने पछि मात्र थाहा पाएँ अनि कापी कलम ल्याइदिएकी थिए' उनले भनिन् 'म त अक्षर चिन्दिन। तर भाइबहिनीले र बुबाले उसले लेखेको सुनाउँदा खुसी लाग्थ्यो।'

तिनै अक्षरले झमकलाई विद्यावारिधीको उपाधी दिएको थियो। जसको सम्पूर्ण श्रेय आफ्नी आमालाई दिएको झमकले लिखित बक्तव्यमार्फत जनाएकी थिइन्। झमकले लेखेकी थिइन् 'यो विद्यावारिधी पाउनुमा मेरी आमाको ठूलो हात र साथ छ। उनी अक्षर बुझ्दिनन् तर मेरा मनले कोरिएका भावलाई सजिलै बुझ्छिन्। हो आमा तपाईँको संघर्षको प्रतिफल हो यो। अनि धन्य छु म तपाईँजस्ती ममतामयी आमा पाएकी छु। त्यो कोखलाई सलाम गर्छु।'

आमाका आँखामा डा. झमक

झमक घिमिरे नाम अगाडि 'डा.' थपिएपछि आमालाई खुशी त लाग्ने भयो नै तैपनि उनले भनिन् 'मलाई त सधै उस्तै हो।' झमककी आमाको सन्तुष्टी मुहारमा झल्किरहेको थियो। उनको मनमा के खेल्यो कुन्नी अंगालोमा बाधिँएकी झमकतिर नजर झुकाउँदै भनिन्, 'म त ब्रत बस्ने हो, ब्रत भनेको पूजाआजा गर्नु। अनि मेरो चाहिँ धर्म, कर्म यही हो।'

अपाङ्ग छोराछोरी जन्माएका कतिपय अभिभावकले छोराछोरीलाई वेवास्ता गरेको देख्दा आशादेवीको मन चसक्क दुख्छ। भगवानको पूजा गर्ने तर बच्चाको बेवास्ता गर्नेलाई उनको सन्देश छ 'सन्तानलाई गर्नुपर्ने आमाबाबुको कर्तव्य पूरा त गर्नैपर्छ। कुनै आमाबाउ पन्छिन खोज्छन् तर म त भन्छु यस्ता बच्चा छन् भने नपन्छिनु। बरु धर्म अरुथोक किन गर्छन्। त्यै बच्चालाई स्याहार सम्भार गर्नु।'

अन्तिममा उनले विगत र वर्तमानलाई एकैचोटी सम्झिदै भनिन् 'त्यतिबेला दुखका आँशु आउँथे अहिले खुसीका आँशु आउँछन्।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.