|

काठमाडौं : प्रदेश- ७ मा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्रीमा वीरमान चौधरी र मानबहादुर धामीले आकांक्षा राखेका छन्। अब बन्ने प्रदेश– ७ को सरकारको मुख्यमन्त्री माओवादीले पाउने निश्चित छ।

आफू प्रदेशसभामा निर्वाचित भएका माओवादीका सांसदमध्ये आफू सिनियर भएको भन्दै चौधरीले मुख्यमन्त्रीमा आफ्नो दाबी गरिरहेका छन्। कैलाली प्रदेशसभा ‘क’बाट निर्वाचित चौधरीले मुख्यमन्त्रीमा किन दाबी गरेका हुन् भन्ने विषयमा थाहाखबरका चिरञ्जिबी घिमिरेले गरेको कुराकानी प्रस्तुत छ।

मुख्यमन्त्रीमा तपाईंको नाम चार्चामा छ, मुख्यमन्त्रीमा किन दाबी गर्नुभयो?

प्रदेश– ७ मा हेर्ने हो भने निर्वाचित सांसदमध्येको सिनियर मै हो। त्यसकारण पनि मुख्यमन्त्रीमा मेरो दाबी हो। फेरि म पहिला पनि साभासद भइसकेको मान्छे हो।अर्को कारण भनेको हिमाल, पहाड र तराईलाई संयोजन गर्ने मेरो भूमिका हुन्छ, किनभने पार्टीको काम मैले तराईभन्दा पहाडमा धेरै गरेको छु। तराईबाट जिते पनि पहाडका जनताको समस्या मैले धेरै नजिकबाट बुझेको छ।

मुख्यमन्त्री दाबी गरिरहँदा पार्टीमा तपाईंको भूमिकाचाहिँ के?  

म विगत लामो समयदेखि पार्टीमा लागेको छु। २०५१ सालदेखि नै पार्टीमा निरन्तर काम गर्दै आएको छु। प्रदेश- ७ मा सबैभन्दा सिनियर नेता पनि मै हो। अहिले म पार्टीको पोलिटब्युरो सदस्य भएर काम गर्दै आएको छु। त्यसकारण मैले मुख्यमन्त्री माग्नु स्वाभाविक हो। 

म वाम गठबन्धनभित्रैकै सिनियर हुँ। अरू केन्द्रीय सदस्य छन्, म पोलिटब्युरो सदस्य हुँ। त्यसैले समानुपातिक समावेशिताको त कुरै छैन नि! मुख्यमन्त्रीका लागि म अहिले पार्टीमा छलफल र बहस गरिरहेको छु। 

मुख्यमन्त्री बन्नुभयो भने प्रदेश– ७ को विकासका लागि के कस्ता खाका छन्?

पहिला म मुख्यमन्त्री बन्नुपर्‍यो र पो योजनाहरू अघि सार्छु, विकास निर्माणका खाका तयार पार्छु। अहिले नै भन्यो भने त अर्कोले मैले भनेको योजना जस्तै आफूले पनि भन्छ नि!

मुख्यमन्त्री बन्न एमालेलाई कसरी मिलाएर लानुहुन्छ?

पहिला म मुख्यमन्त्री हुँ न, त्यसपछि मिलाउने कुरा त मिलिहाल्छ नि!
 
कैलालीको धनगगढीलाई प्रदेशको अस्थायी राजधानी तोकिएपछि डोटी र डडेल्धुरावासी आन्दोलनमा छन्। तपाईं मुख्यमन्त्री बन्नुभयो भने कसरी मिलाएर अघि बढ्नुहुन्छ? 

आफ्नो आफ्नो जिल्लामा राजधानी हुनुपर्छ भन्ने त भइहाल्छ नि! उहाँहरूले माग गर्दै आउनुभएको छ। तर त्यसको निर्णय प्रदेशसभाले गर्छ। प्रदेशसभाले अन्तिम टुंगो लगाउनुपर्छ। सबैको सहमतिको आधारमा टुंगो लगाउनेछौँ। 

पार्टीले तपाईंको पक्षमा निर्णय गर्ला त?

त्यो त म भन्न सक्दिनँ। अन्तिम निर्णय पार्टीले नै गर्ने हो। तर जसको पक्षमा गरे पनि हामीले पार्टीको निर्णय मान्नुपर्छ।

तपाईंले थारू भएका आधारमा मुख्यमन्त्रीको दाबी गर्नुभएको चर्चा छ नि!  

म आदिवासी मात्र होइन, पार्टीकै नेता हो नि! समावेशी समानुपातिकका हिसाबले हेर्दा यो कुरा पनि ठीकै होला। तर मैले आफू थारू भएकै आधारमा दाबी गरेकै होइन। म वाम गठबन्धनभित्रैकै सिनियर हुँ। अरू केन्द्रीय सदस्य छन्, म पोलिटब्युरो सदस्य हुँ। त्यसैले समानुपातिक समावेशिताको त कुरै छैन नि! मुख्यमन्त्रीका लागि म अहिले पार्टीमा छलफल र बहस गरिरहेको छु। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.