|

उदयपुर : सिराहाको मिर्चैयादेखि उदयपुरको कटारी नगरपालिका हुँदै खोटाङ, ओखलढुंगा र सोलुखम्बु जोड्ने सिद्धिचरण लोकमार्ग वर्सेनि जीर्ण मात्र हुन्छ। सम्बन्धित निकायले मर्मतका लागि पर्याप्त बजेट नदिँदा र समयमै मर्मत नहुँदा जीर्ण हुँदै गएको हो।

मिर्चैयादेखि कटारी नगरपालिका– १४ लेखानी घुर्मीसम्म यो सडक ७६ किलोमिटर छ। सडक कामै नलाग्ने गरी बिग्रिएको छ। समय समयमा मर्मत सम्भार नहुँदा सडक हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुने समस्या बनेको सर्वसाधारणको भनाइ छ। ‘सिद्धिचण लोकमार्गमा पर्ने मिर्चैया, कटारी, घुर्मीसम्म हेर्ने जिम्मा पाएको सडक डिभिजन कार्यालय लहान हो’, कटारी नगरपालिका– ११ का वडा अध्यक्ष दीपक बुढाथोकीले भने, ‘सडक खाल्डाखुल्डी भएको छ, कार्यालय टालटुल गरिएको छ, हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुँदा पनि टालटुल गरिरहने सडक डिभिजन कार्यालयको पनि परम्परागत काम नै भएको छ।’

कटारी–मिर्चैया सडक खण्डमा मारुती र कसमस सिमेन्ट उद्योगका चुनढुंगा बोक्ने ट्रिपर, पहाडी क्षेत्रमा सडकको क्षमताभन्दा बढी लोड बोक्ने मालवाहक सवारीका कारण उक्त सडक जीर्ण बनेको बताइएको छ। लोकमार्गमा पर्ने पटनभङज्याङदेखि मिर्चैयासम्म झण्डै २०० ट्रिपर दैनिक चल्ने गरेका छन्। ‘यस क्षेत्रमा उद्योग र अन्य गरी दैनिक ५०० को हाराहारीमा सवारी साधन चल्ने गर्छन्’, कटारी–घुर्मी सुमो जीप चलाउने कटारी स्थानीय चालक हरि खत्रीले भने, ‘सडक छ सानो गाडी चल्ने, दौडिन्छन् ठूला मालवाहक सवारी, कसरी हुँदैन सडक जीर्ण?’ 

सम्बन्धित निकायले ध्यान नदिँदा र क्षमताभन्दा बढी लोड लिएर सिमेन्ट उद्योगका ट्रिपर चलाउँदा सडक भत्किएको सवारी चालकको आरोप छ। जीर्ण बनेको कटारी–घुर्मी जम्मा ४६ किलोमिटर सडक पार गर्न मालवाहक ट्रक तथा ठूला यात्रुवाहक बसलाई चार घण्टाभन्दा बढी समय लाग्ने गरेको छ। सडकमा गुड्ने सवारीको संख्या बढ्दै गए पनि सवारी चापअनुसार सडक विस्तार र मर्मत नहुँदा समस्या भएको सर्वसाधारणको गुनासो छ।

बढी भार क्षमताको सवारी थाम्ने गरी मर्मत तथा सडक स्तरोन्नति गर्न विभिन्न सम्बन्धित निकायसँग सहयोग मागिएको कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले बताए। ‘कटारी नगरपालिकाको मुख्य सडक पनि हो यो’, उनले भने, ‘सडक मर्मत तथा स्तरोन्नतिका लागि सम्बन्धित निकायसँग कुरा गरिरहेको छु।’ 

जीर्ण सडककै कारण वर्सेनि दर्जनौँ दुर्घटना
यस लोकमार्गमा हुने अधिकांश सवारी दुर्घटना सडककै कारण हुने गरेका छन्। अस्थायी ट्राफिक प्रहरी पोष्ट कटारीका प्रमुख डम्बर दियालीले सडकै कारण दुर्घटना हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको बताए। ‘मिर्चैैया–कटारी हुँदै घुर्मीसम्मको सडकमा अधिकांश दुर्घटनाको कारण सडक देखिन्छ’, उनले भने, ‘सडक संचालनमा आएको १६–१७ वर्षको अवधिमा ५०० भन्दा बढी दुर्घटना भएका हुनसक्छन् भने २०० जनाभन्दा बढीको ज्यान गइसकेको छ।’ 

उनले कटारीमा ट्राफिक प्रहरी व्यवस्थित नहुँदा कति दुर्घटना भए, दुर्घटनामा कतिको मृत्यु भयो भन्ने आधिकारिक तथ्यांक नभएको गुनासो गरे। ‘म कटारी ट्राफिक प्रहरी प्रमुख भएर आएको सात महिना भयो’, उनले भने, ‘मेरो अभिलेखमा २६ वटा दुर्घटना भएका छन्, जसमा १० जनाको मृत्यु भएको छ भने ५० जना गम्भीर घाइते भएका छन्।’ ट्राफिक प्रहरीको व्यवस्थित कार्यालय नहुँदा हालसम्मको सडक दुर्घटनाको तथ्यांक नभएको दियालीको भनाइ छ। 

जिल्ला ट्राफिक कार्यालयमा समेत तथ्यांक नभएको उदयपुरका ट्राफिक शैलेन्द्र गच्छदारले बताए। ‘उदयपुरमा दुर्घटना तथ्यांक व्यवस्थित देखेको छैन’, उनले भने, ‘सिद्धिचारण लोकमार्ग मिर्चैयाबाट कटारी हुँदै घुर्मीसम्मको जम्मा ७६ किलोमटिर सडको हालसम्मको दुर्घटनाको तथ्यांक दुर्लभ भयो।’ गच्छदारले पनि त्यस क्षेत्रमा हुने सडक दुर्घटना अधिकांश सडकको कारण हुने गरेको बताए।

सडक कार्यालय भन्छ : मर्मतले हुँदैन, पुनर्निर्माण गर्नुपर्छ
सडक डिभिजन कार्यालयका प्रमुख राम देवले दुई खण्डका लागि वर्सेनि दुई करोड रुपैयाँ खर्च हुने गरेको बताए। ‘मिर्चैया–कटारी खण्डमा ३० किलोमिटर र कटारी–घुर्मी सडक खण्डको ४६ किलोमिटरका लागि एक–एक करोड रुपैयाँ बजेट आउँछ’, सडक डिभिजन कार्यालय लहानका प्रमुख देवले भने, ‘त्यसमा ठेक्का लाग्दा घटेर लाग्छ, हामीले कुन भागमा काम गर्नुपर्ने हो, त्यो भाग पहिचान गरेर मात्र मर्मत गर्ने गरेका छौँ।’ उनका अनुसार गएको वर्ष कटारी–घुर्मी खण्डको ठाँटी र कटारी–मिर्चैया खण्डका विभिन्न भागमा ढलान गरिएको छ।

२०३४ सालमा सिरहाको मिर्चैया हुँदै उदयपुरको कटारी जोडिएको हो। त्यसपछि कटारी–ओखलढुंगा निर्माण सुरु भएको थियो। कटारी–घुर्मी निर्माण सुरु भएको २०५८ सालमा घुर्मीसम्म सडक पुग्यो। अहिले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुलाई सिधा यातायातमा तराई जोड्ने एक मात्र सडक बनेको छ। 

सडक डिभिजन कार्यालयले अबका दिनमा मर्मत मात्रले नपुग्ने बताएको छ। ‘हामीले गएको वर्ष सांसद भेषकुमारी राउतसहितको टोलीले अनुगमन गरेर पुनर्निर्माणका लागि प्रतिवेदन पठाएका हौँ’, उनले भने, ‘बजेट विनियोजन हुने भएको खबर आएको थियो, पछि बजेट मर्मतका लागि मात्र आयो।’

सडक संचालनमा आइसकेपछि मर्मतका लागि मात्र हालसम्म ७० करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको लहान सडक डिभिजन कार्यलयको दाबी छ। कार्यालय इन्जिनियर चित्ररञ्जन रानाले भने, ‘सबै हिसाब जोड्दा ७० करोडभन्दा बढी मर्मतमा मात्र खर्च भएको छ, अब मर्मतले हुँदैन, पुनर्निर्माण चाहिन्छ।’

१५ वर्ष अगाडि गरिएको ओटासिल पिच पनि उप्केर गइसेको छ। मिर्चैयादेखि घुर्मीसम्मको ७६ किलोमिटर दूरीको सडक लहान सडकको जिम्मामा छ भने बाँकी ओखलढुंगादेखि सोलुसम्मको जिम्मा सडक कार्यालय हर्कपुरले पाएको छ। ओखलढुंगाको हर्कपुर र उदयपुरको घुर्मीपर्ने सुनकोसी नदीमा पक्की पुल बनेपछि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुले तराईसँग सिधा सम्पर्क पाएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.